भ्रष्टाचारीविरुद्ध अभियान सुरुभयो, निरन्तर अघि बढ्दै छ : दिनेश शर्मा ‘सागर’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेशका सेक्रेटरी क. दिनेश शर्मा ‘सागर’ले भ्रष्टाचारीविरुद्धको कारबाही अभियान सुरु गरिएको र यो निरन्तर अघि बढिरहने बताएका छन् । अनुसन्धानका लागि भनेर आफ्नै घर थानकोट पानीघाटस्थित घरबाटै गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा थुनामा राखिएका सुरेश तामाङको शिघ्र रिहाइका लागि नेकपा (क्रान्किारी माओवादी) ३ नम्बर प्रदेशद्वारा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्ने क्रममा शर्माले उक्त कुरा बताएका हुन् । वाइड बडी विमान खरिद प्रकरणमा अर्बौको घोटाला प्रकरणलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्बद्ध क्रान्तिकारी युवा लिगले नेपाल वायु सेवा निगमका महाप्रवन्धक तथा भ्रष्टाचार प्रकरणका मुख्य योजनाकार सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेपछि प्रहरीले क्रान्तिकारी युवा लिगका सचिवाय सदस्य तामाङलाई उनकै घरबाट गिरफ्तार गरेको थियो ।

विरोध र्यालीलाई संबोधन गर्दै मुख्य वक्ता दिनेश शर्माले वर्तमान सरकार भ्रष्ट, दलाल, तस्कर, माफिया तथा बिचौलियाहरुको संरक्षक तथा अन्नदाता भएको भन्दै यसका विरुद्धमा सुशासन, समानता र जनपक्षीय शासन व्यवस्था स्थापनाका लागि फेरि एक ऐतिहासिक संघर्षमा उत्रनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको कुरामा जोड दिएका थिए । उनले अधिकार मागेर वा थापेर नपाइने भएकाले लडेर लिनुपर्ने कुरामा जोड दिंदै राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानका साथै जनताको जनजीविकाका लागि आमजनता फेरि एकजुट हुनु पर्ने आवश्यकता भएको कुरामा जोड दिएका थिए । शर्माले वर्तमान सरकार वामपन्थीका नाममा दलाल, तस्कर, विचौलिया, माफिया तथा भ्रष्टाचारीहरु जम्मा भएर जनतामाथि भ्रम छरी देश र जनतालाई शोषण र दोहन गरिरहेको कुरासमेत् ख्ुलस्त गरेका थिए ।

विरोध र्यालीलाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति तथा काठमाडौं जिल्ला सेक्रेटरी क. सरुले निर्वाचित सरकारको आवरणमा भ्रष्ट, सुनतस्कर तथा माफियाहरुले जनतालाई भ्रममा पारिरहेको, सरकारी उच्च ओहदामा रहेका बहालवाला मन्त्री तथा सचिवहरु खुलेआम भ्रष्टाचारमा संलग्न रहेको अवस्थामा संघर्षको विकल्प नरहेको कुरामा जोड दिएकी थिइन् । सरुले जनताका छोराछारीहरु यो देशमा भविष्य नदेखेर खाडी मुलुकहरुमा जीवनमरणको संघर्ष गरिरहेका बेला खर्बौको भ्रष्टाचार गरेर भ्रष्टाचारीहरुले सुरक्षाकर्मीहरुको घेराभित्र टाउको लुकाउने दुस्प्रयत्न गरिरहेका बताइन् । उनको जोड थियो– त्यस्ता अनैतिक, जनविरोधी देशलाई खोक्रो पार्ने धमिराहरुलाई कारवाही गर्ने देशका युवाहरुलाई सुरक्षाकर्मी भन्नेहरुले साथ दिने कि उल्टै धरपकड गर्ने र थुनामा राख्ने ? उनले थप जोड दिएर भनिन्– आउनुहोस् सबै मिलेर भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गरौं ।

र्यालीलाई संबोधन गर्दै (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज हरिकृष्ण गजुरेलले सुरेश तामाङलाई उनकै घरबाट समातेर प्रहरीले नागरिक अधिकारको ठाडै उल्लंघन गरेको बताउँदै देश दलाल र भ्रष्टहरुले सिध्याउँदै गर्दा प्रहरी त्यसको साधक हुन नहुने कुरामा जोड दिएका थिए । यदि प्रहरी ती भ्रष्टहरुको रक्षक र जनताका भक्षक हुने हो भने आफूहरु जीवनमरणका संघर्षमा उत्रने र भ्रष्टाचारीहरुलाई ठेगान लगाएर छोडिने बताएका थिए । अधिकार खोसेर आउने कुरा हो भन्दै गजुरेलले भ्रष्टाचार विरोधी यो अभियानले देशव्यापी आकार ग्रहण गर्ने कुरामा जोड दिए । यदि देश र जनताका लागि प्रहरी उभिएका छन् भने उनीहरुले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्धको यो अभियानमा उनीहरुले क्रान्तिकारीहरुसँग हातेमालो गर्न र व्यवधान सिर्जना नगर्न समेत् अपिल गरेका थिए ।

र्यालीलाई सम्बोधन गर्दै भक्तपुर जिल्लाका जिल्ला इञ्चार्ज भरत बुर्जामगरले यो देश भ्रष्ट र माफियाहरुको चंगुलबाट मुक्त गर्ने हो भने न्यायप्रेमी जनससमुदाय एक ठाउँमा आउनैपर्ने र भ्रष्ट तथा भ्रष्टाचारी विरुद्ध संघर्षको उठान गर्नैपर्ने कुरामा अवस्था सिर्जना भएको कुरामा जोड दिएका थिए । उनले यो देश फिजीकरण, भुटानीकरणहुँदै सिक्किमीकरण हुन लागेकाले राष्ट्रिय स्वाधीनताका लागि पनि नेपाली स्वाभिमानी जनताहरु एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए । यी सबै समस्याको समाधानका लागि आमूल परिवर्तनकारी संघर्षको विकल्प नभएको कुरामा पनि उनको जोड रहेको थियो ।

कार्यक्रमका सञ्चालक काठमाडौं जिल्ला इञ्चार्ज क. सुरेशले भ्रष्ट र भ्रष्टाचारीविरुद्धको अभियान सुरुभएको बताउँदै क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङलाई प्रहरीले थानकोटस्थित तामाङकै घरबाट गिरफ्तार गरेको बताएका थिए । भ्रष्टाचारीहरुलाई एकपछि अर्को गरी कालोमासो दल्दै र कार्वाही गर्दै जाने अभियानमा आफूहरु रहेको र कुनै पनि कुरा लुकाएर नगर्ने र घोषणा गरेरै गरिने कुरामा जोड दिए । उनले आफूहरु अब भ्रष्ट मन्त्री रविन्द्र अधिकारी लगायताकाविरुद्ध कालो झण्डा प्रदर्शनका साथै कालो मोसो दलिने कुरा पनि बताए । सुरेशले थपे– हामी नागरिक युवाहरु विना बर्दीका सिपाहीहरु हौं भने प्रहरीहरु बदीधारी नागरिक हुन्, उनीहरुले भ्रष्ट र भ्रष्टाचारीहरुमाथि कारबाही गर्न हिच्किचाउँछन भने आफू विना बर्दीका प्रहरीहरुले ती भ्रष्टाचारीरुलाई कारबाही गरेरै छाड्ने कुरामा जोड दिएका थिए ।

विरोध र्याली रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएर शहीदगेट, न्युरोडहुँदै इन्द्रचोकमा गएर कोण सभामा परिणत भएको थियो । र्यालीमा बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई– कारबाही गर, कमरेड सुरेश तामाङलाई– अविलम्ब रिहाई गर, नेकपा (क्रान्तिकारी माओवादी)– जिन्दावाद !, क्रान्तिकारी युवा लिग– जिन्दावाद ! भ्रष्ट सरकार– राजीनामा दे ! भ्रष्टाचारीलाई– कारबाही गरौं ! भारतीय विस्तारवाद– मूर्दावाद ! आदि नाराहरु लगाइएका थिए ।

विरोध र्यालीको कोणसभामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिवालयका सदस्य तथा ३ नम्बर प्रदेशका संयोजक पवनमान श्रेष्ठको पनि विशेष उपस्थिति थियो ।