इलाममा बहस : ‘केपी भर्सेस केसी’

काठमाडौं । डा. गोविन्द केसीको अनसनको डढेलोले पूर्वी नेपालका नेकपाका नेताहरु केपी ओली, सुवास नेम्वाङसहितको राजनीति स्वाहा हुने भएको छ । प्रत्येक प्रदेशहरुमा एकएकवटा मेडिकल कलेजको मागसहित डा. केसी इलाममा पुगेर अनसन बसेपछि सत्ताधारी दल नेकपामा खैलाबैला र छटपटी सुरु भएको छ ।

नेकपाका नेताहरु काठमाडौंमा बसेर माफियाहरुसँग मिलेर शिक्षा, स्वास्थ्य, वनजंगल तथा सीमाना बेचेर खाने काम गरिरहेकाले आफू जीवनको पर्वाह नगरी इलाममा आमरण अनसन बस्न आएको भनी केसीले स्थानीयहरुका माझमा कुरा चुहाएपछि नेकपाका नेताहरुको स्थानीय साथ र समर्थनमा डढेलो लागेको छ । केसीको जायज मागहरुसहितको अनसन अब नेकपाका गफाडी नेताहरुका लागि चैतमासको डढेलो बन्न पुगेको छ ।

नेकपाका युवा नेता योगेश भट्टराई आफ्नो बचाउका लागि केसीको अनसन ओली सरकारका विरुद्धको षडयन्त्र भएको वक्तव्यबाजीमा उत्रिएका छन् । तर उनकै क्षेत्रका जनताहरुले ‘कहाँको केसीको जीवनमरणको संघर्ष र कहाँको योगेश भट्टराइहरुको काठमाडौंका आलिशान महलमा बसेर दिइएको गफ’ भनेर खिस्सी उडाउन थालेपछि उनको वक्तव्यबाजी हावामा बिलाउन पुगेको छ ।

स्थानीय जनताका अनुसार केसीको इलामेली अनसनले सुवास नेम्वाङको स्थानीय समर्थनमा सबैभन्दा ठूलो असर पुर्याउने छ । नेम्वाङ यसपछि धूलोचटाइमा पर्ने स्थानीयहरुले बताउन थालेका छन् । प्रम केपी ओलीको बाह्रतले टावर पनि केसीको अनसनको डढेलोमा पर्ने भएको छ । स्थानीय जनताहरु भन्छन्– ‘केसीको मेडिकल कलेजले जनताका छोराछोरीको भविष्य उज्यालो पार्छ, केपीको टावरले दलाल तथा मुनाफाखोरहरुको राजलाई पूर्वी नेपालमा विस्तार गर्छ ।’

पूर्वी नेपालमा रहेका केही राजनीतिक विश्लेषकहरु भन्छन्– ‘राजनीतिक वातावरण त अब केपी भर्सेस केसी पो हुन थालेको छ ।’ डा. केसीले प्रम केपी शर्मा ओली उनको डरलाग्दो स्वास्थ्य अवस्थाका कारण शारीरिक तथा मानसिक रुपमा स्वस्थ नरहेको गम्भीर संकेत पनि सार्वजनिक रुपमै गरेका छन् ।