‘मालेमावादी आवासीय स्कुलिङको ट्रायलमा सफल भएका छौं’ –महासचिव किरण

‘मालेमावादी आवासीय स्कुलिङको ट्रायलमा सफल भएका छौं’ –महासचिव किरण

काठमाडौं । मालेमावादी आवासीय स्कुलिङको ट्रायलमा आफूहरु सफल भएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा प्रमुख अतिथि मोहन वैद्य ‘किरण’ ले बताएका छन् । कात्तिक ११ गते उद्घाटन भै कात्तिक १७ गतेसम्म आवासीय रुपमा पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा चलेको ७ दिने पार्टी स्कुलिङ कार्यक्रमको समापन गर्दै पार्टी महासचिव किरणले उक्त कुरा बताएका हु्न् । नेपालमा रहेका अरु कम्युनिष्ट पार्टीहरुले पनि स्कूलिङ त चलाउने गरेका तर उक्त स्कूलिङहरु मालेमावादी विचार र पाठ्यक्रम तथा विषयवस्तुअनुरुप नचले/नचलाइएका भनी टिप्पणी गर्दै आफूहरुले यो प्रयास केन्द्रीय रुपमै गरेको बताएका छन् ।

सुरुकै ट्रायलमा आफूहरु सफल रहेको र आधारभूत विषयहरुमा उपस्थित केन्द्रीय प्रशिक्षक प्रशिक्षण सफल बनाइएकोमा प्रशन्नता पनि व्यक्त गरेका थिए । एकै बसाइँमा कुनै पनि कुराका बारेमा पूर्णतामा ज्ञान हासिल नहुने तर प्रशिक्षणले अध्ययता र प्रशिक्षकहरुमा अध्ययनका लागि रुची र भोक दुवै जगाउन सफल हुनुपर्ने भन्दै महासचिव किरणले अध्ययन र अध्यापनको कुरालाई प्रशिक्षकहरुले दैनिक जीवनमा ज्ञान आर्जन र अपडेटका लागि निरन्तरता दिनु पर्ने कुरामा जोड दिए ।

पढेर र जानेर वा बुझेर नै फिल्डमा संघर्षका लागि दगुर्नु पर्ने भन्दै महासचिवले हासिल गरिएका सैद्धान्तिक तथा वैचारिक ज्ञानले समस्याका जटिलताहरु फुकाउन सघाउने भन्दै निरन्तर अध्ययन र अनुसन्धानमा प्रेरित हुनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रशिक्षण कार्यक्रमका अर्का अतिथि क. सीपी गजुरेलले सम्पन्न यो प्रशिक्षण कार्यक्रममा विषयवस्तुको स्रोत, सन्दर्भसामग्री, अध्ययनका विधि तथा तरिकाहरु र विषयअनुसार तिनका छनौटका बारेमा केही न केही बढी ज्ञान हासिल भएकाले यसलाई प्रादेशिक तथा स्थानीय स्कुलिङरुमा लैजाँदा केन्द्रीय प्रशिक्षकहरुलाई तयारीका लागि आवश्यक निर्देशन र दिशाबोध भएको कुरामा जोड दिएका थिए । प्रशिक्षण लिंदा भन्दा दिंदा निकै ठूलो तयारी र मेहनत गर्नुपर्ने भन्दै अतिथि गजुरेलले प्रशिक्षकहरुले यसका लागि कडा अध्ययन तथा मेहनत गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

समग्रमा यो प्रशिक्षण स्कुलिङ अनुशासित ढंगले सञ्चालन भएको र उपस्थित सबैका बीचमा हार्दिकता ल्याएको भन्दै सामूहिकतामा नै सच्चा कम्युनिस्टहरुले परिणाम प्राप्त गर्नसक्ने कुरामा जोड दिएका थिए ।

स्कुलिङ प्रशिक्षणका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापाले संख्यामा सीमित भए पनि यो स्कूलिङले केही गुणात्मकता भने हासिल गरेको कुरामा जोड दिंदै अनुशासन तथा अध्ययनमा रहन गएका केही कमी र कमजोरीहरुलाई सच्याएर आगामी दिनमा थप गतिका साथ अघि बढ्ने कुरामा जोड लिएका थिए । उनले प्रशिक्षण स्कुलिङका कार्यक्रमहरु सबै ‘प्याकेज’मा बनाइएकाले प्रशिक्षण कार्यक्रम गतिमा लगिएको र अन्तरक्रियामूलक बनाउन नसकिएको कुरालाई आत्मसात गरेका थिए ।

उनका अनुसार ज्ञान भनेको संसारमा सबै मानव जातिले आर्र्जन गरेको र मानव जातिका लागि नै भएको भन्दै सबैले निशुल्क रुपमा पाउनु पर्ने कुरामा जोड दिएका थिए । यसका लागि सबै प्रशिक्षकहरुका स्वअध्ययनको बानी र रुची बसाउनु पर्ने उनको जोड थियो ।

कार्यक्रमका सञ्चालक तथा प्रशिक्षक हस्तबहादुर केसीले केन्द्रीय स्कुलिङको तयारीमा सामूहिकता रहेको, छोटो बसाइमा पनि धेरै विषवस्तु लैजान पाएको, साथीहरुको सहकार्यले अध्ययन अध्यापनमा प्रेरित गरेको भन्दै सहभागी सबैप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।