
रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) वेथान चौकीमा आक्रमण गर्दा जीवन बलिदान गर्ने महान सहिदहरुको सम्झनामा वेथान वीरता स्मृति दिवस मनाएको छ । क्रान्तिकारी माओवादी रामेछापको आयोजनामा बेथानको पानीघाटमा आयोजना २२ औं बेथान वीरता स्मृति दिवस मनाएको हो । काजीबाबु खड्का अध्यक्षता र लाङ्घाली मगरले सञ्चालन गरेको कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य दिनेश शर्मा, केसद्वय गणेश खड्गी, फुर्नाम्गेल मोक्तान, भरत बुर्जा, सहिद तिर्थ गौतमकी छोरी वेली गौतमलगायतले सम्बोधन गरेका थिए ।

२०५३ साल पुस १९ गते राती तत्कालीन नेकपा (माओवादी), पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथानमा छापामार दस्ताबाट भएको सशस्त्र फौजी कारबाहीको क्रममा पूर्वाञ्चल उप–क्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर तीर्थ गौतम, छापामार सदस्य दीलमाया योञ्जन र फत्तबहादुर मगर (स्माली)ले दुश्मनविरुद्ध लड्दा–लड्दै सहादत प्राप्त गरेका थिए । सोही सम्झनामा क्रान्तिकारी माओवादीले प्रत्येक वर्ष वेथान वीरता स्मृति दिवस मनाउँदै आएको छ । त्यसबेला ‘योजनाबद्ध ढंगले छापामार इलाका निर्माण गरौँ’ भन्ने मूल नारासहित छापामार इलाकाको निर्माण गर्ने, युद्धसामाग्री कब्जा गर्ने र दुश्मनको शक्ति छिन्नभिन्न गर्ने र, छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्ने उद्देश्यसहितको योजनाअन्तर्गत बेथान चौकीमा आक्रमण गरिएको थियो ।

































