‘मौसुफ’हर्को बर्थ डे

‘मौसुफ’हर्को बर्थ डे

उतिबेलाका पञ्चप्रेतहर्को साशन सत्तामा ‘मौसुफ’हर्को बर्थ डे धुमधडकासित मनाइन्थ्यो । पिचास ‘मौसुफ’हर्को मनाउँदा जयन्ती भन्थे, जिवित ‘मौसुफ’हर्को मनाउँदा जन्मोत्सव भन्थे । नेपाल मण्डलका पचहत्तरै जिल्लाका अड्डाखाना भएका सहरमा जुलुस झाँकी सहित ‘मौसुफ’हर्को जन्मदिन मनाउने चलन थ्यो । जुलुस झाँकीमा ‘मौसुफ’को जयजयगान हुन्थ्यो । ‘मौसुफ’हर्को नाउँमा रचिएका भजनहरूले आकास धर्ती गुञ्जायमान हुन्थे ।

भञ्ज्याङमा ‘मौसुफ’ भेटिन्थे । चौतारीमा ‘मौसुफ’ भेटिन्थे । पाटीपौवा जताततै ‘मौसुफै ‘मौसुफ’ भेटिएका भजन किर्तन रिरिबाजाले बजाउँथ्यो । देशका नामी नामी कवि गितकारहर्ले ‘मौसुफ’को भजन लेखेर भट्याउँथे । त्यस्तालाई देशेकवी र देशेकलाकार भनेर ‘मौसुफ’ले पुरस्कार दिन्थे । कमलादीमा रहेको कविकलारहर्को वृद्धाश्रममा तिनरुलाई भत्ता दिएर पाल्थे । 

अहिले पुरानो जुग फेरिएको छ र नयाँ जुग आएको छ । त्यो कुरा केही दिन अगाडि मात्रै ‘एक नम्बरी ‘मौसुफ’बाट घोषणा बक्स भएको हो । जुग फेरिएको घोषणा गरेका ‘एक नम्बरी ‘मौसुफ’को फुटा बिजुलीका पोलहरूमा, बाटाघाटा र पाटीपौवाका भित्ताहरूमा टाँसिए । ‘मौसुफ’का भक्तजनहर्ले मण्डलैभरी जयजयगान गरे । फेसबुके भित्ताहरूमा ‘मौसुफ’को तारिफ गर्दै स्तुतीगान गरे । नयाँ जुगको सुरुआत भएकोमा गीत, कविता फुराए । ती पनि नयाँ देशेकवी र देशेकलाकारमा दर्ज भए ।

यसैबीचमा उपल्लो टारमा विराजमान ‘एक नम्बरी मौसुफ’को बर्थ डे पनि टारभित्र उनको सरकारी कुटीमै भव्यरुपमा सुसम्पन्न भयो । देशी विदेशी महामहिमहर्ले ‘मौसुफ’को दर्शन भेट गर्दै शुभकामना सहित माला, खादा र फूलपाती अपर्ण गरे । त्यसैगरी मान्ने मन्तरीसहित पाटीपौवाका अरौटे, भरौटे, धुपौरे, चम्चे, कारिन्दा र रैतीजनले पनि कसैले साक्षात दर्शन भेट गरेर कसैले फेसबुके हुलाकका भित्ताहरूमा ‘मौसुफ’को जयगान गर्दै शुभकामना टक्राए ।

जुग फेरिएपछि ‘मौसुफ’हरू फेरिने कुरा पनि स्वतः भैगयो । त्यसैले नयाँ जुग ल्याएका ‘मौसुफ’हरू पनि फेरिएका छन् । पैलाका ‘मौसुफ’ हिटीमा बिराजमान हुन्थे, ऐलेका ‘मौसुफ’हरू टारमा विराजमान हुन्छन् । ‘मुमा बडामारानी’ त केजाती निबासमा बिराजमान होइसिन्छ । ‘एक नम्बरी ‘मौसुफ’ उत्तरतिरको टारमा विराजमान होइसिन्छ भने ‘दुई नम्बरी ‘मौसुफ’ दख्खिनतिरको टारमा बिराजमान होइसिन्छ । यी दुइटा टारमा बिराजमान ‘मौसुफ’हर्को भर्खरै मात्र बर्थ डे सकिएको छ । ‘एक नम्बरी ‘मौसुफ’को अलि पहिला परेको थ्यो भने ‘दुई नम्बरी ‘मौसुफ’को गएको हप्ता मात्रै बर्थ डे सक्केको छ ।

जुग फेरिएको हुनाले यो जन्मोत्सवको नाउँ पनि फेरिएको छ । अब त्यसको नाउँ बर्थ डे भएको छ । गएको हप्ता दख्खिनको टारमा ‘दुई नम्बरी ‘मौसुफ’ सरकारको बर्थ डे धुमधडकासित मनाइयो । रैतीहरूले खादा, माला, र पूmलपाती लिएर दर्शन भेट गर्न र बर्थ डेको शुभकामना दिन ‘मौसुफ’ सरकारको निवास दख्खिनटारमा पुगे । सरकारी ओहोदामा बिराजमानदेखि पाटीपौवामा बिराजमानसम्मका रैतीहरू लावा लस्कर लाएर गए ।

एकार्कामा उछिनापाछिन गर्दै जयजयगान गाउँदै गएर ‘मौसुफ’ सरकारको उच्च उच्च आयुको शुभकामना टक्राए । त्यहाँ ‘मौसुफ’को गाथ सँगसँगै बसेर सेल्फी हाने । फुटा खिचाए र आफूलाई धनधान्य प्राप्त भएर कृतकत्य भएकोमा खुसियाली मनाए । फेसबुके भित्ताहरूमा ‘मौसुफ’ सरकारको भजन कृतन गाउनेहरूको प्रतिस्पर्धा नै चल्यो । ‘मौसुफ’सँगै खिचाइएका फुटा, सेल्फी हानिएका फुटा राखेर फेसबुके भित्ता रङ्गाइए ।

यो सबै गतिविध नियाली रहेका ‘दुई नम्बरी ‘मौसुफ’ पहिलो पटक यसरी बर्थ डे भव्यरूपमा मनाउन पाउँदा र भक्तहरूबाट खादा, माला, फूलपाती र अविरटीकाले सुशोभित हुन पाउँदा निकै पुलकित होइस्यो । प्रफुल्ल मुद्रामा मुस्कान छोडेर भक्तजनहर्लाई खुसी तुल्याइस्यो । भक्तहरू पनि ‘मौसुफ’को साक्षात् दर्शन गर्न पाएर, अझ सेल्फी हान्न पाएर, प्रत्यक्षरूपमा आफ्नै मुखबाट शुभकामना टक्रयाउन पाएकोमा स्वर्गानुभूति गरे । हर्षविभोर हुँदै गदगद भए । मरेपछि पनि पूण्य प्राप्त गर्दै बिना रोकटोक स्वर्ग प्राप्त गर्न पाइने कुरामा आस्वस्त भए ।

‘मौसुफ’बाट पनि तथास्तु भन्दै आशिर्वचन बक्स भयो । ‘मौसुफ’को साक्षात्् दर्शन गर्न नपाएकाहर्ले फेसबुके भित्ताबाटै पूmलमाला, अक्षतापाती र केकले दर्शन भेट गर्दै ‘मौसुफ’को जन्मजन्मान्तरको भक्तिगान रचे, गाए र मन्त्रमुघ्ध भए । साक्षात् दर्शन गरेरै ‘मौसुफ’को गाथगादीको तारिफ गर्न नपाएकोमा अन्तरमनदेखि नै थकथकाउँदै ‘भाग्य’मै नभएको भनेर चित्त बुझाए । साक्षात् भेट गरेकाहर्ले पनि ‘मौसुफ’सँगको साक्षात् सेल्फी फुटा फेसबुके भित्तामा लोड गर्दै आफू ‘भाग्यमानी’ भएको महसुस गरे । गुणगान गाए । पुरानो जुग बदल्न ‘मौसुफ’ले अवतार लिएर गरेका कार्यहरूको बखान गरे ।

अफैले हिंसाको बाटो खनेर, सेना तयार गरेर ‘कुरुक्षेत्र’को नेतृत्व गर्दै, फेरि आफैले हतियार फाल्न लगाई सेना विघटन गर्दै पुरानो जुगका सेनामा विलिन गराएर विदेशी प्रभुहरूका सामू घुँडा टेक्दै लम्पसार परेर ‘शान्ति’ स्थापना गरेका यस्ता महान् महापुरुष यो भूवनकै सर्वोच्च महामहिम भएको घोषणा गरे । यसरी हजारौँ शब्दले ‘मौसुफ’को बर्णणातीत तारिफ गरे । यति महान् व्यक्ति हुँदा पनि ‘मौसुफ’लाई नोबेल पुरस्कार न दिइएकोमा खेद प्रकट गरे । त्यसका लागि अब उप्रान्त अन्तर्राष्ट्रिय बहस चलाउनु पर्ने महसुस गरे । यसरी ‘मौसुफ’को बर्थ डे सम्पन्न भयो ।