ललितपुरमा बालिकामाथि बलात्कार प्रयास, अभियुक्त चौकीबाटै फरार

ललितपुरमा बालिकामाथि बलात्कार प्रयास, अभियुक्त चौकीबाटै फरार

ललितपुर । ललितपुरको महांकाल गाउँपालिका–२, मानिखेलमा बुधबार राति एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । प्राप्त समाचार अनुसार स्थानीय भिम घिमिरेकी १३ वर्षीया छोरीमाथि बलात्कारको प्रयास भएको होे । छिमेकी लोकप्रसाद तिमल्सिनाको घरमा भाडामा बस्दै आएका र भैंसेपाटीस्थित एक ग्रिल कारखानामा कार्यरत भारतीय नागरिक बब्लु माझीले बालिकामाथि जबरजस्ती बलात्कारको प्रयास गरेको थियो ।

पीडित घिमिरे परिवारका अनुसार छोरी सुत्ने कोठाबाट राति २ बजेतिर एक्कासी चिच्चाएको आवाज आएपछि कोठामा पुग्दा अपराधीले भाग्ने प्रयास गरेको थियो । छिमेकी र गाउँलेहरुको सहयोगमा घेरी हाली निज अभियुक्तलाई नियन्त्रणमा लिई गाउँलेहरुले स्थानीय प्रहरी चौकी टुंगुङमा बुझाएका थिए । बिहीबार बिहानैदेखि मानिखेलका–२ र ३ का स्थानीयले अपराधी बब्लु माझीलाई कारवाहीको माग गर्दै प्रहरी चौकी घेराउ समेत गरेका थिए । सो क्रममा प्रहरी र स्थानीय बिच केही बेर झडप समेत भएको थियो ।

प्राप्त जानकारी अनुसार अपराधीलाई सार्वजनिक गर्न माग गर्दा प्रहरीले अपराधी प्रहरी चौकीबाटै फरार भएको भनेपछि स्थानीय थप आक्रोशित भएका थिए र प्रहरी चौकीमाथि ढुंगामुडा समेत गरेका थिए । पीडित परिवारले अपराधिलाई कारवाही गर्न माग गर्दै आज (शुक्रबार) पनि चापागाउँ स्थित प्रहरी चौकीमा धर्ना दिइरहेका छन् । घटनाबारे बुझ्न खोज्दा टुंगुङ प्रहरी चौकीमा सम्पर्क हुन् सकेन् ।