अलैंची उत्पादनमा बृद्धि तर भाउमा भारी गिरावट

प्रकाशित मिति : २०७५ पुस १८

काठमाडाैं । अलैंची खेती अहिले निकै नै लोकप्रिय बन्दै गएको अवस्थामा यसको भाउमा भने भारी गिरावट आईरहेको छ । खोल्साको कालो सुनको रुपमा परिचित यस अलैंची खेती अहिले गाउँगाउँमा व्यापक रुपमा विस्तार भइरहेको छ ।

तर अहिले उत्पादित अलैंचीको भाउ ओरालो लाग्दै गरेको स्थिति छ । यसले किसानमा केही हदसम्म निराशा त ल्याएको छ नै भाऊ बढ्ने आशले गोदाममा थन्क्याएर राखेको अलैंची थन्किएको थन्किएै छ । आर्थिक वर्ष ०७१–७२ मा प्रतिमन (४० किलो) को १ लाख ३० हजार रूपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर अहिले २५ देखि ३० हजार प्रतिमनमा बिक्री भइरहेको छ । प्रतिमनमा १ लाखभन्दा बढी मूल्य घटेपछि किसानहरुमा चिन्तत बनेका छन् ।

नेपालको पूर्वी पहाडका बासिन्दाको मुख्य आन्दानीको स्रोत बन्दै आएको अलैंचीमा यस प्रकारले भाऊ घट्न थाले पछि किसान र ब्यापारी दुबैलाई चिन्तित बनाएको छ । किसानले तीनवर्ष अगाडिदेखि कै सुख्खा अलैंची घरमै राखेका छन् । भाउ बढेपछि बिक्री गर्ने मनसायले राखेको अलैंची घाटा खाएर बेच्न नसकिने  कृषकहरु बताउँछन् ।

राम्रो मूल्यमा बिक्री हुँदा किसानले खेतीयोग्य जमिन मासेर व्यावसायिक अलैंची खेती गर्न थालेका थिए । तर भाउ घट्न थालेपछि के गर्ने भन्ने चिन्ता छाएको किसानहरूको दुखेसो छ । अलैंची नेपालका सिमित जिल्लामा मात्र उत्पादन हुन्छ ।

विगत वर्षभन्दा अलैंचीको मूल्यमा गिरावट आउँदा किसानभन्दा बढी व्यापारीहरू मारमा परेका छन् । अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकीका अनुसार नेपालका ५ जिल्लामा मात्र व्यावसायिक खेती गरिने अलैंची अहिले २२ जिल्लामा विस्तार भएको छ । किसानले परिणाम मात्र बढाएको तर गुणस्तर घटाएका कारण पनि यस्तो परिस्थिति आएको उनको भनाइ छ । अर्कातिर उत्पादन बढेपछि भाउ घटेको विश्लेषकहरू बताउँछन् । खुल्ला सिमानाकाबाट ल्याइएको मलको प्रयोग र अलैंचीका लागि लाभदायिक वनस्पति उत्तिसको विनाश हुँदै गएकाले गुणस्तरीय अलैंची उत्पादनमा समस्या देखिएको एकथरी किसानको भनाइ छ ।

नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादित अलैंचीको ९५ प्रतिशत काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ भने बाँकी ५ प्रतिशत अलैंची नेपालमा नै खपत हुने व्यवसायीहरूको भनाइ । उनीहरूका अनुसार, मसला, सुकमेल, पूजा सामग्रीलगायतमा अलैंची प्रयोग हुने गरेको बताइएको छ । अलैँची उत्पादन नेपालसँगै सिक्किम र भुटानमा आधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय तयारी अलैंची उत्पादन बढेपछि नेपालबाट भारत निकासीमा कमी भएकाले भाउ क्रमसँगै जारी रहेको बताइएको छ । नेपाली अलैंची निर्यातकर्ताहरू भारतमा अलैंची उत्पादन बढेपछि नेपालमा मूल्य घटेको बताउँछन् । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसाम, मेघालगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको भारतीय व्यापारीहरू बताउँछन् ।

पछिल्लो समय नक्कली अलैंची (चुरुम्फो) समेत मिसाएर बेच्दा नेपालको अलैंची निकासी र मूल्यमा कमी आएको अलैंचीको क्षेत्रमा अनुसन्धान गरिरहेका संस्थाहरूको दाबी छ । नेपालबाट निर्यात गरिएका अलैंची तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेको पाइएकाले नेपाली अलैंचीको मूल्यमा गिरावट आएको व्यवसायीहरूको आंशका छ । नेपालबाट निर्यात गरिएका अलैंची भारत र पाकिस्तानमा पु¥याइएका अलैंचीमा अलैंची जातको नक्कली बस्तु चुरुम्फा केही परिमाणमा मिसावट हुने गरेको छ । भियतनाम, ग्वाटेमालाबाट अलैंची जस्तै नक्कली सामग्री भारत भित्रिएपछि अलैंचीको मूल्यमा गिरावट आएको अलैंची व्यवसायी महासंघको आरोप छ ।
अलैंची विकास केन्द्र पान्दामका अनुसार जिल्लामा १ हजार ६ सय हेक्टर जमिनमा अलैंची खेती हुन्छ । नेपालमा भने १७ हजार हेक्टरमा अलैंचीको खेती हुने गरेको छ । आर्थिक वर्ष २०७३–७४ मा इलाममा ५ सय ७६ मेट्रिकटन अलैंची उत्पादन भएको थियो भने नेपालमा १२ हजार ५ सय ८ अलैंची उत्पादन हुने गरेको तथ्यांक छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा, उदयपुर, तेह्रथुम, लमजुङ, कास्की, सल्यान, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडीसहित देशका ४० जिल्लामा अलैंची खेती विस्तार हुँदै गएको केन्द्रले जनाएको छ ।