हडतालमा उत्रिए चिकित्सक कर्मचारी

प्रकाशित मिति : २०७५ पुस २७

काठमाडौं । निजामती कर्मचारीको समायोजनका कुरासँगै गरिएको हडतालले केही विश्राम पाएका बेला सरकारी चिकित्सक कर्मचारीहरु फेरि हडतालमा उत्रिएका छन् । सरकारले निजामती तथा चिकित्सक कर्मचारीहरुका बीचमा विभेद गरेको उनीहरुको आरोप छ ।

उनीहरुका अनुसार निजामती कर्मचारीहरुलाई वृत्ति विकासको व्यवस्था गरिदिने तर चिकित्सक कर्मचारीहरुलाई न त ग्रेड बढुवा न त सेवा सुविधा नै उपलब्ध गराउने गरिएको छ । यसबाट निजामती तथा चिकित्सक कर्मचारी बीचमा सौतेलो व्यवहार भएको बताइएको छ ।

यो विभेदलाई समान बनाउन ओली सरकारले निजामती कर्मचारीसरह ग्रेड तथा सेवासुविधाको व्यवस्था गरोस् भन्ने पनि उनीहरुको माग रहेको छ । यसका लागि देश भरका चिकित्सक कर्मचारीहरुले इमर्जेन्सी बाहेक दिनको एक घण्टा अन्य सेवा ठप्प पार्ने गरेका छन् ।

उनीहरुको भनाइअनुसार सरकारसँग माग गरेर मात्र हुँदैन, यसलाई सुनाउन र बुझाउनका लागि हडताल नै गर्नुपर्छ । सरकारले आँखा पनि नदेख्ने र कान पनि नसुन्ने गरिरहेकाले यस्तोखालको विधि र प्रक्रियाहरु अपनाउनु परेको चिकित्सकहरुको भनाइ छ ।

सरकारले भने अहिले कसैलाई पनि थप सेवा सुविधा नदिइएको र निजामती कर्मचारीमा केवल तह मिलान मात्र गरिएको बताइएको छ ।

संघीय संरचनाअनुसार कर्मचारीतन्त्रमा कस्तोखाले सोच र संरचना बनाउनु पर्छ भन्ने बारेमा कुनै पनि अग्रिम तयारी नभएकाले यी समस्याहरु ‘क्रोनिक’ बनेर जान थालेको विशलेषकहरु बताउन थालेका छन् ।