म निर्मला पन्त । म मरेको आज १३६ दिन पुग्यो । मलाई बलात्कार गरेर हत्या गरेको घटनाले देशै तताएको छ । यतिका दिन वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेका छैनन् । सायद मलाई बलात्कार गरेर हत्या गर्नेहरू सत्ताग्रहबाट आएका एलियन पो हुन् कि ? सत्ताग्रहबाट आएर मलाई बलात्कार गरिवरि हत्या गरेर उतै पो फर्के कि ? नत्र यो पृथ्वीका, त्यसमा पनि नेपाल मण्डलका, अझ कञ्चनपुरैका र भिमदत्त नगरमै बसोबास गरेकाहरू हुन्थे भने त अजसम्म एकएक घरको खानतलासी गरेको भए पनि फेला पर्दो हो । आजसम्म फेला नपर्नुको कारण तिनीहरू पक्कै पनि सत्ताग्रहबाट आएका एलियन हुन पर्छ भन्ने मेरो ठम्याई छ । त्यो त पत्ता लाग्ने सम्भवै छैन । किनकि सत्ताग्रहमा भएका प्राणी त एलियन मात्रै हुन् । तिनको बारेमा पत्ता लाउन बैज्ञानिकले त सकेका छैनन् अरूको के कुरो भयो र । कठै बिचरा । किन पुलिसलाई दुःख दिएको होला । अझ केही पुलिसका हाकिमहर्को त जागिरै खाइदिए छन् ।

हार्दिक शुभकामना !

हुन त मलाई बलात्कार गर्ने र हत्या गर्नेलाई मैले त चिन्दछु, बाँचेको भए म तिनको पोल खोलिदिने थिएँ तर म मरिसकेको हुनाले म आफैँले भन्न मिल्दैन । खोज्नु पर्नेले खोज्दैन । अरूले खोजेर फेला नै पर्दैन । आन्दोलन गर्नेहर्ले पनि पुलिस मन्तरीको राजिनामा किन माग्या होलान् । तिनको पद त मिस्टर सुप्रिमोले उहिल्यै खाइद्या हुन् । केकेजाति लिनप्याओवादी आरोप लगाई, पद खोसी, नाङ्झार पा¥या’थे । त्यसको रिस फेर्न वैद्यबातिर लागेर हिँडेका हुन् । भारतीय दलाल, लाल गद्दार भनी उधुम मच्चाएर क्यै सिप नचलेपछि उतै फर्केर बल्लतल्ल तङ्ग्रिएर मन्तरीको जागिर खा’छन् । त्यै पनि किन खोस्दिनु ?! खाउन् विचराले ।

मेरो हत्या भएको दिन मेरा घरका परिवार जुठा परेको हुनाले बम दिदीबहिनीको घरमा मेरी आमालाई पस्न नदिइएको हो । जुठा परेका मनुखे ठकुरीका घरमा पस्नु हुँदैन । जबर्जस्ती पस्न खोजेमा हाम्रो पहुँच सानोतिनो छैन है भनेर मेरी आमालाई उनीहर्ले थर्काएका हुन् । यो देशमा मजस्ता सयौंले दिनहुँ बलात्कार र हत्या भोगेका हुन्चन् । पुलिसले कतिको खोजतलास गरोस् । त्यसैले मेरो बारेमा खोजतलास गर्न चासो नदिएको हो । विचरो पुलिसले तस्कर, डनहरू, सरकारवादी नेता र तिनका धुपौरे, चम्चेहरूको सुरक्षा गरोस् कि हामीजस्ताको पछि लागोस् । हाम्रै लिङ्गी पुलिसवाला चौकीमै बलात्कृत हुन्चन् र त तिनको बारेमा क्यै हुन्न । हाम्रो झन् के कुरा भयो र ? जहाँसम्म सबुत प्रमाण नष्टको कुरो छ, बलात्कार भैसकेपछि हत्या भैसकेपछि तिनका प्रमाण राखेर मरेको मनुखे बाँच्ने हैन क्यारे । किन राख्नु प¥यो प्रमाण ? त्यसैले नष्ट गरिए होला ।

साठी वर्षको त्याग तपस्या र वलिदानपछि बल्लतल्ल ‘बामपन्थी’ (खासमा हामपन्थी) को दुईतिहाई सरकार बनेको छ । यस्तो सरकारका बिरूद्ध दागा धर्ने अधिकार कसैलाई छैन । यदि यो सरकारको विरुद्धमा कसैले आन्दोलन गर्छ भने त्यसलाई लाठी चार्ज मात्रै हैन गोली नै चार्ज गर्ने र तिनलाई सोत्तर पार्ने अधिकार छ । उखानप्रसाद र मिस्टर सुप्रिमोको ठूलो दुःखले आज्र्याको गनतन्त्रमा विरोध गर्ने, नारा जुलुस लाउने, इधरउधर गर्ने कसैलाई छुट छैन । त्यै भएर जुलुस लाउन विरोध गर्न प्रतिवन्ध लाउन खोज्या हो । तर मोरो गनतन्त्र बिरोधी सर्वोच्चले मानेन र पो ।

मेरो हत्यारा र बलात्कारी भन्दै कहिले कस्लाई कहिले कस्लाई डमि बनाएर पुलिसले किन सिँगार्न प¥या होला । त्यो झन्झट नगरे पनि त हुँदो हो । डमिहरू साँच्चैका अपराधी हुन्थे भने विचरा पुलिसका हाकिमहर्को जागिर किन खाइदिन प¥यो ? प्रतिवेदन लेख्ने सचिवले राजिनामा दिनु र फेरि फर्कनु, यतिका दिनसम्म फेला नपरेका डमिहरू अहिले मात्रै तयार हुनु, साइकल भेटिएको भए लास पनि त्यातै होला भनेर मेरा सङ्गिनीहर्ले भन्नु, मेरो हत्या भएको अर्को दिन सङ्गिनीको घरको कोठा पेण्टिङ गर्नु, अम्बाको रुख काट्नु, मेरो सुरुवाल पखालिनु, बुबाको नक्कली औँठा छाप लगाएर लासको मुचुल्का बनाउनु, होटेलबाट सिसि फुटेज हटाउनु, अनसन बसेका बुबाको पकेटमा सल्फस हालेर बुबालाई उल्लू बनाउन खोज्नु आदि इत्यादि सबै कुरा सत्ताग्रहका एलियनहर्को निर्देशनमा भएको हो । यसमा कसैले बिनासित्तिमा चासो दिएर टाउको दुखाउनु बेकार छ । पृथ्वीग्रहका मनुखेले घटाएको घटना भए पो खोजतलास गरेर वास्तविक अपराधी ठिँगुरिन्थ्यो । यो त सत्ताग्रहका एलियनहर्को केश भएकाले फेला पर्ने कुरै भएन । आन्दोलन गर्नेहर्ले सरकारको जरोकिलै उखेल्न खोजेपछि विचरो दुईतिहाईको ‘बामे’ सरकारले डमि तयार गरेर नदेखाए अर्थोक के गरोस् त ।

मलाई त यस्तो लाग्च कि हामी छोरी भएर जन्म लिनु पो अपराध हो । अझ त्यसमा पनि राम्री र सुन्दरी भएर जन्मनु त झनै महाअपराध हो । अपराधी त हामी पो हौँ । हाम्रो नेपाल मण्डलका सबै मनुखेले हाम्रो जस्तो घटना घटाउनेलाई फासिको सजाय दिन पर्च भन्दा पनि सरकार र मान्नेहर्ले त्यस्तो कानून बनाउन पथ्र्यो नि । बनाउँदैनन् । किनकि त्यस्तो कानून बनाउँदा तस्कर, डन, हत्यारा, लुटेरा, चोर, डाँका फस्ने खतरा हुन्च । तिनलाई फसाउन त भएन नि । उनीहर्लाई पाटी चलाउँदा, चुनाउ गराउँदा महत्वपूर्ण सहयोग तिनैले गर्चन् । हामी जस्ता बबुरा मनुखेले त एउटो भोट दिने त हो । उनीहर्ले त बाक्साका बाक्सा भोट खसालिदिन्चन् ।

बरू कुरो के भने अब उप्रान्त मेरो विषयलाई लिएर जुलुस हडताल गर्नु बेकार छ । बेकारमा समय खेर किन फाल्नु । सरकार र सरकारको सुरक्षामा खटेका सुरक्षाकर्मीहर्ले पटक पटक डमि तयार गर्दै देखाउँदै गर्नुले सरकार निकै ठूलो दवावमा छ भन्ने कुरो बुझिन्छ । गनतन्त्रको बिचरो ‘बामे’ सरकारलाई यत्रो सास्ती किन दिन प¥यो ? नदिए पनि हुन्च । अब त आन्दोलन पनि नगरे हुन्च । मेरा बा आमाको दुःख एकातिर छ, आन्दोलन अर्कैतिर जान थाल्यो । कसैले डलर कमाउने भाँडो मलाई नबनाए पनि मलाई अलिक शान्ति त हुँदो हो । गनतन्त्रमा हामीजस्ता छोरीहर्को हुर्मत नलिए कसरी यत्रो गनतन्त्र टिक्ला ?
२३ मङ्सिर २०७५

प्रतिक्रिया

सम्बन्धित खवर