
काठमाडौं । नेपाल आयल निगमको अनुगमन टोली र पेट्रोलपम्पहरुका बीचमा हालसम्म चलिरहेको कमिसनको जोडघटाउ नमिले पछि गलत सफ्टवेयर प्रयोग गरेर ग्राहकहरुलाई ठगी गरेको कुरा खुल्न आएको छ । नेपालमा पेट्रोलियम ठगीको धन्दा पहिले देखि नै चलि आएको छ ।
आयल निगमको अनुगमन कार्यालयले विगतको फेहरिस्त उजार गर्दै पहिले यो ठगी ७० देखि ८० प्रतिशतसम्म हुने गरेको र हाल आएर मात्र १० देखि १५ प्रतिशतमा झरेको पनि बताइएको छ । आयल अन्डरग्राउण्ड गरी सफ्टवेयर जडानसहित पेट्रोल पम्प मार्फत् वितरण गनि थालेदेखि नै ठगीको यो धन्दा सुरु भएको हो ।
प्रतिलिटर तेलको मूल्यमा वृद्धि हुनु वा गरिनु त आयल निगमबाटै सार्वजनिक रुपमा घोषणा गरेर गरिने चलन छँदै छ । तर सफ्टवेयरबाट हुँदै आएको यो ठगी भने हाल कमिसनको विवादले मात्र बाहिर ल्याएको हो । हाल भएको ठगीको कुरा १० देखि १५ प्रतिशत जति रहेको कुरा त बाहिर आयो नै, तर त्यसका लागि ठगीको सफ्टवेयर कसरी फेर्ने भन्ने कुराको समाधान ल्याइएको छैन ।
ठगिएको छ भनिएको छ, तर ग्राहकहरुलाई ठगीकै सफ्टवेयरबाट तेल वितरण गइिरहेको छ । यो नेपालमा रहेको सरकारी वा अनुगमनकारी निकायले सधैं देखाउँदै आएको आठौं आश्चर्य हो । उनीहरु भन्छन्– लेखिएअनुसार तेल झर्दैन, नाप्दा पेट्रोल पम्पको प्रकृति हेरी १० देखि १५ प्रतिशतसम्म कमी देखिएको छ ।
यो ठगीका अतिरिक्त ओली सरकारले आफ्नो कार्यकालको ९ महिनामा पेट्रोलियम पदार्थको पाँच पटकसम्म मूल्य वृद्धि गरिसकेको छ ।





























