
गिरफ्तार गरिएका साथीहरुलाई जिल्ला प्रहरी कार्यालय हनुमान ढोका ल्याएको खबर अकस्मात आइपुग्यो । कयौं दिनदेखि साथीहरु भोकभोकै हुनुहोला भनेर बाल्टीमा खाना बोकेर एकबहादुर दोङ्गलाई साथमा लिएर भेट्न गइयो । कसैसँग पनि भेट्न दिइएन । सेन्ट्रीलाई खाना पुर्याइदिनु भनेर हामी फर्कियौँ । बिहान बेलुका खाना दैनिक रुपमा पुर्याउने काम जारी राखियो ।
दिउँसो रीट हाल्न अदालत पनि पुगिन्थ्यो । जिल्ला प्रशासन कार्यालयमा साथीहरुलाई उपस्थित गराउँदा भने उहाँहरुसँग कुराकानी गर्ने मौका पनि मिल्दथ्यो । कतिपय मजदुर, विद्यार्थी साथीहरुको आफन्तहरु धेरै टाढाको दुरीमा रहनु भएकाले नजिक रहेका साथीले नै सहयोग गरिरहनु भएको स्मरण आज पनि ताजै छ ।
बिद्रोहलाई क्रान्तिकारी ज.व.स., कम्युनिष्ट लिग र वाम मोर्चाको ऐक्यवद्धता
२०५२ फागुन १ विश्वका सर्वहाराहरुको लागि ऐतिहासिक र स्वर्ण दिनको सुरुआत थियो । त्यो गरिखाने वर्गले गरेको खाने वर्गविरुद्ध विद्रोह थियो । मजदुर, किसानले, शोषक, सामन्ती वर्गविरुद्धमा गरेको विद्रोह थियो । यो विद्रोहलाई विश्वका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले समर्थन गर्ने क्रम जारी नै थियो । नेपालका क्रान्तिकारी ज.व.स. मोर्चा र कम्युनिष्टहरुले पनि वक्तव्यहरु धमाधम निकाल्न थाले ।
यसरी वक्तव्य जारी गर्नेहरुमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल जनजाति महासंघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अ.ने.रा.स्व.वि.यू.(क्रान्तिकारी), अखिल नेपाल ट्रेड यूनियन महासंघ, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन लगायतका अध्यक्ष र महासचिवहरुले संयुक्त रुपमा वक्तव्य जारी गरेका थिए ।
“राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गर्न सबै एक जूट हुनु पर्ने छ । परि आए व्यापक रुपमा आफूहरु पनि गिरफ्तारी दिन तयार हुनेछौं ।” भन्दै जवस मोर्चाले जनयुद्धको समर्थनमा एकजुट भएका थिए । त्यस्तै गरी प्रगतिशील लेखक संघले पनि “वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालाई विनाकारण गिरफ्तार गरेको” भनी वक्तव्य निकाले ।
देशव्यापी आन्दोलन बढ्दै गएपछि पक्राउ परेका वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालाई १० गते राती साधारण तारेखमा छाडिदिएछ । “विना पूर्जी नागरिक पोशाकमा सेतो कार लिएर चावहिल गणेशस्थानमा कार राखी मेरै घरमा आएर मलाई लिएर गए । ६ गते देखि १० गतेसम्म प्रहरीको २ नम्बर गण महाराजगञ्जमा राखी १० गते राती मलाई छाडियो” –उनले भेटमा हामीसँग भनेका थिए ।
यसरी वक्तव्य आउन थालेपछि प्रतिक्रियावादी सरकारले धमाधम तिनका अध्यक्षहरुलाई गिरफ्तार गरी कायरता प्रदर्शन गर्न थाल्यो । पक्राउ पर्नेमा सुरेश आलेमगर, शक्ति लम्साल, मुक्ति प्रधान आदि थिए ।
अन्तर्राष्ट्रिय क्रान्तिकारी पार्टीहरुको संगठन ‘रिम’का सबै सदस्य राष्ट्रहरुको छाताले पनि नेपालमा दीर्घकालिन जनयुद्ध प्रारम्भ भनेर ब्यापक प्रचारप्रसार गरि नै रह्यो । यसबाट प्रभावित भएर नै नेपालका संसदवादी कम्युनिष्ट बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु पनि समर्थनमा आए । यसरी वक्तव्य जारी गर्नेहरुमा नेपाल कम्युनिष्ट लिग र वाममोर्चा थिए ।
शम्भुराम श्रेष्ठ (नेपाल कम्युनिष्ट लिग) “नेकपा (माआवादी) जुन उद्देश्य र भावनाले सशस्त्र संघर्ष चलाएको छ, त्यो उद्देश्य र भावनाको नेपाल कम्युनिष्ट लिग सह्राना र समर्थन गर्दछ । यो संघर्ष भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध लक्षित भएको छ । सशस्त्र संघर्ष चलाउने कुरा माक्र्सवाद–लेनिनवादको आधारभूत सिद्धान्त भएको हुँदा सशस्त्र संघर्षविना क्रान्ति हुँदैन, त्यसैले क्रान्तिकारी कम्युनिष्टहरुले सशस्त्र संघर्ष चलाउनु विलकुलै स्वभाविक हो । माओवादीलाई नेपालकै वस्तुगत परिस्थितिमा रहेर जनयुद्ध गर्नुपर्ने र हामी माओत्सेतुङ्गको नीतिलाई अन्धानुकरण नगर्न पनि सुझाव दिन्छौँ । माओवादीले सुरु गरेको संघर्षको परिणाम भविष्यले मात्र देखाउने छ ।”
त्यसै गरी वाममोर्चाका तर्फबाट अध्यक्ष नन्दकुमार प्रसाई र महासचिव कुमार वेलवासेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी ऐकवद्धता जनाएका थिए ।
“रोल्पारुकुम लगायतका जिल्लाहरुमा छिटफूट घटेका घटनाहरु वर्तमान सरकारी दमनको प्रतिरोधमा नेकपा (माओवादी) ले चलाउन बाध्य भएको जनयुद्धको छर्रा हो । प्रतिक्रियावादी राज्यसत्ता र जनताका बीचको तिव्र अन्तरर्विरोध स्वभाविक अभिव्यक्ति पनि हो । हाम्रो मोर्चा जनयुद्ध अभ्यासको मूलसारको कदर गर्दछ । कम्युनिष्ट आन्दोलन फैलिंदै आएको सकारत्मक असरबाट शिक्षा लिएर अघि बढ्न समेत माओवादी पार्टीलाई सल्लाह दिन्छौं ।
सरकारले श्वेत आतंकले जन्माएको लालआतंकलाई एमालेपन्थी कम्युनिष्टहरुले जस्तो घुमाइफिराई बिरोध गर्दैन । बरु क्रान्तिकारी अग्रगतिका लागि आधारभूत भावभूमि ठान्दछ । वर्तमान प्रतिक्रियावादी राज्य–व्यवस्थाद्वारा सुनियोजित ढङ्गले फैलाएको श्वेत आतंक र दमनको परिणामस्वरुप जन्मने राज्य अस्तव्यस्तताको लागि स्वयम् यो देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको ताबेदारी गर्ने राष्ट्रघाती, जनघाती र विखण्डनकारीहरुको संयुक्त गठबन्धन सरकार नै जिम्मेवार छ ।”
माओवादीले सुरु गरेको जनयुद्धप्रति गृहसहायक मन्त्री दीपकप्रसाद बासकोटासँग पत्रकारहरुले सोधेको प्रतिउत्तरमा जवाफ यसरी दिएका थिए– “देशका विभिन्न ठाउँमा भैरहेको माओवादी गतिविधि सरकारले नियन्त्रण गरिसकेको छ । कहीँकहीँ मात्रै त्यस्ता घटना भयो भने त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम छ । अहिलेसम्म हामीले देशैभरबाट ३०० जनालाई नियन्त्रणमा लिइसकेका छौं ।”
यो भनाइको २४ घण्टा नबित्दै सरकारलाई उक्साएर सम्पादकीय एवम् समाचार लेखे वापत ती पत्रकारकारिता गर्ने कान्तिपुर दैनिकका अध्यक्षको भौतिक सम्पत्तिमाथि आगजनी गर्दै वर्ग दुष्मनमाथि आक्रमण तीव्र पार्दै लग्यो । सोही क्रममा बर्दियाका हेमराज ज्ञवालीको धान कब्जामा लिएका थिए । रुकुम झुलाका जासुस चन्द्रबहादुर खत्रीमाथि कारबाही भएछ । खलंगामा बम बिष्फोट गर्दै फटाहहरुको सात्तो नै उडाइदिएछन् ।
नेकपा माओवादीले रोल्पाको भावाङ्ग गाविस वडा नं. ९ लगायतका अन्य दुई गाविसहरुमा बम बिस्फोट गरी कारवाही अघि बढाए । यो घटनाले गृह सहायक मन्त्रीका भनाइ झुट्ठा साबित ठहरियो ।
यस्तै बेलामा हाम्रो समीक्षा बैठक पनि बस्यो । समीक्षा बैठकले काठमाडौं लगायतका जिल्लाहरुको प्रचारात्मक कार्यहरुको सही मूल्याङ्कन गर्यो । प्रचार कार्यशैली सही भएको ठहर गर्दै अझै पार्टीको नीतिमा वर्गीय मुद्दाहरु, किसान, मजदूर, आदिवासी जनताको मागहरु एकपछि अर्को थप्दै जाने तय भयो । तिनीहरुलाई पनि संगठनमा ढाल्ने र छापामार शैलीमा कार्यक्रमहरु लैजाने जस्ता कार्यक्रमहरु पनि त्यतिबेला तय गरियो ।
फागुन १४ गते गोरखा ताकुकोट गा.वि.स. स्थित सूर्यज्योति मा.वि. का प्रधानअध्यापक वीरबहादुर गुरुङ्गलाई गिरफ्तार गर्न कक्षा कोठामै प्रहरीहरु पसेछन् । ती हतियार सहितका प्रहरीहरु एक माध्यमिक विद्यालयका शिक्षक गुरुङलाई पक्रन लागेको देखेर कक्षा कोठाका प्रा.वि.का नावालकहरुले छुटाउन लागे । सोही क्रममा नावालक विद्यार्थी र हतियारसहितका पुलिस बीच मुठभेड भयो । तत्कालिन राकस सरकारद्वारा हतियारसहित गिरफ्तार गर्न विद्यालय प्रांगणमा पचासौं प्रहरी प्रवेश गरेका थिए ।
सबै विद्यार्थीका प्यारा शिक्षकलाई बचाउन सारा विद्यार्थीहरुले घेरा हाली ती हतियारधारी प्रहरीहरुसँग प्रतिकार गर्नतिर लागे । सोही क्रममा दिलबहादुर रम्तेल र रामप्रसाद भट्टमाथि गोली प्रहार गरेछ । शिक्षक बीरहादुर गुरुङ्गलाई गिरफ्तार गरी लगेछ । आफ्नो ज्यानको आहुति दिएर आफ्ना प्यारा गुरुलाई ती साहासी बालकले बचाउन खोजे । ती थिए कक्षा ४ मा पढ्दै गरेका ११ वर्षिय बालक दिलबहादुर रम्तेल । यसरी एउटा दलित बालक नै जनयुद्धको झिल्कोको रुपमा सल्किदै गए । देशव्यापी उनको रगतको थोपा झिल्काको रुपमा फैलदै गयो । १५ हजार भन्दा बढीले यस जनयुद्धमा सहादत प्राप्त गरे ।
उनीहरुले नै नेपालको जनयुद्धमा पहिलो सहिदको रुपमा चिनिने मौका पाए । त्यसैले हामीले आज पनि फागुन १४ देखि फागुन २१ गतेसम्म नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आफ्नो प्राण उत्सर्ग गर्नेहरुलाई सहिदको रुपमा मान्दै र सहिद सप्ताह मनाउँदै आइरहेका छौं ।
जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दिलबहादुर रम्तेल लगायत सम्पूर्ण सहिदहरुप्रति सच्चा श्रद्धान्जली त्यो बेला हुनेछ, जुनबेला वहाँहरुले देखाएको बाटोमा हामी बाटो नबिराई हिँड्न सकौं । वीर सहिदहरु अमर रहुन् ! अमर रहुन् !! अमर रहुन् !!!































