मुलुक फेरि माओवादीमय बन्दै गएको छ : अधिकारी

मुलुक फेरि माओवादीमय बन्दै गएको छ : अधिकारी


पोखरा । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य एवं प्रदेश नं ४ का सेक्रटरी श्रीनाथ अधिकारीले मुलुक फेरि माओवादीमय बन्दै गएको दाबी गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं ४ को बैठकलाई सम्बोधन गर्दै अधिकारीले मुलुकमा दुईतिहाई बहुमत पाएको सत्ताधारी नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई कमजोर पार्दै लगेको दाबी गरे । उनले जनताका एजेण्डा भन्दा पनि दलाल सामन्तवादको एजेण्डामा देश चलेको आरोप लगाउँदै क्रान्तिकारी माओवादीले उठाएको ऐजेण्डाले मात्र मुलुकको रक्षा हुने दाबी गरे ।

बैठकलाई सम्बोधन गर्दै नेता अधिकारीले भने ‘जनता सडकमा छन्, दैनिकी चलाउन मुस्किल छ, राज्य कर लगायतका विषयहरुमा जनताकै ढाड सेक्ने गरी अगाडि बढ्दा जनजीविका लगायतका विषयहरु दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् ।’उनले दक्षिणपन्थी, दलाल, संशेधनवादी र अराजक कम्युनिष्टहरुको विरोध गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

यसैबीच, मोर्चाको बैठकले चैत्र १ र २ गते ४ नं. प्रदेशको सम्मेलन गर्ने निर्णय समेत गरेको छ । मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ४ नं. प्रदेश संयोजक केशबहादुर परियारको अध्यक्षता तथा सञ्चालनमा बसेको बैठकले मोर्चाको चैत्र २४ मा गरिने राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने गरी प्रदेशभरिका जिल्लाहरुका कार्यक्रम तय गरेको छ ।