काठमाडौं । सर्लाही जिल्लाको रामनगरमा मंगलबार सत्ताधारी पार्टी ने क पा र नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरु बीच विहान साढे आठ बजे झडप हुँदा गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ । उत्तेजित भीडलाई तत्काल नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको बताए पनि घटना भने घटिसकेको बताइएको छ ।
रामनगर ४ का कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष रामनरेश महतोलाई सोमवार हातपात गरेको विषयलाई लिएर मंगलवार विहान झडप भएको थियो । झडपका क्रममा भएको ढुंगामुढा प्रहारबाट घाइतेहरुको स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।
झगडाको कारण भनेको निर्वाचित वडाअध्यक्षलाई कांग्रेस छोडेर माओवादी प्रवेश गर्न लगातार दिइएको दबाब भएको बताइएको छ । झगडा हुँदा गोली कसले चलाएको भन्ने अझै नखुलेको तर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।