वैदेशिक रोजगार संघ र श्रम मन्त्रालयबीच शीतयुद्ध

प्रकाशित मिति : २०७५ कार्तिक १४

काठमाडौं । नेपाल–मलेसिया बीचमा द्विपक्षीय श्रम सहमति भएलगत्तै श्रम मन्त्रालय र रोजगारसंघका बीचमा शीत युद्ध सुरु भएको छ । तीन दशकदेखि निरन्तर श्रमिकहरुको काम गरिआएको संघलाई एक पटक पनि सोधखोज नगरी श्रम सहमति गरेकोमा संघले गहिरो असन्तुष्टि व्यक्त गरेको छ ।

अहिले गरिएको द्विपक्षीय श्रम सहमतिमा पनि नेपाली कामदारहरुका लागि खतराका घण्टीहरु निकै झुण्ड्याइएको, एक महिनाको सेवासुविधा सम्बन्धित सेवादातालाई दिनुपर्ने, नेपाली कामदारहरुको हकको ग्यारेन्टी नगरिएको, नेपाली कामदार नलिएर अन्य देशका मात्र लिन पाउने कुरामा सहमति मौन रहेको, मलेसियाले चाहेको जनशक्ति कस्तो खालको हो र क्षमता अभिवृद्धिका लागि नेपाल सरकाले गर्नुपर्ने काम वा दायित्व केहो, त्यो पनि नखुलाइएको भन्दै रोजगार संघ जंगिएको छ ।

देख्दा र सुन्दा दुईचार दिन हाइहाई पाउने शब्दावली प्रयोग गरिएको र पहिले ताली र पछि गाली खान श्रम मन्त्रालयले त्यस्तो काम गगरेको आरोप पनि लगाइएको छ । रोजगार संघलाई दलालहरुको संस्था र रोजगारका लागि खटिरहेकाहरुलाई मानव तस्करका रुपमा चित्रित गर्दै श्रम मन्त्रालयले गर्न खोजेको केहो, त्यो छोटो समयमा नै खुलासा हुने चेतावनी पनि दिइएको छ ।

यो शितयुद्धले वैदेशिक रोजगारीका आगामी दिनहरुमा थप समस्याहरु निम्त्याउने विज्ञहरुको चिन्ता छ ।