काठमाडौं, मंसिर २ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले सेनामार्फत ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ ।
विभिन्न कार्यक्रममा जाँदा औपचारिक कार्यक्रममा, अनौपचारिक रुपमा प्रयोग गर्ने र सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ ।
२०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो ।
सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो । सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो ।