ओलीको ‘डाभोसको माम’ र दाहालको ‘भेनेजुएली बम’

ओलीको ‘डाभोसको माम’ र दाहालको ‘भेनेजुएली बम’

काठमाडौं । विश्वका अति विशिष्ट संभ्रान्तहरुको प्रत्येक वर्ष हुने डाभोस सम्मेलनमा नेपालका प्रम ओलीले ‘मागेको माम’ नपाक्दै सत्ताधारी सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ‘भेनेजुएली बम’ प्रहार गरिदिएका छन् । यसले सत्ताधारी पार्टी र उसको दुईतिहाई बहुमतको सरकारमा अन्यौलता सिर्जना गरेको छ । बाहिर त्यति नआए पनि भित्रभित्र भने भुसको आगो झैं यो विवाद सल्किएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालको विज्ञप्ति आधिकारिक हुने र सो अनुरुप सरकारले यही नीतिलाई अंगीकार गर्नुपर्ने बताइरहेका छन् । तर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले यसलाई जस्ताको तस्तै सरकारले अघि बढाउन नसक्ने र भाषा फरक पर्ने र पारिने कुरामा जोड दिएका छन् । नेपालले हालसम्म अंगीकार गरिरहेको असंलग्न परराष्ट्र नीतिको प्रयोगलाई निरन्तरता दिने आशयका साथ दाहालको विज्ञप्ति आएको छ । यो नीतिअनुसार कुनै पनि एक सार्वभौम राष्ट्रले अर्को सार्वभौम राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्न पाउँदैन र गरेका त्यसको विरोध गरिन्छ । अहस्तक्षेपको नीति नै असंलग्न परराष्ट्र नीति हो ।

तर नेपालमा ओली सरकार आएदेखि अन्तर्राष्ट्रिय संघसंस्थाका विवादित कार्यक्रमहरुमा भाग लिने, होली वाइनले शरीर शेचन गर्ने, क्रिष्चियनको ‘ब्याप्टिज्म’ पुनर्मन्ममा विश्वास गरी नाङ्गै भएर नुहाई होली वाइन शीरबाट खन्याउने, सिंहदरवारको प्रधानमन्त्रीको कार्यालय नै होटेल सोल्टीमा सारी त्यहीबाट सरकारी कामकाज चलाउने सम्मका बेथितिहरु गरिरहेको छ । यी सबै कार्यहरु नेपालको असंलग्न परराष्ट्र नीति विरुद्धमा छन् ।

प्रम ओली स्विट्जरल्याण्डको ड्याभोसमा हरेक वर्ष हुने अति धनाढ्य तथा संभ्रान्तहरुको  आर्थिक सम्मेलनमा भाग लिई नेपालमा लगानी गर्न हारगुहार गरेर स्वदेश नफर्कदै सत्ताधारी पार्टीका अध्यक्ष दाहालले भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा विज्ञप्ति जारी गरेका छन् । ड्याभोस सम्मेलन आफैमा एक आर्थिक फोरमको रुपमा परिचित छ ।

ओली ड्याभोसमा सहभागी भएर चीन घेर्ने पश्चिमाहरुको रणनीतिमा मञ्जुर भएर आएको कुरा चर्चामा आउन थाल्ने बित्तिकै यता दाहालले भेनेजुएलमाथि अमेरिकी हस्तक्षेपको कडा निन्दा गर्न पुगेका छन् । बाहिर जे होला, त्यो भिन्दै कुरा हो, तर घरेलु रुपमा दाहालको विज्ञप्तिले ओलीको ड्याभोस सहभागितालाई जरैदेखि उडाइदिएको छ ।