काठमाडौं, असोज २१ । जारी टी–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा आज थाइल्यान्डसँग स्थानीय समयअनुसार २ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्नेछ ।
अंक तालिकामा हेर्दा अहिले थाइल्यान्ड शीर्ष स्थानमा छ भने नेपाल तेस्रो स्थानमा । थाइल्यान्डले ३ खेलमध्ये २ खेलमा र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको हो । थाइल्यान्डले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वर्षाको कारण मलेसियासँग १–१ अंक बाँड्यो र तेस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित ग¥यो र शीर्ष स्थानमा रहन सफल भयो ।
यता, नेपालले पनि आफ्नो सबै खेलमा जित हात पारेको छ । २ खेलमा शतप्रतिशत जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पनि आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो ।
थाइल्यान्डमाथि पनि जित हात पार्दै नेपाल शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । थाइल्यान्डले अहिलेसम्म नेपाललाई पराजित गर्न सकेको छैन । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।
यो समूहबाट शीर्ष ३ राष्ट्र टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ । फाइनल चरणको विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।