काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले साम्राज्यवादी मुलुक नेपालमा सिंधै पस्न थालेको र सिके राउत प्रकरणका पछिाडि पनि अमेरिकी साम्राज्यवादीहरुको हात रहेको दावी गरेका छन् । विप्लवमाथि लगाएको प्रतिबन्ध, रेशम चौधरीको जन्मकैदको सजाय आदि घटनाक्रमहरुले इतिहासको पुनारवृत्ति भएको भन्दै महासचिव किरणले विगतमा दशवर्षसम्म जनयुद्धको नेतृत्व तहमा रहेका प्रचण्ड–बादलप्रति लक्षित गर्दै भने, “हिजो माओवादीका विरुद्ध एमालेहरुले बोल्ने भाषा अहिले प्रचण्ड–बादलहरुले बोल्न थालेका छन् । नर्कमा पस्दा पनि गौरव मान्छन् गद्दारहरु ।”

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय समितिको आयोजनामा गरिएको साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै महासचिव किरणले सहिद तथा वेपत्ता योद्धाहरुको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाए । उनले भने, “अहिले जनयुद्ध असफल भयो, धक्का खायो । अब जनयुद्धमा भएको बलिदानको कुनै मूल्य छैन भनेर धेरै मानिसहरुले भनेको पाइन्छ । यो एकदमै गलत कुरा हो । सहिदहरुको रगतको मूल्य खेर जाँदैन । खेर जान दिइने छैन । आजको दिनमा हामी सबैले सहिदहरुले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जोहर गर्नु पर्दछ । मेरो पनि प्रतिबद्धता छ ।”

जनयुद्ध बन्दुक, कलम र मादलको संगम थियो भन्दै महासचिव किरणले नेपालमा परिवर्तन गर्नका निम्ति राजनीतिककर्मीहरुले महत्वपूर्ण भूमिका खेले र त्यसैको हाराहारीमा साहित्यकार र कलाकारहरुले पनि भूमिका खेलेको बताए । कला साहित्य तथा साँस्कृतिक फाँटका सहिदहरु विशेष स्मरणीय रहेको पनि बताए । र, भने, “क्रान्तिमा विचार÷राजनीतिसँगै बन्दुक र साहित्य तथा कलाको भूमिका महत्वपूर्ण हुन्छ । नयाँ जनवादी क्रान्तिका लागि अब फेरि अर्को नयाँ राजनीतिकका साथै साहित्यिक, साँस्कृतिक अभियान तथा आन्दोलनको थालनीका लागि आफूलाई सबैले आ–आफ्नोबाट तयार पारौं ।”

परिस्थिति सच्चा क्रान्तिकारीहरु एकै ठाउँ गोलबन्द हुने स्थिति बलियो बन्दै गएको भन्दै महासचिव किरणले नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अगाडि बढ्ने कुरामा सहमत हुने क्रान्तिकारीहरुबीचमा ध्रुवीकरण समेत बढ्दै गएको दावी गरे । हिजो जनयुद्ध लडेको शक्तिको एक हिस्साले अर्को हिस्सालाई सिध्याउन अहिले प्रतिबन्ध लगाउने जस्ता घटनाहरुले परिस्थिति गम्भीर बन्दै गएको र इतिहास फेरि पुनरावृत्ति हुँदै गएको बताए ।

कार्यक्रमलाई सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागर, देजमो ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठलगायतका नेताहरुले साँस्कृतिक सहिदहरु लगायत परिवर्तनको आन्दोलनमा सहिदहरुले गरेको योगदानको विषयमा चर्चा गरेका थिए ।

प्रा.डा. जगदिशचन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गरेका थिए भने स्वागत डा. ताराकान्त पाण्डेले गरेका थिए । पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसको समेत उपस्थिति रहेको कार्यक्रममा मित्रलाल पंज्ञानी, बसन्त बोगटी, संगीत श्रोता, राजु स्याङ्तान, बलराम तिमिल्सिना, शिला योगी, छायादत्त न्यौपाने, प्रभात सापकोटा, सुनिता बुढाथोकी, इन्दिरा अधिकारी, विष्णु न्यौपानेलगायतका कविहरुले क्रान्तिकारी कविताहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको बीच बीचमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले जोशिला क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहिद च्याङ्वा लामाकी छोरी लगायत सहिद पविारहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर