
काठमाडौं । धुुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । रंगशाला निर्माणको लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।
भरतपुर–१६ रहेको यो जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने भएको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।
रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ, साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं’ धुर्मुसले भने ।
रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।