पार्टी स्कुलिङको अनुभूति

पार्टी स्कुलिङको अनुभूति

एउटा असल कम्युनिष्ट पार्टीको सदस्य बन्नको लागि कम्युनिष्टका आधारभूत र सैद्धान्तिक मूल्य मान्यता आत्मसात् गरेको हुनु पर्छ । पार्टीको नीति कार्यकर्ताको चरित्र र व्यवहार र मालेमावादी दृष्टिकोण लगायत विविध विषयमा समान्य जानकारी समेत हुनु पर्छ । खाली कम्युनिष्टका नाममा वकालत गर्ने चरित्र र व्यवहार भएका कम्युनिष्ट पार्टी र तिनका नेता तथा कायकर्तालाई मालेमावादी दृष्टिकोणबाट कम्युनिष्ट पार्टीको सदस्य मान्न सकिन्न । प्रशिक्षण (स्कुलिङ्ग) कम्युनिष्ट पार्टीका सदस्यका लागि महत्वपूर्ण विषय हो ।

जीवन र व्यवहारबारे सच्चा कम्युनिष्ट सिद्धान्तलाई आत्मसात् गर्ने मालेमावादी दृष्टिकोणभित्र रहेका सार्वभौम मूल्य मान्यतालाई व्यवहार तह लागु गर्ने नै पार्टी सदस्यको निमित्त महत्वपूर्ण अनुशासनको विषय हो । पार्टीलाई गतिशील बनाउन, वर्ग संर्घषलाई तीब्र पार्न, कार्यकर्तालाई दिमागी रुपमा बलियो बनाउन, मानवीय जीवन र मूल्यमान्यता बीचको अन्तरविरोध हल गर्न र पार्टीलाई जीवन प्रदान गर्न पनि स्कुलिङको आवश्यकता पर्छ ।

 

स्कुलिङ्ग भनेको शिक्षा ग्रहण गर्नु हो । स्कुलिङ विभिन्न प्रकारका हुन्छन् । खासगरी प्रतिक्रियावादी वर्गहरुले आफ्नो पार्टी तथा तिनका कायकर्ताहरुलाई आफ्नो वर्ग चरित्र र स्वार्थ अनुरुपको स्कुलिङ दिने गर्छन् । क्रान्तिकारीले वर्गीय विचारधारामा आधारित रही वर्गीय रुपमा स्कुलिङ दिन्छन् । समाजिक रुपमा, आर्थिक रुपमा, सांस्कृतिक रुपमा, रुपान्तरसहित वर्गीय चिन्तनमा केन्द्रित भई स्कुलिङ सञ्चालन गर्छन् । यसै सिलसिलामा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले कार्तिक महिनाको ११ देखि १७ गते सम्म देशै भरिबाट जिल्ला नेतृत्वमा रहेका खास खास कमरेडहरुलाई समेल गराई विशिष्ट किसिमको पार्टी स्कुलिङ सञ्चालन गरेको थियो ।

उक्त स्कुलिङ्ग अहिलेको संक्रमणकालिन राजनैतिक अवस्था र दलाल पुँजीवादी व्यवस्थाविरुद्ध नयाँ जनवादी व्यवस्था र क्रान्तिलाई अगाडि बढाउन प्रारम्भिक चरणको पहिलो स्कुलिङ्ग नै मान्न सकिन्छ । खास गरी उक्त स्कुलिङले वर्ग संघर्षलाई अगाडि बढाउन तिनवटा विषय वस्तुमा केन्द्रित भई आफ्नो अवासीय स्कुलिङ सञ्चालन गरेको थियो । पार्टी कार्यालय बुद्धनगरमा चलेको प्रशिक्षक प्रशिक्षण (स्कुलिङ्ग)मा कार्यकर्तालाई राजनीतिक रुपमा, दार्शनिक रुपमा, सांगठनिक रुपमा विभिन्न विधाहरु समेटी प्रशिक्षण दिइयो ।

त्यसले एकातिर कार्यकताहरुलाई सो विषय वस्तुहरु धेरै कुराहरुको बोध गरायो । अर्कोतिर कायकर्ताभित्र देखिएको निराशा, हीनता, कुण्ठा, अकर्मण्यता जस्ता कुराहरुलाई मनोवैज्ञानिक रुपमा ताजगी प्रदान गर्यो । नयाँ आन्दोलनका निमित पनि उत्साह प्रदान गर्यो । यो एक आवासीय प्रशिक्षणको अभ्यास थियो । कायकर्तालाई शारीरिक तथा मानसिक रुपमा चुस्तदुरुस्त बनाउनु नै यसको मुख्य उद्देश्य रहेको थियो ।
पछिल्लो चरणमा पार्टीभित्र लामो समयदेखि स्कुलिङ्गको ठूलो अभाव खड्किएको थियो । त्यो अभावलाई पार्टी केन्द्रले गम्भीरताका साथ पूरा गर्न पहल गर्यो। यो व्यवस्थापनको दृष्टिकोणले पनि निकै राम्रो रह्यो । देशैभरबाट आएका कमरेडहरुले पनि आवसीय स्कुलिङबाट धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेका थिए । तल तलसम्म फरक पार्टी र विचार नमिल्ने समुहका बीचमा पनि राजनीतिक रुपमा संवाद गर्न सक्ने, पार्टीको लाइन र विचारधाराको व्याख्या गर्न सक्ने, क्षमताको विकास, अध्ययनको विकास र संगठन निर्माण गर्ने सक्ने क्षमताको समेत विकास गर्यो ।

खास गरी मार्क्स, लेनिन, एङ्गेल्स, माओद्वारा प्रतिपादित सिद्धान्तको दार्शनिक तथा समाजिक रुपमा विश्लेषण गर्नसक्ने बनायो । राजनीतिक रुपमा अर्थशास्त्रको अध्ययन, विश्लेषण तथा नेपाली धरतीमा त्यसको प्रयोगका बारेमा छलफल सुरु भएको महसुस भएको छ । वैज्ञानिक समाजवादवारे पनि ज्ञान मिलेको छ । स्कुलिङमा पार्टी नेतृत्वबाट प्रदान गरिएको नयाँ किसिमको उर्जा र कार्यकर्तामा पार्टीप्रति आवद्ध हुने थप आशक्ति तथा नैतिक बल पैदा गराएको छ । दर्शन सम्बन्धि अध्ययन र अन्तरविरोधको हल गर्न ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद मार्क्सद्वारा प्रतिपादित भएको कुरा छर्लङ्ग भएको छ ।

मार्क्सवादको आधारभूत र गुदी कुरा उत्पादन शक्ति र उत्पादन सम्बन्धका बारेमा कुरा बुझ्न ठूलो सहयोग मिलेको छ । आर्थिक दृष्टिकोणले श्रम र मूल्य बीचको सिद्धान्तलाई हल गर्ने अतिरिक्त मूल्यको सिद्धान्त जस्ता विभिन्न विषयमा थप ज्ञान हासिल गर्ने मौका मिल्यो । दार्शनिक र सैद्धान्तिक विषय वस्तुमाथि विश्लेषणसहित प्रशिक्षार्थीलाई जुन गहिराइबाट शिक्षण प्राप्त भयो, यसले हामीभित्र रहेका कयौं दुविधा र अन्यौलतालाई पनि समाधान गरिदियो ।

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा त्याग तपस्या गर्दै आएका कम्युनिष्टका दिग्गज पार्टी नेतृत्व कमरेड महसचिव मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, परि थापा, रामसिं श्रीस, ईन्द्रमोहन सिह, हस्तबहादुर के.सी, हुकुमबहादुर सिंह, प्रा.डा जगदीशचन्द्र भण्डारी, प्रा.डा. ओम गुरुङ्ग र प्रा.डा. ताराकान्त पाण्डेय लगायत थुप्रै कमरेडहरुले गहिराइका पुर्याएर स्कुलिङको भाव संप्रेषण गर्नु भएको थियो । यो भाषाशैली, सिप, कला, कौशल, ज्ञानको दृष्टिकोणले निकै ओजपूर्ण थियो । उहाँहरुको पाठ्यवस्तु र अध्ययनको अनुभव, निकै लामै देखिन्थ्यो । नेतृत्वमा जुन किसिमको पार्टीप्रतिको निष्ठा र अनुशासन देखिन्थ्यो, त्यो निकै प्रेरणादायी र अुनशरणगर्न योग्य थियो । यस अर्थमा पनि यो प्रशिक्षण प्रशिक्षक कार्यक्रमको निकै ऐतिहासिक महत्व रहेको छ ।

हामी पार्टीमा काम गर्ने नेता तथा कायकर्ताहरुलाई यसले राम्रो शिक्षा दिएको छ । यो स्कुलिङबाट नियमित अध्ययन गर्ने बानीको विकास गर्ने, सैद्धान्तिक कुरालाई बढी जोड दिने, मालेमावादी दृष्टिकोणलाई व्यवहारमा लागू गरी अनुशासित ढगंले पूरा गर्ने बानी बसालेको छ । यस अतिरिक्त थुप्रै विषय वस्तुलाई पनि कायकर्ताहरुले थप विकास गर्नु पर्ने कुरामा हौसला प्रदान गरेको छ । जीवन र जगत, संघर्ष र वर्ग संघर्ष आदि जस्ता थुप्रै उत्तार चढाव र आरोह तथा अवरोहपूर्ण समस्या र चुनौतीहरुलाई समेत कुनै प्रवाह नगरी निरन्तर क्रान्तिकारी भैरहन प्रेरणा जगाएको छ ।

कम्युनिष्ट आन्दोलनमा देखा परेका विचलन अवसरवादी धारा र कम्युनिष्टका नाममा भम्र फैलाउने प्रतिक्रियावादीका विरुद्ध असल कम्युनिष्ट भएर उभिन सक्ने सक्षम एवम् कुशल कार्यकताको विकास गर्न यसले जग हालिदिएको छ ।