डिपिएल सिजन–३ को अक्सन शनिबार

डिपिएल सिजन–३ को अक्सन शनिबार

काठमाडौं । धनगढी क्रिकेट एकेडेमीको आयोजना यहि माघ २६ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल) सिजन–३ क्रिकेट प्रतियोगिताको अक्सनका लागि २ सय ५ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

फागुनको ११ गतेसम्म चल्ने प्रतियोगिताको अक्सन शनिबार राजधानीमा हुँदैछ । अक्सनमा प्रत्येक खेलाडीको मूल्य न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म तोकिएको छ । सो प्रतियोगितमा प्रत्येक टोलीले १५ जना खेलाडी अनुबन्धित गर्नुपर्नेछ र त्यसभित्र दुई विदेशी र एक ट्यालेन्ट हन्टबाट लिएका खेलाडीलाई अनुबन्धित गर्नुपर्नेछ ।

प्रतियोगितामा कुल १९ खेल हुनेछन् । ट्वान्टी–२० का आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकअर्कासँग १–१ खेल खेल्नेछन् । लिगको समाप्तिपछि शीर्ष २ मा रहने टोलीले प्लेअफमा खेल्नेछन् भने तेस्रो र चौथो स्थानको टोलीले इलिमिनेटरमा प्रवेश पाउनेछन् ।

प्लेअपको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले फाइनल अवसरका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ । डिपिएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किङ्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो ।