सुरेश तामाङलाई आइतवार सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाशित मिति : २०७५ पुस २६

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कलोमासो दलेको अभियोगमा गिरफ्तार गरी हालसम्म एकाघरका परिवरलाईसमेत् जानकारी नगराइएका र भेटघाटसमेत गर्न नदिइएका क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङलाई आइतवार सशरीर सर्वोच्च अदालतमा उपस्थित गराउन सर्वोच्चद्वारा आदेश दिइएको छ ।

सुरेश तामाङको जीवन संगिनी निर्मला तामाङद्वारा बुधवार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि विहीवार ११.० बजे सर्वोच्चमा १३ जना न्यायाधीशहरुद्वारा संयुक्त रुपमा गरिएको बहसपछि निज तामाङलाई सशरीर सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई सर्वोच्च अदालतद्वारा आदेश जारी गरिएको हो ।

तामाङको बन्दीप्रत्यक्षीकरण रिटका पक्षमा लगातार १३ जना वरिष्ठ अधिवक्ता तथा अधिवक्तहरुले लगातार बहस गरेपछि सर्वोच्च आदालतमा आश्चर्यजनक कौतुहलता छाएको थियो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता देवकुमार मोक्तान, अधिवक्ता फणिन्द्र कार्की, अधिवक्ता पेमा लामा, अधिवक्ता भेषराज पाण्डे, अधिवक्ता चन्द्रप्रसाद पोखरेल, अधिवक्ता रामबहादुर खड्का, अधिवक्ता रामकुमार माझी, अधिवक्ता भीमबहादुर गुरुङ, अधिवक्ता डिल्लीप्रसाद न्यौपाने र अधिवक्ता मनोहर लामिछानेले बहस गर्दा सर्वोच्चको बहस हेर्न र सुन्न लायकको बनेको थियो ।

बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा सुरेश तामाङलाई आइतवार उनकै घरमा बिहान ११ बजे खानाखाई बाहिर निस्किएको बेलामा सीआईबी प्रहरीको एक हुलले लछारपछार गरी गालीगलौज गर्दै अपमानित ढंगले प्रहरी भ्यानमा राखी लगेको स्थानीय जनताले प्रत्यक्ष देखेको कुरा उल्लेख गरिएको छ ।

रिटमा उल्लेख भएअनुसार कुरा बुझ्दै र खोजी गर्दै जाँदा तामाङलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको र भेट्न दिन अनुरोध गर्दा कोहीकसैलाई पनि भेट गर्न नदिनुभन्ने माथिको आदेश भएको जानकारी दिई भेट गर्न समेत् दिइएको थिएन र छैन ।