क्रान्तिकारी माओवादी पर्वतका जिल्ला सेक्रेटरी कुश्माखर भुसाल‘आशिष’को निधन

क्रान्तिकारी माओवादी पर्वतका जिल्ला सेक्रेटरी कुश्माखर भुसाल‘आशिष’को निधन

पर्वत । नेकपा (क्रान्तिकारी माओवादी) पर्वत जिल्ला सेक्रेटरी, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डक प्रदेश सदस्य कुश्माखर भुसाल‘आशिष’को शनिबार विहान असामयिक रुपमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण उनको ४१ बर्षको अल्पायुमै निधन हुन पुगेको हो । 

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका आशिष ०५८ सालदेखि माओवादी जनयुद्धमा होमिएका थिए । जनयुद्वकालिन अवस्थादेखि शान्तिपूर्ण आन्दोलनका विभिन्न मोर्चामा कुशलतापूर्वक भूमिका खेल्दै आएका नेता भुसालको निधनले सिङ्गो पार्टी र वर्गीय समाजलाई नै क्षति पुगेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) पर्वतले शोक वक्तव्य जारी गरी आशिषप्रति
श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी माओवादी पर्वतका ईन्चार्ज तेजेन्द्र पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीका जिल्ला सेक्रेटरी एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका गण्डक प्रदेश सदस्य समेत रहेका कुश्माखर भुसालको असामयिक निधनले सिंगो पार्टी र कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।”

वक्तव्यमा अगाडि भनिएको छ, ‘२०३४ साल साउन २७ गते जन्मिनु भएका कुश्माखर भुसाल विचारमा अडिग, निष्ठावान, वर्गीय आन्दोलनको उर्जावान युवा हुनुहुन्थ्यो । उहाँको अल्पायु उमेरमा भएको निधनले परिवारजन, शुभचिन्तक, आफन्तजन एवं ईष्टमित्रहरुमा गहिरो शोकपर्न गएको छ । यस दुखद् घडीमा शोकलाई शक्तिमा रुपान्तरण गर्न शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना
व्यक्त गर्दै निमोनिया रोगको कारणले निधन हुन पुग्नुभएका भुसालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ ।’

भुसालको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शनिवारै पैंयु गाउँपालिाकाको सेतीवेणीमा अन्त्यष्टी गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका ४ नं. प्रदेस सदस्य तथा स्याङजा सेक्रेटरी तिलक अधिकारीले नेकपा (क्रान्तिकारी माओवादी) को झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । भुसालप्रति अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी माओवादी पर्वतका जिल्ला सदस्य हरि तिवारी, पूर्व माओवादी केन्द्रका स्थानीय नेता तथा जनप्रतिनिधि उमाकान्त भुर्तेल, ऋषि भुसाल, वामपन्थी बुद्धिजीवी पूर्णप्रसाद डुम्रे, कर्मचारी संगठनका केस राजेन्द्र तिवारी, स्थानीय कांग्रेसको नेता टिकाराम भुसाल, एमालेका स्थानीय नेता राधाकृष्ण भुसाल, स्थानीय ब्राइट स्टार युथ क्लवका अध्यक्ष हिमालय तिवारी, समाजसेवी कृष्ण प्रसाद श्रेष्ठलगायतका व्यक्तिहरु सेतीवेणीमा पुगेका थिए ।