काठमाडौं । नेपाली कांग्रेसले सडकमा होस् या सदनमा कुनै पनि एजेण्डा उठाउन सकिरहेको छैन । के नेपाली कांग्रेस एजेण्डाविहीन छ ? यसले उठाउने एजेण्डा केही पनि छैनन् ? यो सर्वसाधण जनताको प्रश्न हो । भएको पनि छ यस्तै । नेपाली कांग्रेसका भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दल पनि एजेण्डाविहीन बनेका छन् ।
शुक्रवार सिंहदरवारको मूल गेट अगाडि विरोध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गर्यो । यो प्रदर्शन रोमाञ्चकारी भन्दा कम वैचारिक तथा कम कार्यक्रमिक रह्यो । बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडिबाट उडायो ।
तर नाराहरुले निर्मला पन्तको हत्याराको खोजी र डा. केसीको जीवन रक्षाको कुरालाई मात्र प्राथमिता दिए । भ्रष्टाचार नियन्त्रणको कुरा र नारा पनि उठाइएका थिए, तर देउवा स्वयम् वाइडबडी काण्डमा मुछिएकाले यो उनीहरुका लागि घाँडो साबित भएको छ ।
कांग्रेसले जनवर्गीय संगठनहरुको काँधमा राखेर उठाओस् वा आफैले बोकेर, नाराहरु जनताका मन मस्तिस्क छुने खालका छैनन् । कांग्रेसका नाराहरुले न त देशलाई संबोधन गर्छ, न त देशका जनतालाई ? बरु थप निराशा ल्याइदिन्छ । यसको अर्थ नेकपाको दुईतिहाईको सरकार निकै देश तथा जनप्रेमी छ भन्ने पनि होइन । तर कांग्रेसको हालत निकै खराब छ ।
पहिलो कुरा, यसले आफ्नो प्रजातान्त्रिक समाजवादको नारा भुलेको छ । यसले गर्दा उसलाई दलालको कोटीमा गिराएको छ । प्रजातान्त्रिक समाजवादको नारा देश र जनताका समस्याहरुसँग जोडिएका नाराहरु हुन् । वीपीको निधनपछि यसलाई हालको कांग्रेसले तिलाञ्जली दिएको छ ।
यो नारा बिर्सनु र छाड्नुका कारणले कांग्रेस कांग्रेसका वैचारिक तथा अग्रगामी नाराहरु स्वतः समाप्त भएका छन् । देश र जनताले अग्रगामी निकास खोज्ने, तर नेपाली कांग्रेसमा यो बुझाइ नहुने भएकाले यसका कामहरु तथा विरोधहरुमा प्रभावकारिता आएको पाइँदैन ।
कुरा उठायो र सडकमा आयो भन्नेले मात्र केही तात्विक फरक पार्दैन । के कुरा वा एजेण्डा उठायो र कुन प्रक्रियामा सडकमा आयो भन्ने कुरा निकै महत्वको हुन्छ । नेपालीहरु कुनै असफल शासनको निरन्तरता वा त्यही असफल शासनका दुईतीनवटा उत्तराधिकारी रहेको चाहँदैनन् । यो नेपाली कांग्रेसले बुझ्नुपर्छ ।
दोस्रो कुरा नेपाली कांग्रेसमा पुस्ता ग्याप छ । तर योसँगै जोडिएको कुरा के हो भने दोस्रो पुस्तामा पनि वैचारिक नेतृत्वको अभाव छ । गगन थापाहरु नेतृत्वको खोजी त गर्ने तर विचारको विकास गर्न नसकेका दोस्रो पुस्ता हुन् । विचारसँग यिनीहरुको त्यति चासो र लगाव पनि देखिदैन । बरु अलि बढि ‘क्यारिरिष्ट’ र महत्वाकांक्षी देखिन्छन् । सिंगो कांग्रेस विचारमा धमिरा लागेको पुरानो पार्टी देखिन्छ ।
अर्को महत्वपूर्ण कुरा, नेपालमा राजा संवैधानिक वा शक्तिशाली रहँदाका बखत नेपाली कांग्रेसले लिएको राष्ट्रियतासम्बन्धी अडान नेपालमा हाल गणतन्त्र आइसक्दा पनि त्यसको बारेमा बोलेको छैन ।
राजनीतिक परिस्थति परिवर्तन भइसकेको छ, राजसंस्था नै फ्याँकिएको छ पनि । तर नेपाली कांग्रेसले यसका बारेमा कुनै पनि धारणा प्रस्तुत गरेको छैन । राष्ट्रियताका बारेमा कांग्रेस अझै पनि मौन छ । नयाँ विचारको विकास भएको पाइँदैन ।
सत्ता सञ्चालनका नयाँ विधि र तरिकाहरु पनि नेपाली कांग्रेसका छैनन् । वीपीको आदर्शबाट च्यूत भइसकेको कांग्रेस अब घर न घाटको भइसकेको छ ।