काठमाडौं । नेपाली युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय टि–२० खेलमा अर्ध सतक प्रहार गर्ने कान्छो खेलाडी बनेका छन् । संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्ध बिहीबार दुबईमा भएको पहिलो टी–२० खेलमा ४६ बलमै अबिजित ५३ रन प्रहार गर्दै जोराले नयाँ कीर्तिमान हात पारेका हुन् ।
उनले १७ वर्ष एक सय तीन दिनको उमेरमा टी–२० खेलतर्फ अर्धसतक प्रहार गरेका हुन् । उनको यो प्रदर्शन कीर्तिमानको रूपमा दर्ज भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत पुष्टि गरेको छ ।
यसका साथै सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० तर्फ डेब्यू खेलमै अर्धसतक प्रहार गर्ने पनि पहिलो खेलाडी बनेका छन् । यसअघि यूएईविरुद्धको एक दिवसीय खेलको शृंखलामा अर्का नेपाली खेलाडी रोहित पौडेलले पनि एक दिवसीय र सबै खाले अन्तर्राष्ट्रिय खेलमा अर्धसतक प्रहार गर्ने कान्छो खेलाडीको कीर्तिमान कायम गरेका थिए । जोराको कीर्तिमानी प्रदर्शनका बाबजुद नेपाल यूएईविरुद्धको पहिलो टीट्वेन्टी खेलमा भने २१ रनले पराजित भएको छ ।