काठमाडौं । दसैंको मुखमा आएर काठमाडौंको मुख्य प्रवेशद्वार नागढुंगामा चौबीसै घण्टा जाम हुन थाले पछि यस विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ । यो जाम सरकारले त गराएको होइन । तर यसको व्यवस्थापन गर्नु सरकारको दायित्व हो । बुधवारमात्र एउटा एम्बुलेन्समा विरामी ल्याउँदै गर्दा यही जाममा फसेर घण्टौं कुर्दा विरामीको मृत्यु भएपछि यो जामप्रति देशै भरका सर्वसाधरण जनताको पनि चिन्ता र चासो बढेर गएको छ ।
नेपालका ठूला अस्पतालहरु काठमाडौं सहर राजधानीमा रहेकाले पनि सर्वसाधरण लाई काठमाडौं आउजाउ गर्न बाध्यता रहेको छ । यसका साथै पचासौं लाख जनता उपत्यकामा रहने भएकाले उनीहरुको दैनिक उपभोगका सामानहरु निकासी तथा पैठारीका लागि पनि हजारौं हेबी मालबाहक साधनहरु सहित लाखौं सवारी साधनहरु विकल्प विनाको यो बाटोमा चौबीसै घण्टा लाइन लागिरहेका हुन्छन् ।
वर्षौं बितिसके । यसका लागि सरकारले न त विकल्को खोजी गरेको छ, न त यसको स्तरोन्नति नै । यसको विकल्पमा वरपरका नाकाहरुबाट सहायक बाटोहरु खोल्ने सोच पनि सरकारको छैन । बरु यसले हास्यास्पद विकल्प अघि सार्ने गरेको छ । त्यो हो नौबीसे–काठमाडौं सुरुङ मार्ग । हरेक दिन जाम छ, विकल्प आजै चाहिएको छ, तर सरकरले सुरुङ मार्ग खोल्ने, रेल ल्याउने, पानी जहाज चलाउने कुरा गरिरेको छ । रणनीतिक र हावादारी कुरा नेपाल र नेपालीका लागि तत्काल समस्या समाधान गर्ने उपायहरु हुन सक्दैनन् । त्यसैले ती हाँसो उडाउने गँजडीका कुरा मात्र हुन ।
सरकारले साच्चिकै यसको विकल्प खोज्ने हो भने ठूला सवारी साधनका लागि एउटा रुट, साना सवारी साधनका लागि अर्को रुट र मालबाहक साधनका लागि भिन्नै रुटको व्यवस्था गर्नुपर्छ । त्यसो त कछुवाको गति पनि नपछ्याएको वर्तमान सरकारको विकास निर्माणको काम देख्दा यी विकल्पहरुको कुरा पनि सपना जस्तो लाग्छ ।