
काठमाडौं । जारी युईएफए च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा ३–० को लज्जास्पद हार ब्यहोरेको छ ।
बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल रुसी टोली सीएसएसके मस्कोसँग ३–० गोलले पराजित भयो । मस्कोको जितमा फेडोर चालोभले ३७औं, जर्गी सेनीकोभले ४३औं र अर्नोर सिगुर्डसनले ७३औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुई गोलले पछि परेको रियलले खेलभर आक्रमण जारी राखेपनि सफलता पाउन सकेन ।
च्याम्पियन्स लिगमा र आफ्नै घरेलु मैदानमा रियल यो भन्दा पहिले नौ बर्षअघि २००९ मा युभेन्ट्ससँग पराजित भएको थियो । रियलले १९ वटा पोस्ट प्रहार गरेको थियो । तर रियलका सबै प्रयास विफल बन्यो ।
यस समूहबाट इटालियन क्लब रोमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । बुधबार रातीनै भएको खेलमा रोमा पनि भिक्टोरिया प्लेजेनसँग २–१ गोलले पराजित भएको थियो । हारेपनि यसअघि नौ अंक बनाएको रोमा दोस्रो स्थानमा रह्यो । समान सात अंक बनाएका प्लेजेन र मस्को बाहिरिए ।