‘म निर्दोष छु हजुर !’ : हरुवा गोरुको छेरुवा दाउँ

त्यसो भए ‘वाइडबडी खरिदमा घोटाला भएको भए राजनीतिबाट सन्यास लिन्छु’ भन्ने रवीन्द्र को रहेछ ?

प्रकाशित मिति : २०७५ पुस २४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको कुरा बताउँदै हिंड्न थालेपछि उनी विना हैसियत र विना क्षमताका बुद्धुमा गनिन थालेका छन् । एकताका एमालेभित्रका युवानेता भनेर निकै चालिएका उनी कंसाकारको ‘मूर्गा’ यही हैसियतका कारणले भएको देखिन आएको छ ।

उनी कहाँसम्मका पंगु र नालायक भएका छन् भने जनसाधरणका नाङ्गा आँखाले देखेको र उनकै निर्देशनमा भएको वाइडबडी खरीद भ्रटाचार प्रकरणमा उनी आफै जवाफदेही हुनुपर्ने संसद र त्यही संसदले निर्माण गरेको संसदीय उपसमितिलाई अनुमानका भरमा आफूमाथि अनियमितताको आरोप लगाएको बताइरहेका छन् ।

आफ्नो कुनै पनि संलग्नतालाई अस्वीकार गर्ने मन्त्री अधिकारीले सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी आफैले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकम निकासा गरिदिएको स्वीकार गरेका छन् । त्यसो भए कसको अनुमतिमा कंसाकारले वाइडबडी विमान खरिद गर्ने सम्झौता गरे त ? कंसाकारको स्वकीय सचिवको हैसियतले यो कुरा बोल्न त सुहाउला नै तर रवीन्द्र अधिकारी त मन्त्री हुन् । रुञ्चे र अनैतिक कभर बनाएर उनको अनुहारमा पोतिएको भ्रष्टाचारको कालो मोसो कुनै पनि जुनीमा पखालिने छैन । उनले इतिहास पढून् ।

उनी सुरुमा मन्त्री भएदेखि गरेको काम भनेकै वाइड बडी खरिद भ्रष्टाचारकको काम हो । अरु के गरे र उनले ? योभन्दा बढी कार्यालयमा उपस्थित भएर उपस्थितिको हस्ताक्षर गरेका होलान् कार्यकक्षको पुस्तिकामा । एकपटक देखाएको भनेको ‘वाइड बडी जहाज खरिदमा कुनै पनि भ्रष्टाचार भएको छैन, भएको भए राजनीतिबाट सन्यास लिन्छु’ भनेका थिए । त्यो जिम्मा लिन्छु भन्ने पर्यटनमन्त्री रवीन्द्र चाहीं को हो ?

सार्वजनिक लेखा समितिको उपसमितिले सत्यतथ्य नै खोज नगरी भ्रष्टाचारी भनेछ त मन्त्री अधिकारीलाई ? कत्रो पूर्वाग्रह रहेछ ? यस्तो छ हरुवा गोरुको छेरुवा दाउँ !

संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन पेश गरेको छ । जो यथार्थ पनि हो । यसमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी बनाइएको छ ।