प्रधानमन्त्री र मन्त्रीहरु अरबौंको भ्रष्टाचारमा लिप्त छन् : डा. के.सी.

डा. गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्ध षड्यन्त्र : योगेश भट्टराई

प्रकाशित मिति : २०७५ पुस २६

काठमाडौं । देशमा सुशासन कायम गर्ने भन्दै दुईतिहाई बहुमत प्राप्त गरेर निर्माण भएको नेकपाको ओली सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु सबै भ्रष्टाचारमा लिप्त भएको कुरा पूर्वी नेपालको इलाममा आफ्नो सोह्रौं अनसन सुरु गरेका डा. गोविन्द केसीले बताएका छन् ।

उनले कर्मचारीहरुलाई बलीको बोका बनाएर राजनीतिज्ञहरुलाई क्लिन चिट दिने अभ्यास गरिरहेको, देशमा हत्या र बलात्कारजस्ता अपराधहरु बढिरहेको, गृह मंत्रालय अपराधीलाई न्यायको कठघरामा ल्याउनुको सट्टा फर्जी अपराधी बनाउँदै निर्दोषहरुलाई फसाउनमा अभ्यस्त रहेको, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरु हाबी हुँदै गएको र जनताका छोराछोरीहरु सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित भएको बताएका छन् ।

मुट्ठीभर माफियाहरुको स्वार्थअनुसार कानुन बनिरहेको, बारम्बार संझौता गरेका प्रधानमन्त्री समेत अहिले निहित स्वार्थका लागि ती माफियाहरुसँग हातेमालो गर्दै हिंडेको केसीले बताएका छन् । केसीले सरकार र माफिया मिलेर ‘वर्षेनी हजारौं विद्यार्थी बाहिर गएर पढेकाले बाहिर जाने पैसा रोक्न धमाधम निजी मेडिकल कलेज खोल्नुपर्ने’ दाबी गर्दै सरकारी मेडिकल कलेजहरु देशभर विस्तार गर्न ध्यान नदिएको बताएका छन् ।

उता डा. केसीले अनसन थाले लगत्तै नेकपाका सांसद योगेश भट्टराईले डा. केसीको अनसन दुईतिहाई बहुमतप्राप्त सरकारविरुद्ध ‘षड्यन्त्र’ भनेर टिप्पणी गर्न थालेका छन् । ओलीको अरिंगाल बनेर खनिने सूत्रअनुसार योगेश भट्टराई एक्लै भए बारुलो बनेर खनिन आँट देखाएको जनस्तरमा टिप्पणी हुन थालेको छ ।

डा. केसी इलाममा अनसन बसेपछि नेकपाका पूर्वी बेल्टका र त्यसमा पनि इलाम वरपरका नेकपाका नेताहरुको ओंठमुख कलेजी पर्नेगरी सुकेको बताइएको छ । योगेश भट्टराई त यतिसम्म पनि अत्तालिएका छन् कि डा. केसीको अनसनको दोस्रो दिन बिहीबार एक वक्तव्य सार्वजनिक गर्दै उक्त अनसनलाई शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्ध षड्यन्त्रका रूपमा व्याख्या गर्न थालेका छन् ।

स्मरण रहोस् ओली सरकारले डा. केसीसँग गरेका संझौताहरु तोडमरोड गरी मेडिकल माफियाहरुको पक्षमा विधेयकहरु निर्माण र पेश गरिहेको छ ।