६० हजार विदेशी पर्यटकले भ्रमण गरे मुस्ताङ

६० हजार विदेशी पर्यटकले भ्रमण गरे मुस्ताङ

बेनी । हिमाल पारीको जिल्ला मुस्ताङलाई सन् २०१८ मा करिब ६० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम स्थित इलाका संरक्षण कार्यालयको अनुसार विदेशी पर्यटक आगमनलाई हेर्दा यो ०१७ को तुलनामा १२ प्रतिशतले वृद्धि भएको हो ।

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल भएकाले पनि यहाँ पर्यटकको निकै राम्रो उपस्थिति देखिन्छ । मुस्ताङ भ्रमणमा आउने पर्यटक सबैभन्दा बढी भारतीय रहेका छन् । त्यसपछि भने जर्मन र फ्रान्सका पर्यटक छन् ।
२०१८ मा ५९ हजार आठ सय ३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । जसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या ३३ हजार एक सय ५९ छ । जर्मनीका तीन हजार दुई सय १० र फ्रान्सका तीन हजार ८९ छन् । सन् २०१७ मा ५२ हजार चार सय ७५ विदेशी भ्रमणका आएकामध्ये २४ हजार आठ सय आठ भारतीय, तीन हजार एक सय २३ फ्रान्सेली र दुई हजार ६ सय ३९ जर्मनी थिए ।

२०१६ मा ३९ हजार १७ जनाले मुस्ताङ भ्रमण गरे । प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसम लगायतले पर्यटक आगमन बढेको दाहालले बताए । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्यांक संकलन गर्दै आएको छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदर कुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणहरु रहेका छन् ।

सञ्चार माध्यम, चलचित्र र म्यूजिक भिडियोमार्फत् मुस्ताङको प्राकृतिक सौन्दर्यको प्रचार प्रसार भएकाले पर्यटकलाई आकर्षित बनाएको छ । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो । मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, मुस्ताङी दरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा गरी करिब तीन सय होटल तथा लज सञ्चालनमा छन् ।

जोमसोम नजिकैको ठिनी गाउँमा थकाली घरबास (होमस्टे) सञ्चालन भएको छ । अहिले बिदा, चाडपर्व र विशेष अवसर पारेर मुस्ताङ भ्रमणमा जाने स्वदेशी पर्यटकको चाप पनि बढेको छ । बेनी–जोमसोम सडकमा स्थानीय यातायात व्यवसायीको एकाधिकार तोडिएपछि अहिले सडक र यातायात सुविधा सहज भएको छ । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो ।