२४ औं जनयुद्ध दिवस क्रान्तिकारी माओवादीले देशैभर भव्य रुपमा मनायो, ‘रेड मार्चपास’मा यसरी सडकमा निस्किए राता मान्छेहरु (फोटो फिचर)

प्रकाशित मिति : २०७५ फाल्गुन १

काठमाडौं । ‘माओवादी’, ‘जनयुद्ध’ र ‘सहिद तथा वेपत्ता’ शब्दबाट भाग्दै पार्टीलाई नै एकालेकरण गर्न पुगेका प्रचण्डहरुले धुम्बराहीमा नौटंकी गर्दैगर्दा माओवादी नामको एक मात्र पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर रेड मार्चपासको प्रदर्शन गरेर २४ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । देशैभर उसले आफ्ना हजारौं नेता कार्यकर्तालाई सडकमा उतारेर जनयुद्ध र बलिदानको महत्वलाई अझ उच्च स्तरमा स्थापित गरेको छ । 


सातवटै प्रदेशका अधिकांश जिल्लामा क्रान्तिकारी माओवादीले रेड मार्चपास सान्दार रुपमा सम्पन्न गरेको छ । प्राप्त समाचार अनुसार उपत्यकामा भोटाहिटीबाट सुरु भएको मार्चपास रत्नपार्क शान्तिबाटिका, पुरानो बसपार्क, भद्रकाली, सुन्धरा, न्यूरोड हुँदै इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस र पीविएम पवनमान श्रेष्ठले सम्बोधन गरेका थिए ।
बुटवलबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगले रुपन्देहीको बुटवलबाट सुरु गरेको रेड मार्चपास भैरहवाको देवकोटा चोक हुँदै बैंक रोड, मिलनचोक हुँदै बुद्ध चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई प्रमुख अतिथिको रुपमा पार्टी पोलिटब्यूरो सदस्य एवं ५ नं. प्रदेश संयोजक प्रेमनाथ सुवेदी र पार्टीका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारीले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोजिब अलिले गरेका थिए ।


त्यसैगरी पोखराबाट प्राप्त समाचार अनुसार कास्की जिल्ला समितिको आयोजनमा जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ । कर्णबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा पार्टीका पीविएम तथा देजमो ४ नंं प्रदेशका संयोजक केशबहादुर परियारले सम्बोधन गरे । कार्यक्रममा पार्टी केस तथा जिल्ला इन्चार्ज अरुण देजमो कास्कीका अध्यक्ष भोजराज त्रिपाठी, देजमोका केस भिम श्रीस, तमु मुक्ति मोर्चाका केस टेकबहादुर तमु शिक्षक मोर्चाका नेता, क्रान्तिकारी युवा लिगका केस तथा प्रदेश कार्यालय सदस्य इन्द्र बहादुर तमु लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उर्मिला श्रीसले गरेकी थिइन् ।


यता बर्दियाबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी युवा लिग बर्दियाको आयोजनामा जिल्लाको गुलरियामा आयोजना गरिएको रातो मार्चपास भव्य रुपमा सम्पन्न भएको छ । मार्चपासपछिको सभालाई पार्टी पीविएम भीषण, केस तथा बाँके–बर्दिया इन्चार्ज संकुल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बर्दियाको रातो मार्चपासमा कतिपय युवाहरुले कम्ब्याट ड्रेस समेत प्रयोग गरेका थिए ।


त्यसैगरी ७ नंं प्रदेशले धनगढीमा मार्चपाससहित सभा सम्पन्न गरेको छ । सभालाई पार्टी पीविएम तथा ७ नं. प्रदेश सचिव अटल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । मार्चपाससहितको सभा भव्य रुपमा सम्पन्न भएको हाम्रा सहकर्मी धनन्जय अवस्थीले जनाएका छन् ।
त्यसैगरी ६ नं. प्रदेशको दैलेख र सुर्खेतमा पनि मार्चपाससहितको सभा र जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन गरेर जनयुद्ध दिवस भव्य रुपमा मनाएको समाचार छ ।


यता दाङ, नवलपरासी, कपिलवस्तु, नवलपुर लगायतका जिल्लामा पनि भव्य रुपमा रेडमार्चपास सम्पन्न गरिएको समाचार छ ।
त्यसैगरी १ नं. र २ नं. प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा जनयुद्ध दिवस मनाएको समाचार छ । थप विवरण भने आउन बाँकी छ ।