नेविसंघमा ‘३२ वर्ष’ उमेर हद, कांग्रेसमा विवाद

नेविसंघमा ‘३२ वर्ष’ उमेर हद, कांग्रेसमा विवाद

काठमाडौं । नेपाल विद्यार्थी संघमा प्रस्तावित नयाँ विधानमा ३२ वर्षको उमेर हदलाई लिएर नेपाली कांग्रेस पार्टीमा विवाद चुलिएको छ । मिनि पार्टीका रुपमा रहेको नेविसंघभित्र कसको र कुन गुटको पकड रहने भन्ने विवादले नेपाली कांग्रेस पार्टीका नेताहरुबीचमा नै बोल बाराबारको अवस्था सिर्जना हुन गएको छ ।

लामो समयदेखि पार्टीको आन्तरिक विवादका कारण कहिल्यै पनि सर्वसम्मत निर्णय गर्न नसकेको नेपाली कांग्रेस आफ्नो भातृ संगठन विवादका कारण फेरि थप विवादमा पर्न पुगेको छ । पार्टी सभापतिको कार्यशैलीप्रति असन्तुस्टी जनाउँदै आएका पौडेल–सिटौलापछि महामन्त्री कोइराला पनि थपिन पुगेपछि सभापति देउवा केही पनि सोच्न र गर्न नसकिने अवस्थामा पुगेका छन् ।

पहिलेको जस्तो जीवनभर विद्यार्थी पनि रहन नसक्ने र विश्व विद्यालयहरुमा सेमेस्टर प्रणाली लागू भइसकेकाले २० देखि २५ वर्षको उमेरसम्म स्नातकोत्तर पढाइ सकिने भएकाले ३२ वर्षको उमेर हद पनि विद्यार्थीका लागि धेरै पछिसम्मको सहुलियत जस्तै भएको कांग्रेसी नेताहरु बताउँछन् । यो उमेरहदका विषयमा सबैजसो नेताहरु सकारात्मक नै रहेका छन् । तर कसको मान्छे नविसंघको अध्यक्ष र पदाधिकारीमा राख्ने भन्ने आन्तरिक आशयले यहाँ निकै काम गरेको देखिन्छ ।

भ्रातृसंगठन नेविसंघको विषयलाई लिएर वैठक बहिस्कार र भनाभनको स्थिति पनि पैदा भएको छ । पार्टी केन्द्रमा यस्तो खाले गाईजात्रा देखेपछि नेविसंघका विद्यार्थी नेताहरुले आफूहरुले एकमतका साथ विधान पारित गरेर ल्याउने र त्यसलाई पार्टीले मानिदिनुपर्ने सर्तहरु अघि सारेका छन् । विद्यार्थी नेताहरुको यो प्रस्ताव पनि गुटहरुमा विभक्त कांग्रेसी नेताहरुका लागि ‘मुखभित्रको तातोआलु’ हुन पुगेको छ ।