‘क्रान्तिको मूलआधार : नयाँ युवा, नयाँ जाँगर’

‘क्रान्तिको मूलआधार : नयाँ युवा, नयाँ जाँगर’

काठमाडौं । क्रान्तिकारी युवा लिग ३ नं. प्रदेशको कमिटीको वैठक भव्य रुपमा सम्पन्न भएको छ । वैठकले आगामी दिनका लागि संगठन विस्तार तथा संघर्षका ठोस कार्यक्रमहरु तय गरेको छ ।

संगठनले लिएका महत्वपूपर्ण निर्णयहरुमा सबैभन्दा बढी जोड संगठन निर्माणमा दिइएको छ । जस अनुसार प्रदेश नम्बर ३ अन्तर्गत् रहेका सबै जिल्लाहरुमा फागुन महिनाभर जिल्ला भेला र सम्मेलन गरिसक्ने निर्णय गरिएको छ । ‘प्रत्येक इकाइ, प्रत्येक गाउँ : क्रान्तिको झण्डा उठाउँ’ भन्ने नारा अन्तर्गत ३ नं. प्रदेशका गाउँगाउँमा संगठन निर्माण तथा विस्तार गरिने निर्णय गरिएको छ ।

यसैगरी, ‘क्रान्तिको मूल आधार : नयाँ युवा, नयाँ जाँगर’ नारा अन्तर्गत् नव निर्मित संगठनहरुलाई परिचालन गरिने छ । संगठन निर्माणलाई व्यापक बनाउन प्रत्येक जिल्लामा न्युनतम संख्या वा कोटा पनि तोकिएको बताइएको छ । संगठनलाई थप प्रभावकारी बनाउनका लागि स्वयम्सेवक दल तथा आवश्यक विभागहरु पनि निर्माण गरिएको बताइएको छ ।

वैठकले संघर्षसम्बन्धी महत्वपूर्ण निर्णयहरु पनि लिएको जनाइएको छ । जसअनुसार भ्रष्ट, दलाल, तस्कर, माफिया, कमिसनखोर तथा बिचौलियाका साथै जालीफटाहका विरुद्धमा जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षका कार्यक्रमहरु लैजाने निर्णय गरिएको बताइएको छ ।

वैठकले संघर्षका क्रममा वर्तमान दलाल सरकारले वाइडबडी विमान खरिदका क्रममा वायुसेवा निगमले गरेको घोटालालाई लिएर सुगतरत्न कंसाकारमाथि गरिएको कारवाहीको सिलसिलामा लगभग एक महिना हिरासतमा रही रिहा भएका सुरेश तामाङको संघर्षपूर्ण योगदानको कदर गरेको छ ।

यसै गरी फागुन १ लाई युवाहरुको ‘रातो मार्चपास’ को रुपमा मनाउने, सहीद दिवस तथा बलिदान दिवसहरुलाई भव्य रुपमा मनाउने निर्णय पनि गरिएको बताइएको छ । यसै गरी चैत्र २४ लाई ऐतिहासिक जनआन्दोलन दिवसका रुपमा मनाउने गरी पार्टीले लिएको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको बताइएको छ ।

वैठकका अध्यक्ष क. संकल्पको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य क. गौरवको प्रमुख आतिथ्यता, नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सेक्रेटरी क. सागर, सीसीएम् तथा क्रान्तिकारी युवा लिग केन्द्रीय संयोजक क. आकाश, सीसीएम् तथा ३ नं. प्रदेश युवा फ्य्राक्सन इञ्चार्ज क. वसन्तको विशेष उपस्थिति रहेको बताइएको छ ।