नेपालको ब्याटिङमा आएन सुधार, यूएइ सामू ११४ रनको झिनो लक्ष्य प्रस्तुत

प्रकाशित मिति : २०७५ माघ ११

काठमाडौं । यूएइ विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले कमजोर ब्याटिङ प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३३ दशमलव ५ ओभरको खेल खेल्दा सबै विकेट गुमाई ११३ रन मात्र बनायो ।

नेपालका लागि सर्वाधिक ३० रनको योगदान सोमपाल कामीले दिए भने कप्तान पारस खड्काले २०, आरिफ शेखले २४ र सन्दीप लामिछानेले १५ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेन ।

विनोद भण्डारीले ५, डेब्यू व्याट्सम्यान पवन सर्राफले ४, करन केसीले ३, तथा ललित राजवंशी २ रनमा आउट हुदाँ नेपालका नियमित ओपनर ज्ञानेन्द्र मल्ल, त्यस्तै दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्य रनमै आउट भए ।

नेपालको ब्याटिङ क्रमलाई ध्वस्त पार्न यूएइका मोहम्मद नाभिदले ९ ओभर बलिङ गर्दा २ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिए । त्यस्तै अमिर हायातले ३ तथा इमरान हैदरले २ विकेट हात पारे । नेपालले यूएइमा ३ ओडिआई र ३ टि–ट्वान्टी क्रिकेट खेल्नेछ ।