रोकिएन सुन तस्करी, ४ किलो सुनसहित ३ जना पक्राउ

रोकिएन सुन तस्करी, ४ किलो सुनसहित ३ जना पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–१, गजुरी बजारबाट ४ किलो अवैध सुनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ का सुरेन्द्र तामाङ र विकास तामाङ त्यसै गरी रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ का संजित वाइवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार मोटरसाइकलमा रहेका उनीहरुलाई विशेष सुराकिको आधारमा पक्राउ गरिएको हो । प्रदेश नं.–३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले सुन पक्राउ गरेको गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए ।

ढुङगेलले भने, ‘सुनको अवैध कारोवारको सूचना पाएपछि अनुसन्धान गर्दै जाँदा बिहीबार राति पौने १० बजे बा ८७ प ७७३१ र प्रदेश ३(०२(००३ प २५४० नम्बरको मोटरसाइकलमा सवार ३ जना पक्राउ परेका हुन् ।’

पक्राउ परेकाको साथबाट ४ थान सीमकार्डसहितको मोबाइल पनि बरामद गरिएको छ । बरामद गरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको छ ।