माघे संक्रान्तिको दिन । थारू समुदायमा माघीको रमझम छ । देवघाटमा हिजैदेखि मेला लागेको छ । नारायणीमा मकर स्नानको आफ्नै महत्व छ, आस्था राख्नेहरूका लागि । नारायणीकै किनारमा चितवन महोत्सव धुमधाम रुपमा चलिरहेको छ । एकै दिन पचपन्न हजारले अवलोकन गरेको समाचार आइरहेको छ । तरूल, घ्यू, चाकु र विभिन्न परिकार प्रायः सबैतिर पाकेका छन् । चाडवाडको आफ्नै परिवेश हुन्छ र रौनक पनि । आँगनमा साक्षी‚ प्रासना लगायत भुराहरूको आफ्नै संसार निर्माण भइरहेको छ ।

हार्दिक शुभकामना !

वल्लो र पल्लो घरका गरेर ८/१० जना भुराहरू जम्मा भएर खेलिरहेका छन् । कोही आमा बनेका छन्, कोही छोराछोरी । खेलमै पनि कति मातृत्व र भ्रातृत्व देखाउँछन् यी निष्कपट मनहरू । अझ प्रशिद्धीले त मलाई नै छोरा बनाएर आफै आमा बन्छे । कति धेरै विषय उठाउँछन् हल गर्छन्, आश्चर्यमा पर्छन, हाँस्छन् अनि कुरो नमिलेपछि झगडा गर्छन् । रुन्छन्, मिल्छन् र फेरि हाँस्छन् ।

मलाई शिव अधिकारीको आमाको याद आइरहेको थियो । सहिदसम्बन्धी प्रकाशनलाई पूर्णता दिन पनि आमालाई भेट्नु पर्ने हुन्थ्यो । यी चारपाँच दिनभित्र मैले गरिसक्नु पर्ने धेरै काम छन् । त्यही बीचमा क्यान्सरले थलिएर श्याम दाइ पनि चितवन आइपुग्नु भएको छ । केही समय त श्याम दाइका लागि पनि जोहो गर्नु नै छ । सबै तारतम्य मिलाइसकेपछि पनि पहल लिएर काम गर्ने मानिसको श्याम दाइको परिवारमा अभावै रहेछ जस्तो लाग्यो ।

सङ्क्रान्तीको दिन । चिसो हावाको सिरेटोले जीऊ नै सिरिङ्ग हुने गरी हानिराखेको छ । म भटभटे लिएर मंगलपुर बाबुराम प्यासी दाइको घरमा पुगेँ । हामीले सल्लाह गर्यौं र मंगलपुरका सबै सहिद परिवारको घरमा सम्भव भएसम्म पुग्ने योजना बनायौँ । गोपाल चोकमा रहेको क. शिवहरि र रामकृष्ण तिम्सेना दाजुभाइको स्मृतिमा निर्मित शिवराम स्मारकमा पुग्यौँ । हुरीको मावलीमा भेटघाट गरेर हामी शिव अधिकारीको घरमा पुग्यौँ । पछिल्लो चोटी जाँदा आमाले अब फेरि फर्केर आउने हैन होला भनेको करीब डेढ वर्षपछि मात्र बाबुराम दाइसँग म त्यो आँगनमा पुगेँ । संयोग क. शिव अधिकारीको बुवा र भाइ पनि घरमै हुनुहुँदो रहेछ । हामीले सामान्य भलाकुसारीपछि आफूहरू आउनुको प्रयोजन बतायौँ ।

करिब १६ वर्षअघिको त्यो घटना, आमाले बताउन थाल्नुभयो । हामी भने कहिले भूइँमा हेर्यौं, कहिले आकाशमा, कुराकानी चलुञ्जेल हामीले सोझै आमाको अनुहारमा हेर्न सकेनौँ ।

‘बिहे गर भनेका थियौँ, बाबु मान्दै मानेन ।’ २०५९ कार्तिक २५ को घटना सम्झँदै आमाले भन्नु भयो । त्यो दिन बेलुका गाउँकै केही साथीहरू भेट्न आइतेसँगै (सहिद आइतराम दराई) गएको थियो । फर्केर आउने बेलामा ८/९ वटा साइकलमा आएका सेनाले शिव र आइतेलाई घेरा हालेछन् । उनीहरू १६ जना थिए अरे । हामी घरमै टि.भि.मा प्रहरी कार्यक्रम हेरेर बसिरहेका थियौँ । कसैले दुगुर्दै आएर शिवलाई माओवादीले जबर्जस्ती लिएर जाँदैछन् भने ।

म दौडिँदै श्रृजनशील चोक पुगेँ । पल्लो चोकमा कार्यक्रम छ, कार्यक्रम सकेर पठाइदिन्छौँ भने । के को माओवादी हुन्थे र सेनाका मान्छे रहेछन् । मैले रोक्न खोजेँ, मलाई नै घचेटेर लडाइदिए, आँखाभरि टिल्पिल आँशु पारेर आमा भनिरहनु भएको थियो । आँशु न झर्न सक्थ्यो‚ न त रोकिन नै । बुबालाई हेरेँ उज्यालो हराएको घाम जस्तो अनुहार ।

‘त्यस्तै साढे सात बजेको थियो होला । शिव र आइतेलाई लिएर कहाँ गए थाह पाएनौँ । भोलिपल्ट बिहान मात्र थाहा पायौँ । गुञ्जनगरको घोलमा लगेर गोली हानी हत्या गरेछ । तिलको दाना राख्ने ठाउँ पनि खाली थिएन शरीरमा । पछाडिबाट गोली हानी मारेका रहेछन् बाबु !’ कत्ति बिचलित हुन्छ मन । आफ्नै छोराको हत्याको प्रसङ्ग कुरा गर्ने आमाको हालत के भयो होला ? आफ्नै मुटु निकालेर सिलौटोमा पिस्दा पनि यत्तिको दुख्छ होला र ?

बुबा मूर्तिवत बसिरहनु भएको थियो । ‘आइतेको त छाती पनि दुई फ्याक पर्ने गरी चिरेका रहेछन् ।’ मेरो हात–खुट्टा, टाउको सबै सिरिङ्ग भयो । ‘शब बुझ्न पनि दिएनन् । उनीहरूले नै लगे, हामीलाई प्रशासनमा भएको एकजना दाइले सहयोग गर्नु भयो ।

दुई दिनपछि कार्तिक २७ का दिन देवघाटमा जेनतेन दाहसंस्कार गरियो । हामी दुई परिवारबाट ४ जना भन्दा बढीलाई घाटमा जान अनुमति थिएन । अरू जम्मै पुलिस थिए‚ सेनाले हत्या गरे पनि सेन्ट्री चाही पुलिस राखेको थियो । दाहसंस्कार त के गर्नु र बाबु आगोसम्म दिन पाइयो ।’ चुपचाप बसेका बुबाले मुख खोल्नुभयो । बिहे गर्ने उमेरको छोरा देश र जनता भन्दै त्यस्तो भयो, हामी नभए पनि पार्टी छ नि भन्थ्यो, अहिले त पार्टो खोज्न पनि कहाँ जानु ? ‘हाम्रा शिवहरूभन्दा एक दिन अघि पनि चन्द्रनगरतिर दुई जनाको हत्या गरेका थिए ।’ बुबाले सायद मंगलपुरकै शम्भु परियारहरूको हत्याको कुरा गर्नुभएको थियो ।

कुराकानीकै क्रममा पार्टी विभाजन र एकताका प्रसङ्ग पनि निस्के । हामीले भन्यौँ लाशैलाशको चाङमा खडा भएको माओवादी आन्दोलन केही मान्छेहरू एमालेमा विलय हुँदैमा सिद्धिँदैन, हामी आगो जोरिरहेका छौँ । तिनको लुट र हत्याको दरबारमा आगो लाउने दिन पनि आउँछ ।
शहीद कमरेड शिव अधिकारी, विष्णुमाया अधिकारी र रामजी अधिकारीका ४ छोराछोरीमध्ये जेठो छोरा हुनुहुन्थ्यो । मंगलपुर ६ ढड्डाघारीमा २०३८ भाद्र ३ गते जन्मनु भएका शिवले कक्षा ३ सम्म ढड्डाघारी स्कुलबाट कक्षा ३ सम्म, कक्षा ४–५ उषा बोर्डिङ्ग, फेरि कक्षा ६–८ ढड्डाघारी स्कुलबाटै अध्ययन गर्नु भएको थियो । २०५४ मा विश्वप्रकाश मा.वि.बाट एसएलसी उत्तीर्ण गर्नुभएका शिव अंग्रेजी विषय लिएर सप्तगण्डकी क्याम्पसमा भर्ना हुनु भयो ।

गाउँमै स्थानीय माओवादी कार्यकर्ता नारायण दवाडीको प्रभाव परेको थियो । त्यस भेगकी माओवादी नेता, जनकलाकार शारदा श्रेष्ठ र माडीका दण्डपाणि पौडेल ‘हिक्मत’ ले आश्रय लिने ठाउँ उनीहरूको घर । शिव क्याम्पस भर्ना भएदेखि नै अखिल क्रान्तिकारीमा संगठित हुनुभयो । ‘२०५६ तिर क्याम्पस पढ्दापढ्दै घर छोडेर हिँडेको हो, खै के के पदमा थियो थाह भएन ।’ आमाले उहाँको बाल्यकाल र पढाइबारे सामान्य जानकारी गराउनुभयो ।

‘२०५८ तिर घर आएर बसेको थियो । पार्टीको योजनामा हो कि, छुट्टि लिएर आएको थाह भएन । गाउँमै लुकिलुकी पार्टीको काम पनि गथ्र्यो । जिल्ला प्रहरी कार्यालयको पछाडि पोलिटेक्निकमा सीएम्ए भर्ना भएर पढ्दै थियो, ३ महिना नपुग्दै यस्तो भयो । उसको शहादतपछि पार्टीले निकालेको पर्चा हरेर पो थाह भयो ऊ पार्टीको इलाका सदस्य रहेछ भनेर ।’ बुबाले त्यतिबेलाको प्रसङ्ग सम्झनु भयो । गाउँमै त्यतिबेलाका स्थानीय माओवादी कार्यकर्ताहरू बालकृष्ण सुवेदी, विजय बराल, राजन न्यूरे (हाल जापान) को संगत थियो । उनका छिमेकी आइतराम दराई सहादतको बेला पनि जनमुक्ति सेनामा कार्यरत हुनुहुन्थ्यो ।

शरीरभरि घाउ आएर उपचारको लागि घर बिदामा आएको बेला केही कार्यक्रमको तयारीको गर्न क. शिव र क. आइतराम गाउँका साथीहरूसँग सल्लाह गरेर फर्कने क्रममा ढड्डाघारीकै श्रृजनशील चोकमा शाही सेनाको घेरामा पर्नु भयो । गिरफ्तार गरेको ठाउँबाट करिब ९÷१० किलोमिटर पर लगेर गुञ्जनगरमा उनीहरूको हत्या गरियो । त्यस दिनको घटनालाई सम्झँदै गुञ्जनगरकी स्थानीय माओवादी ‘आमा’ कृष्णकुमारी मुडभरी भन्नुहुन्छ– ‘ड्याङ, ड्याङ एकोहोरो गोली चलेको सुन्यौँ । भोलिपल्ट बिहान बुझ्दा विष्णु ढकालको घर पछाडिको घोलमा गोली चलाएको रहेछ ।’

तत्कालीन स्थानीय माओवादी नेता नारायण दवाडीका अनुसार शिव र आइतराम दराई दुबै जना मिल्ने साथी भएको सम्झना गर्नु हुन्छ । उनीहरूको राजनैतिक पृष्ठभूमि लगभग उस्तै हो । दुबैले २०५७ को अन्तिममा चितवनको काउलेमा भएको छापामार स्क्वाडको दोस्रो तालिममा सहभागी थिए, नारायण दवाडी इतिहास सम्झनुहुन्छ ।

कति क्रुर हुन्छ, ती जल्लादहरूको मन । नाटकीय गिरफ्तारी, झुट्टा मुद्दा र मुठभेड तिनका विरूद्ध प्रतिरोधका स्वरहरू सबै सबै दिमागमा एकैचोटी घुमे ।

हाम्रो कुराकानीमा कमै मात्र सहभागी हुनुभएको बुबा रामजी अधिकारीले पछि मुख खोल्नुभयो, हालसम्म पनि हाम्रा छोराहरूले सहिदको दर्जा पाएनन् । अहिले पनि उसको चिनारी द्वन्द्वमा ज्यान गुमाउने छ र हामी द्वन्द्वपीडित । खै त हाम्रो चिनारी ? खै बलिदानको सम्मान ? शिवको भाइ फरेष्ट्री पढ्दै छ, तर उसले सहिद परिवारको कोटा पाएन । तपाईंहरू विचार, सिद्धान्त भन्नु हुन्छ, यदि विचारको कुरा हो भने, हिजो बादल, देव गुरुङ किन फुटे ? फेरि किन मिसिन गए ? सबै कुर्सीको कुरा रहेछ ।

आफ्नो सरल बुझाइ र आक्रोशपूर्ण पीडासँगै एकैपटक कुरा राख्नु भयो बुबाले । हत्याको करिब ३ महिनापछि घटना स्थलमा स्थानीय रूपासँगै पुग्नु भएकी आमाले आँसुले भरिएको आँखाको बाँध फुट्लाफुट्ला जस्तो गरी भन्नुभयो– ‘म तीन महिनापछि पुग्दा पनि उनीहरूलाई पहिला ढालेको ठाउँमा मरेको घाँस उम्रिन सकेका थिएन । रगतले त पोल्छ नि बाबु !’

घ्यूमा उसिनेको सखरखण्ड पनि खल्लो लाग्यो । तल बगिरहेकी नारायणी छ, हेर्दा कति शान्त, निश्चल र सुन्दर छ, तर भित्रभित्रै कति तुफान छ नारायणीमा । नारायणी जस्तै शिव अधिकारीकी आमा पनि बाहिर जति शान्त र कोमल देखिनु हुन्छ, तर मनभित्र कति धेरै ज्वालामुखी फुटिरहेको छ ।

नारायणीमा त वर्षमा एक पटक बाढी आउँछ, तर आमाको त्यो मनमा हरेक पल आँधीतुफान चलिरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर