ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाले विकास र समृद्धिको निकै ठूलाठूलन कुरा गर्दछ । नेपालमा रेल कुदाउने करा गर्दछन् । नेपालको पानी जहाज समुन्द्रमा चलाउने कुरा गर्दछन् । जनतालाई वृद्ध भत्ता, पेन्सन आदिकोव्यवस्था गर्ने कुुरा गर्दछन् आदि आदि । उनीहरूले नेपाललाई कहिले स्वीटजरल्याण्ड बनाइदिने, कहिले सिंगापुर बनाइदिने भनेर भाषण पनि गर्दछन् । तर उनीहरूले धनी र गरीब बीचको अन्तर कसरी समाप्त पार्ने ? वर्गविहीन र शोषणरहित समाजको निर्माण कसरी गर्ने त्यसबारेमा भने कहिल्यै योजना ल्याउँदैनन् । विकास निर्माण र कम्युनिस्टहरूको उद्देश्य बीचको अन्तर सम्बन्ध के छ ? त्यसबारे मार्क्सवादी दृष्टिकोण के हो ? यो विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

हार्दिक शुभकामना !

निश्चय नै मार्क्सवादले विकास निर्माणको विरोध गर्दैन । मानव जीवन सुखी समृद्ध हुनको लागि भौतिक विकास हुनै पर्दछ । अभावै अभावको बीचमा मानव जीवन सुखी र समृद्धि हुन सक्दैन । तर यो नै सबै चीज होइन । यो मानव जीवनको एउटा पक्ष मात्र हो । मानव समुदाय अस्तित्वमा आएदेखि नै जीवन निर्वाहको लागि र आफ्नो जीवनलाई बाँच्न सजिलो बनाउनका लागि सधैं उत्पादनमा भाग लिंदै आएको छ । त्यो क्रममा उसले उत्पादन प्रणालीको विकास गर्दै आएको छ । आदिम साम्यवादी समाजदेखि आजसम्मको पुँजीवादी, साम्राज्यवादी समाजसम्मको मानव समुदायको विकासलाई हेर्यौं भने मानिसहरू उत्पादन प्रणालीको विकासमा निरन्तर लागिरहेका छन् र त्यसको विकास गरिरहेका छन् ।

मार्क्स र एंगेल्सले औपचारिक रूपमा कम्युनिस्ट घोषणापत्र तयार पारी वैज्ञानिक समाजवादको सिद्धान्त तयार पारेको सन् १८४८ मा हो । त्यति बेला पुँजीवादको विकास भइसकेको थियो । त्यतिबेलाका कम्युनिस्टहरूको मुख्य नारा अहिलेको ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाको जस्तो सबैभन्दा विकसित अर्थात् शान्त रहेको पुँजीवादी व्यवस्था जस्तो बनाउनु पर्दछ भन्ने थिएन । मार्क्स–एंगेल्सको मुख्य नारा त वर्गविहीन र शोषणरहित समाजको निर्माण गर्ने थियो । त्यस्तो समाज निर्माण गर्न समाजको सबैभन्दा पीडित र सबैभन्दा क्रान्तिकारी वर्ग सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु थियो ।

त्यसैले कम्युनिस्ट घोषणा पत्रमा मार्क्स र एंगेल्सले भन्नुभयो, “संसारका मजदुरहरू एक होऊ । सर्वहारा वर्गसित आफ्नो सिक्रि (हतकडी) बाहेक गुमाउने वस्तु केही छैन, जित्नका लागि भने उनीहरूको अगाडि सम्पूर्ण विश्व छ ।” यसरी कम्युनिस्टहरूको मुख्य कुरा विद्यमान शोषक वर्गीय राज्य सत्तालाई ध्वस्त बनाएर सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नु हो । कम्युनिस्ट घोषणापत्रले संसारभरिका सर्वहारा वर्ग लगायत आम शोषित पीडित जनतालाई यही दिशा निर्देशन गरिरहेको छ ।

कम्युनिस्टहरू विकास विरोधी हुन् त ? होइन, कम्युनिस्टहरू विकासको पक्षमा हुन्छन् । विकासको पक्षमा मात्र होइन, उनीहरू विकासको अग्रणी हुन् । रुस र चीनमा कम्युनिस्टहरूको हातमा सत्ता आएपछि भएको विकास निर्माणको कामले त्यो कुरा पुष्टि गर्दछ । तर कम्युनिस्टहरूको त्योभन्दा महत्वपूर्ण लक्ष्य भनेको वर्गविहीन र शोषणविहीन समाजको निर्माण गर्नु हो । वर्गयुक्त समाजमा जति विकास भए पनि देश जति समृद्ध भए पनि त्यसको उपभोग मुठ्ठीभर शोषक वर्गले बढी गर्दछ ।

आम श्रमिक जनतालाई जहिले पनि गरिबी र अभावले सताइरहेको हुन्छ । यही २०७५ माघ ११ गते बिगेसोको वैचारिक, सांस्कृतिक कार्यक्रममा शम्भु राईले ‘झुपडीकी नारीलाई तरकारीमा हाल्ने नुन छैन, महलकी नारीलाई चाहे जति सुन छैन’ भनेर गीत गाए । वर्गीय समाजमा जति विकास भए पनि यो समस्या रहिरहन्छ ।

वर्गीय शोषण र उत्पीडनको अन्त्य गर्नु नै कम्युनिष्टहरूको मुख्य लक्ष्य हो । तर ओली–प्रचण्डहरूले यो वर्गीय उत्पीडनको अन्त्य कसरी गर्न सकिन्छ भन्ने विषयमा कुनै नीति कार्यक्रम तथा योजनाहरू ल्याउँदैनन् । उनीहरू खाली एकोहोरो विकास निर्माणको कुरामा मात्र गर्दछन् । जुन कुरा पुँजीवादीहरूले पनि गर्दछन् । मार्क्सभन्दा पहिले पनि शोषणविहीन समाजको कुरा आएको थियो । तर, त्यो विचार आदर्शको रूपमा आएको थियो, वैज्ञानिक भने थिएन । उनीहरूलाई काल्पनिक समाजवादी भनिन्छ ।

तर मार्क्स–एगेंल्सले समाजवादी समाजमा जाने बाटो प्रष्ट पार्नुभएको छ । उहाँहरूले प्रष्ट पार्नुभएको कुरा हो वैज्ञानिक समाजवादमा जानका लागि वर्गसंघर्षलाई समन्वय गर्ने होइन, त्यसलाई तीव्र पार्नु पर्दछ । निरन्तर रूपमा विकसित हुँदै आएको शोषक वर्गीय (पुँजीपति वर्ग, सामन्त वर्ग वा दुवै) राज्यसत्तालाई ध्वस्त पार्नु पर्दछ र त्यसको स्थानमा सर्वहारावर्गको नेतृत्वमा जनवादी सत्ता वा सर्वहारावर्गीय राज्यसत्ताको स्थापना गर्नुपर्दछ ।

त्यो नयाँ राज्यसत्ताले मात्र वैज्ञानिक समाजवादको स्थापना गर्न सक्दछ र त्यो अन्ततः साम्यवादी समाजमा विकास हुन्छ । नेपालको अहिलेको राज्यसत्ता भनेको नेपालको एकीकरण भएदेखि यताको शोषक वर्गीय राज्यसत्ता नै हो । त्यो शोषक वर्गीय राज्यसत्ता निरन्तर परिस्कृत र बलियो बन्दै आएको छ । २००७, २०४६, २०५२ को जनयुद्ध र २०६२|०६३ को जनआन्दोलनले त्यो राज्यसत्तालाई ध्वस्त बनाएर नयाँ राज्यसत्ता स्थापना गर्ने काम पूरा गर्न सकेनन् ।

ओली–प्रचण्डले नेतृत्व गरेको नेकपाको सरकार त्यही पुरानो शोषक वर्गीय राज्यसत्ता विशेषतः दलाल नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ताको सरकार हो । यस कारण यो सरकारले त्यही शोषक वर्गको स्वार्थको पक्षमा नै काम गर्दछ । त्यही काम गर्न उनीहरूले विकास निर्माण र समृद्धिका मात्र कुरा गर्दछन्, शोषणविहीन समाजको निर्माण गर्ने कुरा कतै गर्दैनन् ।

त्यसकारण उनीहरूको विकास निर्माणको र समृद्धिको कुरा तिनै शोषक वर्गको हितसँग जोडिएको छ । रुस र चीनमा क्रान्ति हुँदा रुस र चीनभन्दा धैरै विकास भएका बेलायत, फ्रान्स, जर्मनी, अमेरिका जस्ता देशहरू थिए । लेनिन, स्टालिन, माओले ती विकसित पुँजीवादी देश जस्तो बनाउँछु भनेर कतै भन्नु भएन । बरु उहाँहरूले ती विकसित पुँजीवादी देशहरूमा स्वतन्त्रको नाममा आम श्रमिक वर्गलाई कसरी शोषण गरिएको छ भन्ने कुराको नै उद्घाटन गर्नुभयो ।

लेनिनले त सबैभन्दा स्वतन्त्रता भएको मानिने स्वीट्जरल्याण्डमा समेत कसरी मजदुर वर्गमाथि शोषण हुन्छ र त्यहाँ मजदुरहरूको जीवन कस्तो छ भन्ने विषयको उद्घाटन गर्नु भयो । उहाँहरू (मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओ) ले विकसित पुँजीवादी देशहरूभन्दा धेरै सुन्दर समाजको निर्माण गर्ने योजना दिनुभयो र काम गर्नु भयो ।

तर ओली–प्रचण्डहरूले त खुलेआम अब देशलाई स्वीटजरल्याण्ड, सिंगापुर बनाउँछौ भन्दै हिंडिरहेका छन् । स्वीटजरल्याण्ड र सिंगापुर पुँजीवादी देश नै हो । त्यसैले उनीहरूले सार्वजनिक रूपमा नै पुँजीवादी देशजस्तो बनाउँछौं भनेर भनिरहेको अवस्थामा पनि तिनीहरूलाई कम्युनिस्ट देख्नु र तिनले नेतृत्व गरेको पार्टीलाई कम्युनिस्ट पार्टी हो भनेर भन्दै हिँड्ने मान्छेहरू पनि सही होइनन् । निश्चय नै त्यस्तो भन्ने मान्छेहरू दुई प्रकारका छन् । एकप्रकारका मान्छेहरू अज्ञानताका कारणले नबुझेर र नजानेर जो कम्युनिस्ट होइन, त्यसलाई कम्युनिस्ट र त्यसको सरकारलाई कम्युनिस्टको सरकार भनिरहेका छन् ।

उनीहरूलाई सम्झाउने बुझाउने गर्नु पर्दछ । तर अर्काथरी मान्छेहरू यस्ता छन्, जसलाई यी कम्युनिस्ट होइन भन्ने कुरा थाह भइभई पनि उनीहरूले जो कम्युनिस्ट होइन, त्यसलाई कम्युनिस्ट हो, कम्युनिस्टका महान् नेता हुन् भनिरहेका छन् । त्यसो भन्नुमा उनीहरूको निश्चित व्यक्तिगत स्वार्थ छ । तिनले शोषक वर्गको दलाली गर्दछन् । वास्तवमा तिनीहरू शोषक वर्गकै करिन्दा हुन् । त्यसकारण त्यस्ता व्यक्तिहरूको भण्डाफोर र विरोध गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर