देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको छ : प्रकाण्ड

देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको छ : प्रकाण्ड


काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताएका छन् । नेकपाले शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देश र जनताको मुक्तिका लागि देशमा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको पनि बताए । प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, “तपाईंका छोराछोरीले क्रान्तिमा बगाएको रगत र पसिना कुनै पनि कोणबाट खेर जान दिँदैनौंँ । यो सिंगो पार्टीका तर्फबाट प्रतिबद्धता हो ।” उनले निर्मला पन्तको हत्यारालाई कारबाही गरिने पनि दावी गरे ।
सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती र नेकपाका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरुले पनि सम्बोधन गर्दै क्रान्तिका लागि क्रान्तिहरुबीचको सुदृढ एकताको आवश्यकतामाथि जोड दिएका थिए । नेकपा विप्लवले देशैभरिबाट हजारौं कार्यकर्ता र जनता काठमाडौंमा उतारेर जनसभा सम्पन्न गरेको छ । सभामा कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।