तात्कालीन चिनियाँ र आजको नेपाली समाजको वस्तुगत परिस्थितिको तुलना

प्रकाशित मिति : २०७५ पुस १७

माओ दिवस आजका दिनमा मनाउनु आफैमा निकै सान्दर्भिक छ । विश्वमा माओको १२६ औं दिवस भव्य रुपमा मनाइरहेको खबर हामीहरुले पाइरहेका पनि छौं । नेपालको वर्तमान सन्दर्भमा माओदिवस मनाउनु भनेको आफैमा ऐतिहासिक महत्व रहेको छ ।

माओ दिवसको सान्दर्भिकता मुख्यतः दुईतीनवटा कारणहरुले गर्दा हुन गएको छ । एउटा जुन बेला हामीहरु महान् जनयुद्ध लडेर त्यसलाई एक उत्कर्षमा पुर््याएका थियौं, त्यो बेलामा माओवादलाई स्थापित गराउने कुरामा नेपाल निकै अगाडि थियो । संसारमा हिमालयबाट माओवादी व्यवस्थाको उदय भइरहेको छ भनेर संसारभर प्रचार भइरहेको थियो । हिमालयमा लाल झण्डा फहराइरहेको छ पनि भनिएको थियो । सबैमा नयाँ आशाको सञ्चार पनि भएको थियो ।

एक्काइसौं शताब्दीमा सगरमाथाको टाकुरामा रातो झण्डा गाडिदै छ भनेर पनि सबैको आशा थियो । त्यति गौरबले भरिएको थियो– हाम्रो महान् जनयुद्ध । यी सबै कुराले संसारभर माओवाद र माओवादी विचारलाई स्थापित गर्ने काम भएको थियो । यसरी विश्व कम्युनिष्ट आन्दोलनमा माओवादी विचारलाई स्थापित गर्ने ठूलो काम भएको थियो । संयोगको कुरा त के पनि थियो भने हाम्रो पार्टीको नाम नेकपा (माओवादी) नै थियो । लडिएको युद्ध पनि माओवादी जनयुद्ध नै थियो । तर दुर्भाग्य ! त्यति उचाइमा पुगेको जनयुद्धलाई त्यसैको नेतृत्वमा रहेको नेताले ध्वस्त बनायो ।

यो नेतृत्वले जनयुद्धलाई त समाप्त पारेरै छाड्यो । अन्ततः माओवादी विचारलाई पनि छाडेर हिंड्यो । अहिले त्यही माओवादी विचार र माओवादी पार्टीविरुद्ध ज्यान छाडेर लागिरहेको छ । अहिले जनताका माझमा एउटा प्रश्न उठेको छ कि जनयुद्धको नेतृत्व गरेको नेताले नै किन छाड्यो ? केही कारणहरु भएर न छाड्योहोला, नहुने भएर त छाड्यो होला, हुने भएको भए त किन छाडिदिन्थ्यो र ? एउटा यो प्रश्नको हामीले जवाफ दिनु जरुरी छ ।

 

अर्को कुरा, मानिसहरुले निकै आश्चर्य मानिरहेका छन् कि नेपालमा कम्युनिष्टको सरकार छ । त्यसको नेतृत्व कम्युनिस्ट नेताहरुले गरिरहेको छन् । एउटा पूर्व माओवादी पार्टीको पुष्पकमल दाहाल प्रचण्ड अर्को पूर्व एमालेको केपी ओली । पूर्व माओवादी पार्टीको अध्यक्ष छ, त्यहाँ । कम्युनिष्ट पार्टीको शासन छ देशमा । तर उसले माओवादी पार्टीलाई नै दमन गर्ने नीति अख्तियार गरेको छ । जनता यसैमा आश्चर्य मानिरहेका छन् ।

यो अवस्थामा हामी त्यसैका बारेमा लड्न भनेर लागि परेका छौं । यो कुरा बुझाउन जनता र केही वद्धिजीवीहरुलाई पनि अप्ठेरो छ । सामान्य जनतालाई कम्युनिष्ट पार्टीको सरकार भएकाले त्यसैमा मिसिए त भइहाल्यो नि त भन्ने पनि छ । त्यही गयो भागबण्डा गर्यो । अनि कम्युनिष्टको शासन चलायो । सुन्दा कति सजिलो र रमाइलो पनि छ ।

जनतालाई परेको छ तिमीहरुकै मान्छे र साथी सरकारमा छ, प्रधानमन्त्री र मन्त्रीहरु भइरहेका छन् । समान्य आँखाले हेर्दा त हो पनि । तर जनतामा कति ठूलो भ्रम परिरहेको छ । त्यसै कारणले पनि हामीहरुलाई एउटा प्रश्न बारम्बार सोध्ने गरिन्छ– प्रचण्डले त गद्धारी गरे, तर तपाईहरु पनि त्यही पुगेपछि गद्दारी नगर्ने भन्ने के ग्यारेन्टी छ ?

प्रश्न आफैमा निकै भ्रामात्मक र जटिल छ । गर्दैनो भनेर लेखेर दिने कुरा पनि त होइन । दिए पनि जनताले केका आधारमा पत्याउने ? प्रचण्डले पनि लेखेर दिएका थिए । त्यसै खालको विश्वासघात हुन्छ होला भनेर जनयुद्ध गर्ने बेलामा हामीहरुले सातबुँदे प्रतिबद्धतापत्र तयार गरेका थियौं । त्यो हाम्रो दस्तावेजमा सुरक्षित छ । त्यो नलेखी नहुने थिएन पनि । अन्यत्र वा अरु देशका आन्दोलनहरुमा त्यस्तो लेखिएको पनि पाइँदैन । तर नेपालमा हामीले त्यो पनि लेख्यौं ताकि जनयुद्धमा विश्वासघात नहोस् ।

हामीहरुलाई लागेको के थियो भने युद्ध सुरु भएपछि मानिसहरुमा भागदौड मच्चिन्छ । धेरैको ज्यान जान्छ । हामीले निर्माण गरेको प्रतिवद्धतापत्रमा सबैले हस्ताक्षर पनि गर्यौं । हामीले कुनै पनि हालतमा हाम्रो लक्ष्य हासिल नहुँदासम्म यो जनयुद्ध रोकिने छैन र हामीहरुले आत्मसमर्पण पनि गर्ने छैनौ र हतियार पनि बिसाउने छैनौ भनेका थियौं । हामीले सामुहिक फोटो पनि खिचाएका थियौं । हामीलाई लागेको थियो क्रान्तिका क्रममा यो केन्द्रीय नेतृत्वको सहादत हुन्छ र नरहन पनि सक्छ । भविष्यको पुस्ताका लागि यो स्मरण र प्रेरणा दुवै होस् भनेर हामीले फोटोसम्म खिचाएर राखेका थियौं । पछिल्लो चरणमा प्रचण्डले फोटो छैन भनेर टारे पनि ।

अब हाल हामीकहाँ आएको प्रश्न तपाईहरुले धोखा दिनुहुन्न भन्ने के ग्यारेन्टी छ भन्ने प्रश्नको जवाफ विचार र राजनीतिबाट मात्र दिन सक्नुपर्छ । यसको जबाफ दिने भनेको माओवादबाट र माओवादी आन्दोलनबाट नै हो । कसले माओवादलाई लिएर अघि बढ्छ, कसले माओवादलाई छाड्छ । भिन्नता र प्रतिबद्धता त्यहीबाट छुटिन्छ । जनतालाई यसै कुराबाट स्पष्ट गर्दै जानुपर्छ । होइन भने यो अन्यौलता चिरेर साध्य नै छैन ।

अवस्था जटिल छ । कम्युनिस्टको सरकार छ, कम्युनिष्ट नै त्यसका विरुद्ध लड्नु परेको छ । यो सरकारलाई अपदस्त पार्नुपर्छ, यसलाई समाप्त पार्नुपर्छ भनेर हामीले भनेको सुन्दा मानिस अचम्म पर्दछन् । अबका दिनमा पाठ सिकेर धोखा नदिई र धोखा नखाई अघि बढ्न नेपाल र चीनका विशिष्टताहरुलाई चिनेर अघि बढ्नु जरुरी छ ।

माओवादी जनयुद्ध सम्पन्न भएको माओका चीन कालिन सामाजिक र राजनीतिक अवस्थाहरुको राम्रोसँग ज्ञान भएन भने चीनमा सजिलैसँग क्रान्ति भएको भन्ने बुझिन्छ । हामीलाई लाग्न सक्छ सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भयो अनि १९४९ मा त चीन मुक्त भइ पो हाल्यो । त्यहाँको कम्युनिष्ट पार्टी जन्मिएको २८ वर्षमा नै त्यहाँको क्रान्ति सफल भइहाल्यो । नेपालमा भने बि.सं २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले ७० वर्ष नाघिसक्दा पनि क्रान्ति गरेको छैन ।

यो किन यसो भएको होला भनेर मानिसहरुले प्रश्न गर्ने गरेका छन् । मान्छेको सहज सोच र दिमागमा यही कुरा रहेको छ । यो कुरामाथि हामीहरुले ध्यान दिएर उनीहरुको मन मस्तिस्कबाट यो कुरा फाल्न सकेनौ भने क्रान्ति गरेर खान सक्दैनौ । विचार प्रष्ट भएपछि लाग्ने न हो, मानिस आफैमा राजनीतिक प्राणी हो । विचारमा स्पष्ट भएपछि मात्र यसले संघर्षका कामहरुमा साथ दिन्छ वा नेतृत्व गर्छ ।

यो कुरालाई हामीहरुले वैचारिक रुपले स्पष्ट गर्नु जरुरी छ । त्यसका लागि माओका योगदानहरु अथवा चिनियाँ क्रान्ति कसरी सम्पन्न भयो भनेर घोत्लिएर अध्ययन र बहस गर्नै पर्दछ । त्यहाँ सिधा र सरल रेखामा अघि बढेर क्रान्ति सम्पन्न भएको होइन । त्यहाँ भित्र भएका र चलेका जटिलताहरुलाई हामीहरुले नियालेर हेर्नै पर्छ, आफैमा कति जटिल छ चिनियाँ क्रान्ति ।

त्यहाँ थुप्रै उताचढावहरु भएका छन्, त्यहाँ थुप्रै दायाँबाँयाहरु भएका छन् । ती सबैलाई चिर्दै अघि बढेर नै त्यहाँ क्रान्ति सम्पन्न भएको छ । तर त्यसमा एउटा कुरा के सत्य हो भने त्यसमा माओको निरन्तर नेतृत्व र योगदान रहेको छ । माओ यदि त्यहाँ नभएको भए त्यो क्रान्ति सम्पन्न हुने पनि थिएन । माओको अद्वितीय क्षमताका कारण यो संभव भएको हो । यो विचारले भएको क्रान्ति हो, त्यो विचारका मुख्य सर्जक माओ नै हुन् । चिनियाँ विशिष्टतामा माक्र्सवादी–लेनिनवादी विचारलाई लागू गर्दा नै चिनियाँ क्रान्ति सम्पन्न भएको हो ।

मलाई जेलको स्मरण ताजै छ । मलाई इण्डियाको चेन्नई जेलमा राख्दा आतंककारीको आरोपमा जेलको ‘सेल’मा राख्ने गरेको थियो । त्यही जेलको एउटा सेलमा तमिल टाइगर इलमका एकजना नेता पनि थिए । उनी निकै खरो बहसमा उत्रन्थे । ज्ञान पनि उनलाई अथाह नै थियो । बेलायतमा इन्जििनिरिङ गरेर तमिलको लडाइँमा सहभागी हुन आएका थिए उनी ।

उनकाअनुसार माओ एक कुशल राजनीतिज्ञ त हुन् तर योद्धा पनि । यसले पुष्टि गर्दछ कि माओको कार्यकुशलता, विलक्षण प्रतिभा र उहाँका योगदानहरुलाई गैरमाओवादीहरुले पनि विश्वभर स्वीकार गर्दछन् । त्यसैले आज माओवादी पदावली प्रयोगको विवाद अब अन्त्य भइसकेको छ । आजको विश्वमा क्रान्ति गर्नु भनेको माओवादको रक्षा, प्रयोग र विकाससँग जोडिएको छ ।

उनले भन्ने गर्दथे कि चिनियाँहरु व्यापारी हुन् । उनीहरु उहिल्यै सिल्क वा रेशमी कपडाको व्यापारदेखि नै व्यापारमा माहिर हुन् । तर ती व्यापारी मानिसहरुलाई माओले बन्दुक बोकाएर चीनलाई जापानको गुलाम हुनबाट मुक्त पारे । विश्व साम्राजयवादी पञ्जाबाट मुक्त पारे र नयाँ तथा आधुनिक चीनको निर्माण गरे । यस अर्थमा म माओवादी नभए पनि माओ र उनका योगदानहरुलाई म निकै सम्मान गर्दछु भन्ने गर्दथे । माओको व्यक्तित्व बहुआयामिक भए झैं उहाँको योगदान पनि बहुआयामिक रहेका छन् ।

नेपालमा नयाँ जनवादी क्रान्ति गर्दै गर्दा हामीहरुले ख्याल राख्ने कुरा के हो भने त्यसो भए नेपाल र चीनका बीचमा समानता र भिन्नताहरु के के छन् त ? हामीले मिल्दाजुल्दा घटनाहरु खोज्नु र अध्ययन गर्नु जरुरी छ । नेपालमा जनयुद्ध गर्दा पुष्पकमल दाहाल जस्ता मानिसहरुले धोखा दिए । तर चीनमा त त्यसो भएन कि भनेर भन्ने गर्दछौं । चीनमा त सिधासिधा अगाडि बढेको थियो होला क्रान्ति भने झैं लाग्छ ।

चीनमा पनि क्रान्तिका क्रममा त्यस्ता धोखेबाजहरु निकै निस्किएका थिए । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना हुँदा त्यहाँ क्वोमिन्ताङ भन्ने सत्ताधारी पार्टी थियो । यसको चरित्र केही बढी प्रजातान्त्रिक थियो । क्वोमिन्ताङले डा. सन् यात््सेनको नेतृत्वमा राजतन्त्रको अन्त्य गरिसकेको थियो । सन् यात्सेन रहँदा क्वोमिन्ताङसँग माओहरुको यति राम्रो सम्बन्ध थियो कि स्वयम् माओ पनि त्यसको केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।

चीनमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पार्टीलाई त सेनाको आवश्यकता भयो । माओलगायतका साथीहरु सबै सन यात्सेनको एकेडेमीमा गएर सैन्य तालिम लिनुभयो । चीनको स्थिति त्यतिबेला निकै भयाबह थियो । राजतन्त्रको अन्त्य भइसकेको तर केन्द्रीय सरकार असाध्यै कमजोर रहेकाले चीनको ठूलो भूभाग केन्द्रीय सत्ता बाहिर थियो । त्यहाँ युद्धसरदारहरु जन्मिएका थिए । तिनले विभिन्न प्रान्तहरु स्वतन्त्र भएको आफूहरुले शासन गरिरहेको घोषणा गरेका थिए ।

सन् यात्सेन र माओले मोर्चा निर्माण गरेर सैन्य सुदृढीकरण गरी ती युद्ध सरदारहरुका विरुद्धमा देशव्यापी लडाइँको थालनी गर्नुभयो । ती युद्ध सरदारहरुले हार खाए र विसाल चीन फेरि निर्माण भयो । यसलाई चिनियाँ इतिहासमा उत्तरी अभियानको नामले चिनिन्छ ।

राजतन्त्र नभएको बेलामा चीनमा अराजकता छाएको थियो । यदि नेपाल पनि चीन जस्तै भएको भए नेपालमा पनि तेस्तै हुन्थ्यो होला । त्यहाँका हरेक प्रान्तका गर्भनर र सेनाका प्रमुखहरुले आफू नै राजा भनेर घोषणा गरिदिए । माथिल्लो केन्द्र शक्तिशाली नभएपछि युद्ध सरदारहरुले पूरा चीनमा शासन गरे । त्यसो भएपछि कम्युनिस्ट पार्टीका नेता क्वोमिन्ताङले अब यो सत्ता ती युद्ध सरदारहरुको हातबाट खोस्नु पर्दछ भने ।

तर ती युद्ध सरदारहरुले बाहिरी साम्राज्यवादीहरुसँग साठगाँठ गरेका थिए । उनीहरु पनि एकापसमा सहयोग लिने भइसकेका थिए । विदेशबाट पैसा ल्याउने, बजेट बनाउने र खर्च गर्ने गरिहेका थिए । भएभरका विदेशीलाई देशभित्र बोलाएर स्थान दिएका थिए । अनि त्यसको विरुद्धमा क्वोमिन्ताङ र कम्युनिस्ट पार्टी मिलेर लडे र पछि उनीहरुले युद्ध सरदारहरुलाई हराए । त्यति राम्रो संयुक्त मोर्चा थियो । त्यो एक विश्वासिलो मोर्चा थियो ।

तर दुर्भाग्य के भइदियो भने सन यात्सेनको मृत्यु भइसकेपछि त्यसको नेतृत्वमा च्याङकाई शेक आए । उनको सम्राज्यवादसँग मित्रता भन्ने नीति नै थियो । उनलाई सन् यात्सेनले कम्युनिष्टसँग नजिक होस् भनेर रुसमा पढ्न पठाइएको थियो । केही समाजवादको हावा लागोस् भनेर सन यात्सेनल यसो गरेका थिए । तर के भयो भने उनी एक नम्बरको प्रतिक्रियावादी बनेर आए । यता आइसकेपछि उनले कम्युनिस्टहरुसँग सम्बन्ध विच्छेद गर्नु पर्छ भनेर नीति बनाए । क्वोमिन्ताङलाई त्यति ठूलो विश्वास गरेको बेलामा कम्युनिष्ट पार्टीमाथि एक विपद् आइलाग्यो ।

पार्टीको नेतृत्व परिवर्तन भएपछि उसको चरित्र नै बदलियो र कम्युनिस्टलाई नै सिध्याउन पर्छ भनेर जाइलाग्यो । जो सँग मित्रता गरेको ऊ नै दुश्मन बनेर आयो । उसैसँग लड्नु पर्यो । त्यस हिसाबले चीनमा सजिलो स्थिति थिएन क्रान्ति गर्नका लागि । अहिले हाम्रो स्थिति पनि त्यही भएको छ, जसलाई नेता बनाइयो, ऊ नै गद्धार भयो । अब हामीले फेरि गद्धार भयो भनेर रोइकराइ गरेर हिँडेर पनि भएन ।

अब हामीले ऊ गद्धार भयो भनेर चित्रित गर्नसक्नु पर्दछ । हामीले क्रान्तिलाई अगाडि बढाउनु पर्दछ । त्यही हो क्रान्ति भनेको । जे हुन्छ त्यसबाट पाठ सिक्ने र सकारात्मक तथा नकारात्मक पाठ लिए अघि बढ्ने । यसबाट मात्र क्रान्तिलाई निरन्तर अगाडि बढाइ राख्न सकिन्छ ।

नेकपाको हाल स्थायी समितिको बैठक चलिरहेको छ । एकजना स्थायी समितिको सदस्यले भनेका थिए– सबै प्रतिवेदन पढिसकियो तर त्यहाँ त साम्यवाद भन्ने त कुनै ठाउँमै भेटिएन । उनले दस्तावेजमा साम्यवाद खोजेछन् । उनीहरुले कहिले जमानामा साम्यवाद भन्ने नारा अंगालेका थिए र अहिले आएर खोजे । उनलाई पत्तै भएन छ साम्यवाद कहिले र कहाँ छाडिएछ भनेर । बरु दस्तावेजमा साम्यवाद भेटिन्छ कि भनेर पार्टीको स्थायी समितिमा हल्ला मच्चाएछन् । तर साम्यवाद भेटिएन ।

उनलाई साम्यवाद भन्ने नारा छोडेको थाहा नै भएनछ । अब यता माओवादी केन्द्रबाट जाने साथीहरुले भन्नुहोला माओवाद भन्ने त कतै लेखिएकै रहेनछ भनेर । आफूहरु माओवाद छोडेर उता गएकाले किन भेटिन्छ माओवाद ?

यसो भएको हुनाले यो कुरा क्रमिक रुपमा जनतामा जान त जाला तर हामीले चाँडै यो कुरा विभिन्न प्रक्रियाबाट जनताको सामु लैजान जरुरी छ । नत्र भने जनतामा ठूलो भ्रम पैदा हुन्छ । यो भ्रमले हामीलाई अगाडि बढ्न गाह्रो हुन्छ । अब जहाँसम्म माओको योगदानको कुरा हो दर्शनको क्षेत्रमा, राजनीतिक अर्थशास्त्र, समाजवाद यो माक्र्सवादका तीनवटा संघटकहरु अंगहरु खोज्नु पर्छ ।