जनप्रतिनिधि नै ३७ किलो चरेससहित पक्राउ

जनप्रतिनिधि नै ३७ किलो चरेससहित पक्राउ

रुपन्देही, कात्तिक १८ । प्रहरीले ३७ किलो लागु औषध चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत रहेका छन् ।

प्रहरीको पक्राउमा पर्ने बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका–५ का वडा सदस्य हुन् ।

उनीहरुलाई शनिबार राति करीब ८ बजेको समयमा बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ठूलो मात्राको चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको थियो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने प्रहरीको अनुमान छ ।