प्रलेसबारे केही कुरा

प्रलेसबारे केही कुरा

मूलबाटोमा अर्को प्रलेस गठनको तयारी भन्ने समाचार प्रकाशित भयो । उक्त समाचारले केही तरङ्ग ल्यायो । विशेषतः सो समाचारले सत्तापक्षका साथीहरु र प्रलेसका बहालवाला साथीहरुमा केही भ्रम पर्यो र साथीहरु उत्तेजित पनि हुनुभयो । मूलबाटोलाई भ्रमपूर्ण र कपोलकल्पित समाचार छाप्यो भन्ने प्रतिक्रिया पनि दिए साथीहरूले । कतिपयले व्यङ्ग्य शैलीमा र कतिपयले सोझै टिप्पणी गरे ।

समाचारको शीर्षक प्रलेसको विकल्प खोज्ने नभएको भए खासै चर्चाको विषय नबन्ने पनि थियोे । कुरो त्यसो होइन । प्रलेस फुटाउने पनि होइन र फुटाउन जरुरी पनि छैन । प्रलेस नामको सङ्गठन अहिलेसम्म जो छ, सो यथावत नै रहला । त्यसमा हाम्रो कुनै आपत्ति र गुनासो पनि छैन, रहँदैन । हाम्रो कुरो त के मात्रै हो भने हामी अब सो प्रलेसमा जोडिन चाहँदैनौं भन्ने हो । किनभने अब यथास्थितिवादी प्रलेसको आवश्यकता छैन ।

यथास्थितिको प्रलेसमा बसेर वर्तमान सत्ताको भजन गाउन वा सन्ध्या भाषामा विरोध जनाउने गरी सत्तापक्षका बहुमत साथीहरुसित लोलोपोतो मिलाउन हामी आवश्यक ठान्दैनौ ।

वर्तमान सरकार माक्र्सवादलाई भ्रष्टीकरण गरेको नामधारी कम्युनिस्टको भएको र प्रलेसमा सरकारी साहित्यकारहरुको वर्चस्व रहने भएकाले अबको प्रलेस सत्ताधारी पार्टीको भातृ संगठनमा परिणत हुने स्वतःसिद्ध छ । वर्तमान सत्ता, व्यवस्था र सरकारलाई हेर्ने, बुझ्ने र स्वीकार/अस्वीकार गर्ने विषयमा सत्तापक्षका साहित्यकार र हाम्रा विचमा विपरीत बुझाई भएपछि एकै ठाउँमा बस्ने कुरा नै हुँदैन । यो स्वाभाविक कुरो नै हो ।

सामान्य आलोचनात्मक चेत भएका केही लेखक साहित्यकार त काङ्ग्रेसको लेखक सङ्घमा पनि छन् । उनीहरुसँग हामी एकै ठाउँमा त कहिलै पनि भएनौ । अबको यथास्थितिवादी प्रलेसमा रहने बस्ने सत्तापक्षको पार्टी सम्वद्ध साहित्यकारहरु र काङ्ग्रेसको लेखक सङ्घसम्बद्ध केही आलोचनात्मक चेत भएका साहित्यकार बीचमा के अन्तर भयो ? हाम्रो कुरो यो हो ।

जहाँसम्म अर्को साहित्यिक सांस्कृतिक मोर्चा बनाउने कुरा छ, त्यो त सच्चा माक्र्सवादीहरुको साझा सङ्गठन बनाउन जरुरी नै छ । यस विषयमा मैले नै करीब डेढ वर्ष अगाडि कुरा चलाएको हुँ । अर्को सङ्गठन बनाउनु पर्छ भनेर कुराको पहलकर्ता म आफै नै भएकाले म सम्वद्ध सङ्गठनले गरेको निर्णयले मलाई खुशी बनाउने कुरा भयो ।

अहिलेको प्रलेसले सदैव प्रलेसका केन्द्रीय कार्यसमितिका सिमित तर सदैव उनै ब्यक्तिहरुका बीचमा सामान्य साहित्यिक कार्यक्रम गर्ने र महिनामा वा वर्षमा यति कार्यक्रम गर्याैं भनेर आत्मरति लिने बाहेक खासै केही गर्न सकेको छैन । सामाजिक, सांस्कृतिक, रुपान्तरणमा जागरण ल्याउने काम केही हुन सकेको छैन ।

यो सङ्ठन आफैमा प्रगतिशील कम धार्मिक कर्मकाण्डीहरुको बढी जस्तो भएको छ । प्रलेसमा बस्ने भनेको आफ्नो व्यक्तिगत प्रोफाइल बनाउने र पार्टीका कार्यकर्ताहरुलाई पद थमाइदिने माध्यम बन्न गएको छ । प्रगतिशील चेत नै नभएकाहरुको झुन्ड जस्तो सङ्गठन हुन थालेको छ । अर्को मोर्चा बनाउँदा पुरानो तरिकाले बनाउनु हुँदैन । सानो होस् तर वैचारिक र परिपक्व व्यक्तित्वहरुको होस् ।

अर्को मोर्चा बनाउने विषयमा मैले कुरा उठाउँदा निनु दाइ, मातृका र अमर गिरीजी पनि सहमत नै हुनुहुन्थ्यो । म पार्टीको कामले काठमाडौ छोडेपछि यो विषय ओझेल परेको थियोे । मातृकाजीसित त कयौंपटक फोन सम्वाद पनि भएकै हो । उहाँले त मलाई यो कुरा अघि बढाउन पटकपटक आग्रह गर्नुभएको हो ।

हाल उहाँ प्रलेसको बहाली अध्यक्ष भएको हुनाले प्रलेसको विकल्प बनाउने कुरामा सहमत हुने कुरा त भएन । जो कुरा स्वाभाविक पनि छ । अर्को मोर्चाको प्रलेस नै नाम किन राख्ने र ? राख्नु जरुरी नै छैन । त्यसैले साथीहरु आत्तिनु पर्ने छैन । जजसलाई हालको प्रलेसको जरुरी छ, उहाँहरुले ढुक्कसँग नयाँ सम्मेलन गरेर नयाँ कार्यसमिति बनाउँदा हुन्छ ।

प्रलेसमा बस्न नचाहनेहरुका बारेमा टाउको दुखाउन आवश्यक पनि भएन । हामी नबस्दा नै सत्तापक्षका साथीहरुलाई सहज देख्छु म त । किनकि पद बाँडफाँडको लफाडा पनि नपर्ने र सङ्गठनभित्र किचलो गर्नु पनि नपर्ने ।