रौतहट । मेची–महाकाली अभियानको क्रममा रौतहटमा पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले देशमा कम्युनिस्टको सरकार नभएर लुटेराहरुको सरकार चलिरहेको टिप्पणी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको २ नं. प्रदेश कमिटिले रौतहटको गरुडा नगरपालिकाको झाँसपुरमा आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट तथा अन्तक्र्रियामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै नेता गजुरेलले निर्वाचनको बेला जनतामा विकास र समृद्धिको झुट्टा नारा बाँडेर सरकारमा पुगेको नेकपाका नेताहरुले संस्थागत भ्रष्टाचार गरेर राज्यको ढिकुटीमा ब्रम्हलुट मच्चाइरहेको बताए । सरकारले जनतालाई सेवा, सुविधा बढाउनुपर्नेमा ओली नेतृत्वको सरकारले जनतामा महंगी, अनियमितता, भ्रष्टाचार, सामाजिक अपराध र राष्ट्रघातका कार्यहरु गरिरहेको भन्दै त्यसको कडा विरोध गरे ।
वर्तमान सरकार कम्युनिस्ट सरकार नभएर भ्रष्ट र लुटेराहरुको सरकार भएको उनले टिप्पणी गरे । उनले देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु बढ्दै गएको र जनताले समाधान चाहेको भन्दै त्यसका लागि वर्तमान दलाल संसदीय व्यवस्था खारेज गर्नुपर्ने बताए । उनले आफुहरुले जनयुद्धको बेलामा माग गरेको जस्तो संघीयता र जनगणतन्त्र अझै नआएको भन्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई दलाल पुँजीपति र सामन्तवर्गको व्यवस्था भएको तर्क गरे ।
उनले प्रचण्डले जनयुद्धमा जनतालाई देखाएको सपनामा धोका दिएको भन्दै सत्ता र अहिलेको व्यवस्था बदल्नको तेस्रो चराणको जनआन्दोलनको उठान गर्नुपर्ने बताए । उनले चैत्र २४ गते काठमाडौंमा व्यवस्थाका विरुद्ध सडकबाट जनप्रदर्शन गर्ने र त्यहिँबाट अर्को आन्दोलनको तयारी अगाडी बढाउने विषयमा जानकारी समेत गराए ।
क्रान्तिकारी पत्रकार महासंघको प्रदेश समिति संयोजक शिवशंकर पाण्डेयको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथियको रुपमा मोर्चा अध्यक्ष सीपी गजुरेल, विशेष अतिथिको रुपमा मोर्चाका प्रदेश संयोजक कलम चौधरी, अतिथिमा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, रौतहट पार्टीका सेक्रेटरी प्रलाद शाह लगायत रहेका थिए ।
सम्मेलनमा विभिन्न पत्रपत्रिकामा कार्यरत दर्जनौ पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी, मोर्चा, र विभिन्न संघ संगठनका नेताहरुको समेत उपस्थिति रहको थियो ।