जनयुद्ध दिवससँगै दैलेखमा देजमोको सम्मेलन र सहिद तथा वेपत्ता योद्धा परिवार समाजको भेला सम्पन्न, सहिद परिवारलाई गरियो अभिनन्दन (फोटो फिचरसहित)

प्रकाशित मिति : २०७५ फाल्गुन १


दैलेख । २४ औं जनयुद्ध दिवसको अवसर पारेर देशभक्त जनगणतान्त्रिक नेपालको जिल्ला सम्मेलन र सहिद तथा वेपत्ता योद्धा परिवार समाजको जिल्ला भेला सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित मोर्चा र समाजले जनयुद्ध दिवसको सन्दर्भ पारेर सम्मेलन र भेला सम्पन्न गरेका हुन् ।

क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेशका निमित्त सचिव कृष्ण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन तथा भेलाको संयुक्त कार्यक्रममा पार्टी केस तथा दैलेख इन्चार्ज दिपकबहादुर शाहीको विशेष उपस्थिति रहेको थियो ।


कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य जयबहादुर शाही, नेपाली कंग्रेसका सहसचिव रत्न शाही, एकल महिला र साझा चौतारीका दैलेख अध्यक्ष रत्ना रेग्मी, घाइते कमरेड गणेश खड्का बजिर, सहिद तथा वेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष गणेश प्रशाद रिजाल र सहिद परिवारका तर्फबाट कमरेड केहेर सिंह बुढामगर लगायतले शुभकामना मन्तव्य दिंदै संघर्षको विकल्प नरहेको बताएका थिए । दैलख पार्टी जिल्ला सचिव विरेन्द्र सिंहको अध्यक्षता र प्रदेश सदस्य तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका कर्णाली प्रदेश संयोजक भरत रेग्मीले सञ्चालन गरेको कार्यक्रममा सहिद तथा वेपत्ता परिवारहरुलाई खादा ओढाएर अभिनन्दन गरिएको थियो ।


मोर्चाको सम्मेलनले मोहन शाहीको नेतृत्वमा १५ सदस्य जिल्ला समिति निर्वाचत गरेको छ भने समाजको भेलाले गणेशप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय सहिद तथा वेपत्ता योद्धा परिवार समाजको निर्माण गरेको छ ।


मोर्चाको सम्मेलन र समाजको भेला भव्य रुपमा सम्पन्न भएको र सहिद तथा वेपत्ता परिवारहरुलाई गरिएको सम्मानले क्रान्तिकारी माओवादीप्रति उनीहरुको विश्वास अझ बढेर गएको पार्टीका दैलेख इन्चार्ज शाहीले बताए ।