अमेरिका र चीनबीचमा सम्बन्ध सुधारको संकेत ?

प्रकाशित मिति : २०७५ कार्तिक १८

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बन्ध सुधार्ने वाचाससहित चिनियाँ राष्ट्रपति सि जिन पिङसँग कुरा गर्न चाहेको खबर पठाए लगत्तै दुवै देशका राष्ट्रपतिबीचमा कुराकानी भएको छ । यो कुराकानीले अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल सुधारात्मक असर पारेको छ ।

अमेरिकी अर्थतन्त्र इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको महसुस गरेपछि विश्व मनोवैज्ञानिक युद्धमा उत्रिएका अमेरिकी राष्ट्रपति ट्रम्प ‘यो गरे हुन्छ कि त्यो गरे हुन्छ’ भन्ने उतारचढावपूर्ण कामहरुमा निकै लागेका छन् । शनिवार सि जिन पिङसँग कुराकानी गरेपछि उनले गरेको ट्वीट का आधारमा अन्तर्राष्ट्रिय शेयर बजार उकालो चढ्न थालेको हो ।

अमेरिकाले चालेको कदमको प्र्रतिक्रियास्वरुप चीनले लिने कदम के हुने भन्ने चिन्तामा रुमलिएको अन्तर्राष्ट्रिय वित्तिय बजार दुई शक्ति राष्ट्रहरुबीचको कुराकानीले सन्तुलनमा रहने अनुमान गरी थप उत्साहमा अघि बढेको थियो । यसले तत्काल व्यापार युद्ध तिब्रतामा नजाने संकेत समेत गरेको थियो ।