काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि मनाङे जनतालाई पर्यटक बस्ने घरहरु कहाँ बनाउने होला भन्ने चिन्ताले सताउन थालेको छ । यस वर्षको पर्यटकको घुइँचो आश्चर्य नै भएको स्थानीय जनताले बताएका छन् । पोहर सालदेखि बढिरहेको पर्यटकको मात्रा यस साल त निकै नै बढी भएको उनीहरुको भनाइ छ ।
यो साता एक दिनमै ४ हजार पर्यटकहरु थुप्रिन पुगेपछि मनाङेहरुलाई कहाँ राख्ने होला भन्ने व्यवहारिक समस्याले निकै सतायो । उनीहरुले त्यहाँ पुगेका स्थानीय पर्यटकहरुलाई भान्सा कोठा र सामान राख्ने स्टोरमा समेत बसालेका थिए ।
नेपालीहरुको पनि एक पटक त आफ्नै देशमा रहेको हिमाल पारीको जिल्ला घुम्न जानु पर्दो रहेछ मनोविज्ञानले काम गर्न थालेको छ । विदेशीहरुले प्राकृतिक दृश्यहरु तथा हिमाली बुकीहरु हेर्नका लागि मन पराएका पर्यटकीय स्थलहरुमध्ये मनाङ एक नम्बरमा पर्दछ । स्थानीय पर्यटकहरुको भीड लाग्दै गएपनि विदेशी पर्यटकहरुको संख्यामा भने कुनै कमी आएको छैन ।
तर बढ्दो विदेशी तथा स्थानीय पर्यटकहरुका लागि वासस्थान र भोजनको तारतम्य कसरी मिलाउने भन्ने चिन्ताले उनीहरुलाई निकै सताउने गरेको छ । पर्यटनको विकास विस्तार गर्ने भनेर प्रचारमा नथाकेको वर्तमान सरकार यो बढ्दो पर्यटकको चापका बारेमा बेखबर जस्तै बनिरहेको छ ।
स्थानीयहरुका अनुसार सरकारले आवश्यक पर्ने ऋणकर्ज तथा सहुलियत अनुदानको कुनै पनि प्याकेज कार्यक्रम र नीति तथा योजना अहिलेसम्म बनाएको स्थानीय जनतालाई थाह छैन ।