महान् दश वर्षे जनयुद्धको बिरासत

महान् दश वर्षे जनयुद्धको बिरासत

यही २०७५ फाल्गुन १ गतेदेखि महान् दस वर्षे जनयुद्धले २३ वर्ष पूरा गरेर २४ वर्षमा प्रवेश गरेको छ । फाल्गुन १ गते नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा मुख्यतः नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको इतिहासमा एक ऐतिहासिक दिन हो । किनभने, २०५२ साल फाल्गुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा ऐतिहासिक दीर्घकालीन जनयुद्धको थालनी रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको च्याङ्ली कृषि विकास बैंकमाथि एउटै समयमा सशस्त्र आक्रमण गरेर साथै देशभर अरु साना ठूला फौजी कार्वाहीहरु गर्दै दीर्घकालीन रुपमा जनयुद्धको थालनी गरिएको थियो ।

साम्राज्यवाद र सामन्तवादको आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय राज्य व्यवस्थालाई अन्त्य गरेर त्यसको ठाउँमा जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्ने महान् उद्देश्यका साथ माओवादीको नेतृत्वमा सशस्त्र जनयुद्धको घोषणा गरिएको थियो ।
महान् जनयुद्धको थालनी गर्नुभन्दा पहिले ठूलो तयारी गरिएको थियोे । जस्तैः

(१) वैचारिक तयारी, (२) सङ्गगठनात्मक तयारी, (पार्टी, नेतृत्व सम्बन्धमा) (३) संयुक्त मोर्चाका सम्बन्धमा (४) सेना निर्माण सम्बन्धमा र (५) ज.व.स. सम्बन्धमा आदि तयारी गरिएको थियो ।

साथै नेतृत्वले क्रान्तिप्रति, देश र जनताप्रति कहिल्यै पनि धोका दिने छैनौं भन्दै सात बुँदे प्रतिबद्धता जारी गरेको थियो । नेतृत्व पंक्तिले सामुहिक फोटो खिचेर सामुहिक प्रतिबद्धता जाहेर गरिएको थियो भनिएको छ ।

जनयुद्ध थालनी भएको करीब नौदस वर्षकै छोटै अवधिमा माओवादी जनयुद्धले अतुलनीय उपलब्धिहरु हाँसिल गर्दै विकसित हुन पुग्यो । वैचारिक क्षेत्रमा माकर्सवाद–लेनिनवाद–माओवादले सिंगो पार्टी पंक्तिलाई लैस गराउनुका साथै मालेमावादका सार्वभौम सिद्धान्तहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सफल भयो । संगठनात्मक क्षेत्रमा छोटै अवधिमा पार्टी संगठनहरुलाई देशव्यापी रुपमा फैलाउन सफल भयो ।

सैन्य क्षेत्रमा छापामार दस्ता हुँदै जनमुक्ति सेनाको निर्माण र सातवटा सैन्य डिभिजनहरुको निर्माण गर्न सफल भयो ।
राजनीतिक क्षेत्रमा माओवादी पार्टीले आफ्ना लक्ष्य, उद्देश्य र कार्यक्रमहरु देशभर आम जनताका बीचमा पुर्याउन सफल भयो । आधार इलाकाहरु निर्माणका सन्दर्भमा माओवादी पार्टीले सशस्त्र जनयुद्ध थालनी गरेको छोटै अवधिमा ग्रामीण जनताका बीचमा आधार इलाकाहरु निर्माण गर्न सफल भएको थियोे ।

नयाँ जनसत्ता निर्माणका सम्बन्धमा त्यस ऐतिहासिक सशस्त्र जनयुद्धको प्रक्रिया अन्तर्गत माओवादीले छोटै अवधिमा स्थानीय नयाँ सत्ता, जनअदालत, जनसरकारहरुको निर्माण र परिचालन गर्न नेपालको कम्युनिस्ट आन्दोलनमा इतिहासमै पहिलो पटक सफल भएको थियोे ।

माथि उल्लेख गरे बमोजिम रोल्पा, रुकुम, गोरखा, सिन्धुली लगायतका देशका केही जिल्लाहरुबाट फौजी कार्वाही गरेर सुरु गरेको सशस्त्र जनयुद्धको प्रक्रियामा मुलुकका विभिन्न स्थानहरुमा रहेका प्रतिक्रियावादी सत्ताका सैनिक एवम् फौजी क्याम्प र अन्य सैन्य इलाका र क्याम्पहरुमा सफल फौजी कार्वाही गरेर ठूलाठूला सफलताहरु हासिल गर्न सफल भएको थियोे । साथै, २०६१ र २०६२ तिर पुग्दैगर्दा माओवादी जनयुद्धले मुलुकको करिब ८० प्रतिशत भूभागमा कब्जा जमाइसकेको थियो ।

एकातिर सोभियत रुस र चीनमा भएको भीषण प्रतिक्रान्तिका परिघटनाहरुले विश्व सर्वहारा र विश्व भरकै उत्पीडित राष्ट्र तथा मुक्तिकामी जनताका बिचमा एक प्रकारको निराशा छाइरहेको अवस्थामा सागरमाथाको काँखमा रहेको विश्वकै एउटा सानो देशमा माओवादी जनयुद्धले एकपछि अर्को गर्दै विजय हासिल गर्दै क्रान्तिको सफलता र विजयको नजिक पुगेको देखेर विश्वका भाइचारासमेत आशावादी बनिरहेको अवस्थाले गर्दा नेपाली जनयुद्धको विरासत अति विकसित र विशाल बन्न पुगेको थियोे ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) करीब दस वर्षको अवधि पार गर्दै २०६१ र २०६२ तिर पुग्दै गर्दा माओवादी जनयुद्धले महान् नेपाली नयाँ जनवादी क्रान्ति सन्निकट भइरहेको देखेर देशीविदेशी प्रतिक्रियावादीहरु निकै अत्तालिन पुगेका थिए । विश्वभर साम्राज्यवादीहरु, विस्तारवादीहरु र सबैखाले प्रतिक्रियावादीहरुले विविध प्रकारका षड्यन्त्रका ताना वानाहरु बुनिरहेका थिए । नेपालको प्रतिक्रियावादीद्वारा माओवादी जनयुद्धलाई समाप्त पार्ने उद्देश्यले अमेरिकी साम्राज्यवादले नाइटभिजन हेलिकप्टरहरु र ठूलो संख्यामा सेनाहरु समेत नेपालमा पठाएर तत्कालीन शाही नेपाली सेनालाई विशेष तालिम दिइरहेको थियोे । यो माओवादी जनयुद्धलाई सिध्याउने उद्देश्यले गरिएको थियो ।

तात्कालीन नेपाली कांग्रेसको देउवा सरकारले माओवादी जनयुद्धलाई प्रशासनिक दमन गरेर समाप्त गर्ने उद्देश्यले सिंगो देशलाई संकटकालको घोषणा गरेर देशव्यापी रुपमा तत्कालीन शाही नेपाली सेना परिचालन गरेर श्वेतआतंक मच्चाएर नरसंहार मच्चाएको थियो । त्यस ऐतिहासिक जनयुद्धका प्रक्रियामा गोरखाका १२ वर्षे दिलबहादुर रम्तेलबाट जनहत्या गर्ने सुरु भएर दश वर्षको अवधिमा प्रतिक्रियावादी एवम् फासीवादी सत्ताले कमरेड वासु, कमरेड सुनिल हुँदै दशौं हजार नेपाली आमाका आँटी तथा असल छोराछोरीहरुले सहादात प्राप्त गरेका थिए भने हजारौंको ज्यान बेपत्ता पार्ने काम गरिएको थियो ।

अहिलेसम्म पनि उनीहरूलाई सार्वजनिक गरिएको छैन । त्यस्तै हजारौंको संख्यामा घाइते तथा अपांग तुल्याइएको थियो । नेपालका नदीनालाहरुमा पानी मात्र होइन, जनताको रगतले बगेका थिए । नेपालको राजनीतिक इतिहासमा मूलतः नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको इतिहासमा यति ठूलो संख्यामा नेपाली जनताले बलिदान गरेको र सहादात प्राप्त गरेको पहिलो परिघटना हो ।

यसरी दस वर्षसम्म सञ्चालन गरेको जनयुद्धले रणनीतिक रक्षा र सन्तुलनको चरण हुँदै प्रत्याक्रमणको चरणमा अगाडि बढिरहेकै अवस्थामा २०६२ असोजकार्तिकमा सम्पन्न माओवादीको चुनवाङ बैठकबाट जनयुद्धलाई स्थगित गरी संसदीय पुँजीवादी कार्यदिशा ‘लोकतान्त्रिक गणतन्त्र’ को कार्यदिशा अंगीकार गर्न पुगे पश्चात् शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि जनयुद्धको मुख्य नेतृत्व गर्दै आएका पुष्पकाल दाहाल प्रचण्डबावुराममा व्यापक वैचारिक विचलन पैदा भयो र प्ररचण्ड–बाबुरामद्वारा साम्राज्यवादीहरु तथा विस्तारवादीहरु र घरेलु प्रतिक्रियावादीहरुका सामु आत्मसमर्पण गरियो ।

साम्राज्यवादीहरु तथा विस्तारवादीहरु र घरेलु प्रतिक्रियावादी शक्तिहरुले सैनिक दमनबाट माओवादी जनयुद्धलाई समाप्त पार्न सकेनन् र जनयुद्ध झनै फैलिएपछि अमेरिकीको नीति, योजना ग्राण्ड डिजाइनअनुसार महान् दस वर्षे जनयुद्धको नेतृत्व गरेर आएको शक्ति र व्याक्तिकै हातबाट जनयुद्धलाई सिध्याइदिने रणनीति अख्तियार गरेर वैचारिक तथा मानसिक रुपमा कमजोर भएका प्रचण्ड–बावुरामलाई समातेर उनकै हातबाट महान् दस वर्षे जनयुद्धलाई सिध्याउन देशीविदेशी प्रतिक्रियावादीहरु सफल भए ।

देशीविदेशी प्रतिक्रियावादीहरुकै ग्राण्ड डिजाइन र योजना तथा निर्देशनमा प्रचण्डबाबुरामद्वारा आधार इलाकाहरु खारेज गरियो । जनसत्ता, जनअदालतहरु, जनकम्युनहरु र जनसरकारहरु खारेज गरियो । जनमुक्ति सेनाको बिघटन गरियो । हतियार प्रतिक्रियावादी सत्तालाई बुझाइयो ।

जनताद्वारा निर्माण गरिएको पहिलो संविधानसभालाई बिघटन गरियो । २०७० सालको प्रतिगामी तथा प्रतिक्रियावादी संविधान निर्माण गर्न मुख्य भूमिका खेलियो । सबै तहका संसदीय तहका निर्वाचनहरुमा भाग लिएर प्रतिक्रियावादी सत्तामा सामेल भएर क्रान्तिकारी माओवादी कम्युनिस्टहरुका विरुद्ध फासी सत्ताको मुख्य मतियार बन्न पुग्यो ।

त्यतिले मात्र नपुगेर साम्राज्यवादीहरु तथा विस्तारवादीहरु र सबै खाले प्रतिक्रियावादीहरुको ग्राण्डडिजाइन र योजना तथा निर्देशनमा दस वर्षे जनयुद्धको नेतृत्व गरेर आएको र नेकपा ( माके) को नेतृत्व समेत सम्हाली रहेको अवस्थामा प्रचण्डगुट पहिले नै प्रतिक्रियावादी कित्तामा दर्ता भइसकेको नेकपा (एमाले) बिलय हुन पुग्यो ।

यसरी देशीविदेशी प्रतिक्रियावादीहरुको योजना र निर्देशनमा प्रचण्डगुटले महान् दस वर्षे जनयुद्धप्रति गंभीर प्रकारको धोकाधडी र गद्धारी गरे पनि, नेपाली जनता र महान् नेपाली क्रान्ति प्रति गंभीर प्रकारको धोकाधडी गद्धारी गरेपछि माओवादी आन्दोलन र क्रान्तिलाई त ठूलो नोक्सानी हुन गयो, त्यसमा पनि माओवादी आन्दोलन विभाजित हुन पुग्यो । समग्रमा भन्नुपर्दा माओवादी सेटब्याक खानुु पर्यो ।

यति भएर पनि महान् नेपाली नयाँ जनवादी क्रान्ति सिध्दिएको छैन । ठूलो धक्का त पक्कै पनि बेहोर्नु स्वाभाविकै हुन पुग्यो । यो क्रान्तिको द्वन्द्ववादको नियम नै हो । माओवादी जनयुद्ध सिद्धिएको छैन । चरम अवसरवादी तथा प्रतिक्रान्तिकारीहरुद्वारा सडकमा फ्याँकिएको नेपाली क्रान्तिको झण्डालाई वर्तमान माओवादी आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्नका लागि सशस्त्र जनविद्रोह मार्फत् क्रान्तिको आवश्यक तयारी गर्ने काम भइरहेको छ ।

देशभरमा छरिएर रहेका क्रान्ति पार्टी र शक्तिहरुलाई विचारको आधारमा एकताबद्ध तुल्याउँदै क्रान्तिलाई विजयको शिखरतिर पुर्याउने काम भइरहेको छ ।

क्रान्ति विविध प्रकारका आरोहअवरोह तथा विभिन्न घुम्तीचुनौतीहरुको सामना गर्दै क्रान्तिको प्रक्रिया अगाडि बढ्ने भएकोले कोही पनि निराश हुनु पर्दैन । क्रान्तिको यो द्वन्द्ववादलाई सबै आत्मसात् गर्न जरुरी छ । २४ औं जनयुद्ध दिवस मनाउनुको सार्थकता यसैमा आधारित हुन जरुरी छ ।