कमरेड कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न, ‘क. कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको स्कूल’

कमरेड कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न, ‘क. कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको स्कूल’

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पिंढीका नेता, माक्र्सवादी सिद्धान्तका व्याख्याता, लेखक, अनुवादक कमरेड कृष्णदास श्रेष्ठको आज(२७ फागुन, २०७५) घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा भव्य रुपमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा वक्ताहरुले कमरेड कृष्णदास श्रेष्ठको बहुआयामिक व्यक्तित्व, कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र उहाँका मौलिक तथा अनुदित कृतिहरुका बारेमा चर्चा गरेका थिए ।

श्रद्धाञ्जली सभाको अध्यक्षता समेत गरेका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले कमरेड कृष्णदास श्रेष्ठ आफैमा नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल रहेको चर्चा गर्दै त्यो स्कूललाई जीवित राख्न पार्टी र कृष्णदास फाउन्डेसनले भगिरथ प्रयत्न गर्ने बताए । पछिल्लो पुस्ताले कम्युनिस्ट सिद्धान्त तथा विचारको अध्ययन नगर्ने हो कि भन्नेमा धेरै चिन्ता गर्ने गरेको बताउँदै महासचिव किरणले माक्र्सवादी सिद्धान्त तथा विचारको अध्ययन, प्रचार प्रसारमा पछिल्लो पुस्ताले महत्वपूर्ण ध्यान दिनुपर्ने बताए ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कमरेड कृष्णदास श्रेष्ठले सँधै संसदवादको विरोध गरेको र आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट आन्दोलनका निम्ति समर्पित गरेको चर्चा गर्दै उहाँको अनुकरणीय व्यक्तित्वलाई पछिल्लो पुस्ताले आत्मसात गर्नुपर्ने बताए ।

कम्युनिस्ट आन्दोलनका पुरानो पुस्ताका नेता विष्णुबहादुर मानन्धरले कमरेड कृष्णदास श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली गर्ने हो भने वर्तमान सत्ता र व्यवस्थाका विरुद्ध सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक ठाउँ उभिएर संघर्षको प्रक्रियालाई अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए ।

माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईंले नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेताहरुमध्ये कमरेड कृष्णदास श्रेष्ठले माक्र्सवादी सिद्धान्त र विचारको क्षेत्रमा सबैभन्दा बढी योगदान रहेको चर्चा गरे । विना कुनै स्वार्थ कमरेड कृष्णदास श्रेष्ठले माक्र्सवादी सिद्धान्तको प्रचारमा आफ्नो सम्पूर्ण जीवन व्यतित गरेको भन्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनले उहाँको योगदानलाई कहिल्यै पनि बिर्सन नहुने र नसक्ने बताए ।

बरिष्ठ राजनीतिक तथा कुटनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठले भारतीय माक्र्सवादी विद्वान राहुल साँस्कृत्यानसँग तुलना गर्दै कमरेड कृष्णदास श्रेष्ठलाई नेपालको माक्र्सवादी पण्डितको संज्ञा दिए । उनले माक्र्सवादी सिद्धान्तको व्यख्या, लेखन तथा अनुवादमा उहाँको व्यक्तित्व नेपाली कम्युनिस्ट अन्दोलनमा सबैभन्दा उचो रहेको चर्चा गर्दै उहाँको पत्रकारितासम्बन्धी व्यक्तित्वको पनि चर्चा गरे ।
नेकपा मालेका नेता सिपी मैनालीले नेपाली वस्तुस्थिति बुझ्न र क्रान्तिको प्रक्रिया अगाडि बढाउन कमरेड कृष्णदासका कृतिहरुको धेरै महत्व रहेको चर्चा गरे ।

नेता आहुतीले कमरेड कृष्णदास श्रेष्ठका कृतिहरु पढेर नै विश्वदृष्टिकोण बनाउने नेता कार्यकर्ताहरु धेरै रहेको चर्चा गर्दै अबको समयमा कसरी नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहन विमर्शको खाँचो रहेको बताए ।

नेकपाका नेता ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड कृष्णदास श्रेष्ठको अतुलनीय योगदान रहेको चर्चा गर्दै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्ने बताए ।

वामपन्थी चिन्तक स्वनाम साथीले ७० वर्ष लामो नेपालको कम्युनिस्ट आन्दोलनको राम्रो समीक्षा नगरीकन आन्दोलनलाई अगाडि बढाउन नसक्ने भन्दै त्यसका लागि कमरेड कृष्णदास श्रेष्ठका कृतिहरुले स्रोत सामग्रीको राम्रो भूमिका खेल्ने बताए ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कमरेड कृष्णदास श्रेष्ठलाई आफूलाई कम्युनिष्ट बताउने सरकारले सम्मान गर्नुपर्ने भन्दै कम्युनिस्ट आन्दोलनको वैचारिक तथा सैद्धान्तिक क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको चर्चा गरे ।

मसालका प्रवक्ता रामप्रकाश पुरीले नयाँ पुस्ताले कमरेड कृष्णदास श्रेष्ठबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए ।

बरिष्ठ माक्र्सवादी लेखक, विश्लेषक तथा सर्जक प्रा.डा. जगदीशचन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उनले कमरेड कृष्णदास श्रेष्ठको बहुआयामिक व्यक्तित्वको संक्षिप्तमा चर्चा गरेका थिए । उनका अनुसार कमरेड कृष्णदास श्रेष्ठका मौलिक तथा अनुदित गरी ६० भन्दा बढी पुस्तकहरु प्रकाशित रहेका छन् । श्रद्धाञ्जली सभामा कमरेड कृष्णदासको फोटोमा उहाँकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’लगायत सबै अतिथि तथा कार्यक्रममा उपस्थिति नेता कार्यकर्ताहरुद्वारा माल्र्यापण समेत गरिएको थियो ।