कहाँबाट सञ्चालित छ नेपालको प्रहरी अनुसन्धान ?

कहाँबाट सञ्चालित छ नेपालको प्रहरी अनुसन्धान ?

काठमाडौँ । फेरि पनि प्रहरी अनुसन्धानका नाममा झुठा समाचार सञ्चार माध्यमहरुमा आएपछि जनता जिल्लिएका छन् । प्रहरीले काठमाडौंबाट निर्मलाको हत्यारालाई गिरफ्तार गरिएको सूचना प्रवाह गर्यो । तर त्यो पनि त्यत्तिकै सेलाएर गयो । यसको पुष्टि अहिलेसम्म हुन सकेन । प्रसारित समाचारहरुमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुष्टि गरेको भन्दै गिरफ्तार गरिएको युवा प्रदीप रावलले नै निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको भनी प्रचार गरियो ।

गिरफ्तार रावललाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोले केरकार गरिरहेको प्रचार गरियो । प्रचार त यतिसम्म पनि गरियो कि निर्मलासँग कुराकानी गर्दैजाँदा उत्तेजित भएर उखुबारीमा लगी बलात्कार गरेको र उक्त कामका बारेमा गम्भीर आपत्ति जनाएपछि हत्या गरेको स्वीकार गरेको प्रचार गराइयो ।

पुलिसका काम त पत्यार लाग्दा पनि छैनन् र जनताले विश्वास पनि गर्दै गर्दैनन् । तर प्रहरी महानिरीक्षक भने केही विश्वास लाग्दा छन् । तर उनको पकडमा प्रहरी प्रशासन भएको कदापि देखिदैन । उनी शक्तिमा भएर पनि यति निरीह छन् र इमान्दार पनि छन् कि संसदीय सुनुवाइमा यदि म र मैले गरेका कामहरुमा तपाईहरुको अविश्वास छ भने मलाई संसदमा बोलाएर बर्दी फुकालिदिनोस् भनेका छन् । यो शायद धम्की भन्दा पनि इमान्दारिताको राम्रो झलक हो किनकि संसद उनीभन्दा माथि छ मुनि होइन ।

दोषी भनी समातिएका प्रदीपले आफू समातिँदा नशामा मातेर केही पनि थाह नपाएको बयानमात्र दिएका छन् । उनले लामो समयदेखि लागू औषध सेवन गर्दै आएका छन् । निर्मला पन्तको बलात्कार र हत्या भएको दिन राती कञ्चनपुर प्रहरीले उनलाई एक किलो कुखुराको मासु चोरेको आरोपमा प्रहरी खोरमा हालेको रहेछ ।

यसो गरी अनुसन्धानका नाममा यत्ति तल्लोस्तरको लाजमर्दो काम गर्ने अनुसन्धानकर्ता भनिएकाहरु कहाँबाट परिचालित भएका छन् भने साधरण जनताले सार्वजनिक रुपमा प्रश्न गरिरहेका छन् ।