काठमाडौं । विवाह पञ्चमीका लागि भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व कसले गर्ने भनी भएको विवाद अहिले सुल्झिएको छ । नेतृत्वका लागि युपीका मुख्यमन्त्री र अयोध्या राम मन्दिरका महन्थका बीचमा हानमुंग्री चलेको थियो । यो विवादका कारणले पहिले निकै चर्चामा ल्याइएको मोदीप्रचार शैलीमा शिथिलता आएको थियो ।
तर विवाद समाधान भएपछि यही मंसीर २६ गते विवाह पञ्चमीको साइत पारेर भारतको अयोध्याबाट नेपालको जनकपुरधाममा हात्ती घोडाको लश्कर लिएर राम–सीता विवाहको जन्ती आउने भएको छ । उक्त जन्ती आउँदा १० हात्ती, १० घोंडा र ३ उँट लिएर आउने अग्रिम सूचना जनकपुर धाममा दिइएको छ ।
नेतृत्वका बारेमा केही रस्साकस्सी भएपछि राममन्दिर अयोध्याका महन्थ स्वयम् आउन नसक्ने बताएका छन् । विवाद भई खचपचिएको राम–सीता विवाह पञ्चमीको जन्ती उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको नेतत्वमा आउने भएको छ । यो जन्ती २४ गते नै अयोध्या आइपुग्ने बताइएको छ ।
त्रेता युगको धार्मिक वर्णनअनुसार मंसीर शुक्त पञ्चमीका दिन अयोध्याका राजकुमार राम र जनकपुरका राजा जनककी छोरी राजकुमारी जानकीको बीचमा शुभ विवाह सम्पन्न भएको जनश्रुति रहिआएको छ । त्यसै बेलादेखि जनकपुरमा विवाह पञ्चमी धुमधामकम साथ मनाउँदै आएको परंपरा विद्यमान छ ।
यो विवाह महोत्सवका लागि करीब २ करोड ५० लाख खर्चहुने प्रारम्भिक अनुमान गरिएको छ । हालसम्म खुलाइएका स्रोतहरुमध्ये ५० लाख २ नम्बर प्रदेशले बेहोर्ने भएको छ । यो खर्चले युपीका मुख्यमन्त्रीसहित एक हजार एक जनालाई भण्डारा खुवाउने र नेपालका माइती पक्षलाईसमेत् आर्थिक व्यवस्थापन गर्न सकिने पूर्वानुमान गरिएको बताइएको छ । मदिरा र मासु प्रतिबन्ध गरिएको यो विवाहमा झिलिमिली बत्तिका लागि मात्र २० लाख भन्दा बढी खर्च गरिन लागिएको छ ।
विवाहका अवसरमा पहिलो दिन नगर परिक्रमा र दर्शन, दोस्रो दिन राम–सीताले एकअर्कालाई दर्शन गरेको फूलबारी लिला, तेस्रो दिन रंगभूमि मैदानमा धनुषयज्ञको आयोजना र चौथो दिन अयोध्याका महन्थ र जानकी मन्दिरका महन्थको उपस्थितिमा राम र सीताको विवाह अर्थात् तिलकोत्सव गरिने परम्परा रहेको छ । पाँचौं दिनमा मटकोर अर्थात् विवाहको मण्डप तयार गरिन्छ र छैठौं दिनमा बाह्र बिघा मैदानमा राम–सीतालाई स्वयम्बर गराइन्छ । यतिका विधि पूरा गरिसकेपछि मात्र जन्तीलाई मिथिला भोजन गराई नयाँ वस्त्र र कोसेली दिएर विदाइ वा राम कलेवा गरिन्छ ।
तर यत्तिको धेरै महत्व दिइएको यो विवाहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत भने मुस्लिम भएका कारण पूरै छायाँमा पर्ने भएका छन् ।