पाल्पामा सुत्केरी बोकेको जीप दुर्घटना, पाँचको मृत्यु

पाल्पामा सुत्केरी बोकेको जीप दुर्घटना, पाँचको मृत्यु

पाल्पा । पाल्पामा सुत्केरी लिएर फर्किंदै गरेको जीप दुर्घटनामा पर्दा पाँचको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रहरी निरीक्षक अमृत भण्डारीको दिएको जानकारी अुनसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका–८ बस्ने अन्दाजी ३२ वर्षीया यानीसरा गाहा, वर्ष ४० की बुमा कुमारी दर्लामी, वर्ष ७१ का रेवतबहादुर जीसी, वर्ष २४ की कुनीसरा रुचाल र जीप चालक २० वर्षीय वीरेन्द्र राना छन् ।

रुचालको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै र अन्यको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा माथागढी गाउँपालिका–८ कै सुरेन्द्र मर्साङ्नी, देवसिंह राना, शान्ता रुचाल घाइते भएका छन् । शान्ताको तीन दिनकी छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सुत्केरी भएकी शान्तालाई लिएर फर्किंदै गरेको जीप गएराति ७ बजेतिर दुर्घटना भएको हो । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।